संक्रमण कम भएका राष्ट्रमा महामारीको दोस्रो चरण छिट्टै सुरू हुने डब्लुएचओको चेतावनी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संक्रमण कम भएका राष्ट्रमा महामारीको दोस्रो चरण छिट्टै सुरू हुने डब्लुएचओको चेतावनी



काठमाडौं- कोरोना संक्रमण रोकिएका तथा ओरालो लागेका राष्ट्रमा फेरि महामारीको दोस्रो चरण छिट्टै सुरू हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पुनः महामारीको दोस्रो लहर आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको हो। संक्रमण फैलिन नदिन वा नियन्त्रणमा लिनका लागि अपनाइएका उपायहरुमा अति चाँडो छुट दिन थालिएमा महामारीको दोस्रो लहर अति चाँडै आउने संगठनले बताएको छ ।

डब्लुएचओको आपतकालीन सेवा प्रमुख डा. माइक रायनले जेनेभामा भएको अनलाइन ब्रिफिङ्गको क्रममा सोमबार विश्व अहिले पनि कोरोना भाइरस महामारीको पहिलो लहरको मध्यमा रहेको बताएका हुन् ।

युरोप तथा उत्तर अमेरिकाका धेरै देशमा संक्रमण ओरालो लाग्ने क्रममा रहे पनि मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा संक्रमण उकालो लाग्ने क्रममा रहेको उनले बताए ।

डा. रायनका अनुसार सामान्यतया महामारी चरण–चरणमा फैलिने भएकाले अहिले महामारी नियन्त्रणमा आउने क्रममा रहेका देशमा यो वर्षको अन्त्यतिर पुनः दोस्रो लहर सुरु हुन सक्ने बताए ।

कोराना भाइरसको महामारीको पहिलो लहर नियन्त्रणका लागि अपनाइएका उपायहरु बिना कुनै सावधानी चाँडै नै हटाइएमा दोस्रो लहर सुरु हुने र त्यो अति चाँडो उच्च तहमा पुग्न सक्ने भएकाले सचेत रहन डा. रायनले अपिल गरेका छन् ।

डा. रायनले भनेका छन्, ‘हामीले लगातार महामारीको दोस्रो लहर आउन सक्ने बताउँदै आएका छौँ । अहिले महामारी कम हुँदै गएका देशमा पनि सावधानी अपनाइएन भने दोस्रो लहरको महामारी सुरु हुन सक्ने छ र त्यो अहिलेको भन्दा भयावह हुने सक्ने छ ।’

कुनै पनि बेला महामारीले आफ्नो भयावह रुप देखाउन सक्ने भएकाले सबै हिसाबले तयार रहनु पर्ने उनले बताएका छन् ।

युरोप तथा उत्तर अमेरिकाका देशहरुले सार्वजनिक स्वास्थ्यका लागि सामाजिक दूरी, निगरानी, परीक्षणसहित विस्तृत रणनीतिक योजना बनाएर काम गर्नु पर्ने उनले बताए ।

विश्वभर हालसम्म झण्डै ५५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिलेसम्म ५४ लाख ९५ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । यस्तै ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार भन्दा बढी पुगेको छ ।