विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो चेतावनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो चेतावनी



एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् ।

विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न चेतावनी दिएका हुन् ।

उनले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताए । राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिए ।

अमेरिकी राष्ट्रपनि जो बाइडेनले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुनर्जीवित गर्ने योजना बनाएको भन्दै राष्ट्रपति सीले त्यसो नगर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

डोनाल्ड ट्रम्प नेतृत्वको अघिल्लो अमेरिकी प्रशासनले सुरु गरेको चीन लक्षित अभियानलाई बाइडेनले पनि निरन्तरता दिनेतर्फ संकेत गर्दै राष्ट्रपति सीले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा सम्बन्ध जटिल बन्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने भन्दै उनले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्ने बताए ।

यस्तो कार्यबाट मुलुकका जनताले विकासको मौका र उपलब्धी संयुक्त रुपमा हासिले गर्ने राष्ट्रपति सीको भनाई थियो ।