बाइडेन र सीबीच पहिलो प्रत्यक्ष वार्ता, भयो ऐतिहासिक सहमति - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बाइडेन र सीबीच पहिलो प्रत्यक्ष वार्ता, भयो ऐतिहासिक सहमति



काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको छ । बाइडेन र सीबीच भएको यो पहिलो प्रत्यक्ष वार्ताबाट द्वन्द्व टार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

वार्ताको क्रममा ताइवानका कारण उत्पन्न तनाव कम गर्न दुवै देश तयार देखिएका छन् । ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वान्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतीक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले विश्व ‘दोबाटोमा आइपुगेको’ बताएका थिए । ‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,’ चिनियाँ राष्ट्रपति सीले बताए ।

गत अगस्टमा अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले चीनको सहमतिविरुद्ध ताइवान भ्रमण गरेपछि यी दुई देशबीच थप द्वन्द्व बढेको थियो । यसबीचमा चीनले आफ्नो शक्ति प्रदर्शन गर्दै आएको थियो ।

बाइडेनले भने सीसँग भेट्नुअघि कम्बोडियामा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका थिए । सीका लागि भने राष्ट्रपतिको रूपमा बाइडेनसँग पहिलो भेट हो । यसैबीच कोभिड–१९ महामारी सुरु भएयता सी र बाइडेन दुवैको यो दोस्रो विदेश भ्रमण पनि हो ।

यस क्रममा उनले अन्य केही राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने बताइएको छ । सीले यसअघि २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए ।

सोमबार बालीमा भएको दुई घण्टाभन्दा लामो बसाइमा भने सी र बाइडेन दुई देशबीच बढ्दै गरेको द्वन्द्व कम गर्न तयार देखिएका छन्। यसअघि पनि सीले अमेरिकासँग सम्बन्ध विस्तारका लागि संकेत गर्दै दुवै देशले विश्वशान्तिका लागि मेलमिलापको बाटो रोज्नुपर्ने बताएका थिए ।