विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विश्व स्वास्थ्य संगठनको महत्वपूर्ण बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को महत्वपूर्ण बैठक सोमबार बस्दैछ । बैठकमा अन्तर्राष्ट्रिय समुदायको प्रयास सम्बन्धमा स्वतन्त्र छानबिनको माग गरिने बताइएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको अभियानको नेतृत्व गरिरहेको विश्व स्वास्थ्य संगठनको यो बैठकलाई चासोको दृष्टिले हेरिएको छ ।

सो बैठकमा विश्वका विभिन्न देशका स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताहरुले कोरोना भाइरस महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायको प्रयास सम्बन्धमा स्वतन्त्र छानबिनको माग गर्ने तयारी गरेका छन् ।

विश्व स्वास्थ्य सम्बन्धी ७३ औँ वार्षिक सम्मेलन सोमबार र मंगलबार हुँदैछ । भिडियो कन्फ्रेन्स मार्फत हुने सो सम्मेलनमा डब्लुएचओको सदस्य रहेका विश्वका १९४ देशका प्रतिनिधिहरु सहभागी हुने छन् । यो पटकको सम्मेलनमा कोरोना भाइरस महामारीको विषयले प्राथमिकता पाउने छन् ।

सम्मेलनमा कोरोना भाइरसको संक्रमण विश्वका ४७ लाख भन्दा बढी मानिसमा कसरी भयो र तीन लाख १५ हजार भन्दा बढीको मृत्युको कारणबारे प्रश्न उठ्ने छ ।

हरेक वर्ष डब्लुएचओको कामको मुल्यांकन गर्न सदस्य राष्ट्रहरुको सम्मेलन हुने गर्छ । यस्तो सम्मेलनले आउँदो वर्षका लागि प्राथमिकता पनि निर्धारण गर्छ ।

बैठकमा यो पटक डब्लुएचओ दबाबमा आउने देखिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा उसको प्रयासलाई लिएर प्रश्न उठ्ने छन्।

अमेरिकाले डब्लुएचओको भूमिकामाथि लगातार प्रश्न गर्दै आएको छ । यो पटकको बैठक अमेरिका र चीनबिचको राजनीतिक युद्धको छायामा पर्ने सम्भावना पनि छ ।

अमेरिकाले चीनमाथि समयमै जानकारी नदिएको, पर्याप्त काम नगरेको तथा सूचना लुकाएको आरोप लगाउँदै आएको छ । सोही कारण विश्वभर अहिले महामारी फैलिएको अमेरिकी आरोप छ ।

उसले डब्लुएचओमाथि पनि चीनको पक्ष लिएको आरोप लगाउँदै आएको छ । चीनले भने अमेरिकाले महामारी नियन्त्रणका लागि काम गर्न नसकेको र त्यसको आरोप चीनमाथि लगाएको भन्दै आएको छ ।