सि जिनपिङ र पुटिनको मित्रता – ट्रम्पलाई झट्का - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सि जिनपिङ र पुटिनको मित्रता – ट्रम्पलाई झट्का



कुमुद अधिकारी/काठमाडौँ

गएको हप्ता सि जिनपिङले रसियाको भ्रमण गरेसँगै विश्वराजनीतिमा तरङ्ग उत्पन्न भएको छ। अमेरिकासँगको चीन र रसिया दुवैको चिसिँदो सम्बन्धको परिप्रेक्ष्यमा यो भ्रमणले ठूलो कुटनीतिक महत्त्व बोकेको देखिन्छ।

पुटिन जन्मेको सेन्ट पिटर्सबर्गजाँदा सि जिनपिङ र पुटिन नेभादा नदीहुँदै जहाज चढी गएका थिए।  त्यहाँ पुगी जिनपिङले भने, “म राष्ट्रपति पुटिनको गृहनगरमा आउन पाउँदा गौरवान्वित भएको छु। यहाँको मलिलो माटोले कैयन् महान हस्तीहरूलाई जन्माएको छ। यो माटो रसिया र यहाँका नागरिकका लागि गर्व हो।”

त्यही दिन सि जिनपिङलाई पुटिनले अध्ययन गरेको सेन्ट पिटर्सवर्ग विश्वविद्यालयको मानार्थ विद्यावारिधी प्रदान गरिएको थियो। यसभन्दा पहिले सि जिनपिङले रासायनिक इन्जिनियरिङ अध्ययन गरेको त्सिङ्गुवा विश्वविद्यालयबाट पुटिनलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको थियो।  सि जिनपिङले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेतृत्वदायी भूमिका खेलेकामा पुटिनको प्रशंसा गरेका थिए –”विशेषज्ञ र प्राज्ञिक”।

कुटनैतिक मञ्चमा यस्ता आदानप्रदानहरूप्रति सि जिनपिङ खासै नौला छैनन्। उनी २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको रात्रिभोजमा सामेल भएका थिए र जिम्बाबेका भूतपूर्व  शासक रोबर्ट मुगाबेलाई टेलिग्रामबाट जन्मदिनको शुभकामना पठाएका थिए।

यस्तो किसिमको व्यक्तिगत अन्तरक्रिया सधैँ राज्यस्तरीय सम्बन्धमा भने रूपान्तरण हुँदैन।

बेल्ट एन्ड रोड इनिसिएटिभका लागि बेजिङको निमन्त्रणालाई खुल्लम खुल्ला अटेरी गर्ने नेता नरेन्द्र मोदी मात्र हुन्।  उनलाई सिको यो प्रमुख कुटनीतिक परियोजनाप्रति अझै सन्देह छ।

सि खुल्ला रूपमा यस्ता व्यक्तिगत सम्बन्धहरूको सन्दर्भ लिँदा सावधान हुन्छन् तर पुटिनका सन्दर्भमा भने उनी अपवाद निस्के। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिलाई “घनिष्ट मित्र” भनिरहँदा सिले कुनै प्रतिक्रिया दिएनन्। ट्रम्पले पछि “अबदेखि सि मेरा मित्र नहुन सक्छन्” भन्दा पनि बेजिङले कुनै प्रतिक्रिया दिएन।

बेजिङस्थित राजनैतिक विश्लेषक झाङ लिफान भन्छन्, “ट्रम्पले चिनियाँ पक्षलाई नियन्त्रित गर्नका लागि मात्र सिसँग घनिष्ट मित्रता भएको दाबी गरेका हुन्। तर ट्रम्पप्रतिको प्रतिशोध भएता पनि सि जिनपिङ र पुटिनको सम्बन्धका विषयमा धेरै चिनियाँ पक्ष गम्भीर छ।”

“राजनैतिक हस्तीका रूपमा सिले पुटिनको प्रशंसा गर्छन् र अमेरिकाविरूद्ध अघि बढ्नका लागि उनलाई रसियाको सहयोग चाहिन्छ।”

“यति हुँदा हुँदै पनि व्यक्तिगत सम्बन्धका आधारमा बनाइएका सम्बन्धहरू दिगो हुँदैनन्।” झाङको भनाइ थियो।

तर उनीहरूको मित्रताको हद सो भ्रमणमा निस्कनुअघिको सि जिनपिङको पुटिन प्रतिको अभिव्यक्ति “घनिष्ट मित्र”ले स्पष्ट पार्छ।

“हामीले अन्तर्राष्ट्रिय परिस्थिति, द्विपक्षीय सम्बन्ध, घरेलु शासनव्यवस्था लगायत विभिन्न मुद्दाहरूमा विस्तारित छलफल गरेका छौँ,” सिले भने, “हामीले साहित्य, कला र खेलकूदका बारेमा पनि कुरा गरेका छौँ। राष्ट्रपति पुटिन मैले सबैभन्दा धेरै सङ्गत गरेका विदेशी मित्र हुनुहुन्छ। उहाँ मेरा घनिष्ट मित्र हुनुहुन्छ र म हाम्रो मित्रतालाई बहुमूल्य मान्छु। हामीले आइस हकी म्याच सँगै हेरेक छौँ, इन्डोनेसियाको बालीमा भएको एसियाली नेताहरूको सम्मेलनमा उहाँको जन्मदिन मनाएका छौँ। २०१३ देखि मैले पुटिनलाई झन्डै तीस पटक भेटिसकेको छु। मलाई ती सबै भेटहरू राम्ररी सम्झना छन्। ”

सिजिन पिङको भ्रमणताका जारी गरिएको संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको दाबी गरिएको छ।

पुटिनले भने दुईवटा पाण्डा दिएकामा सि जिनपिङलाई धन्यवाद दिएका छन्। दी दुई पाण्डालाई मस्कोस्थित चिडियाखानामा राखिएको छ। पाण्डाको विषयलाई लिएर भ्लादिमिर पुटिनले भने, “यो एउटा विशेष सम्मानको सङ्केत हो, रसियाप्रति गरिएको विशेष विश्वासको। जब हामी पाण्डाका विषयमा बोल्छौँ, हाम्रा अनुहारमा मुसकान छाउँछ।”

दुई नेताले व्यापक साझेदारी र रणनैतिक सहयोगको विकासका बारेमा संयुक्त वक्तव्यमा हस्ताक्षर गरे।

यसैबीच, रसिया र चीनका प्रमुख कम्पनीहरूले सहयोग सहमतिमा हस्ताक्षर गरेका छन्।

चीनको अलिबाबा, रसियाको मोबाइल फोन सञ्चालक मेगाफोन, इन्टरनेट समूह मेल.रु र रसियन सोभरेन इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ)ले संयुक्त इ-कमर्स साझेदारी गरेका छन्।

रसियाली टेलिकम कम्पनी एमटीएस र चिनियाँ हुवावेले पनि सम्झौतामा  हस्ताक्षर गरेका छन् भने रसियाको नोभाटेक र गाजप्रोमब्याङ्कले चीनमा ग्यास बेच्नका लागि साइनोपेकसँग सम्झौता गरेका छन्।

यो भ्रमण मस्कोले युक्रेनको क्रिमियालाई गाभेको पाँच वर्षपछि भएको थियो। यसले पश्चिमी साझेदारहरूसँगको रसियाको सम्बन्धमा खाडल उत्पन्न गराएको थियो। यही खाडलले गर्दा रुस चीनतिर ढल्किएको हो भन्ने मानिन्छ।

पुटिनले सिलाई भने, “तपाईँको प्रत्यक्ष सहभागिताका लागि धन्यवाद। रसिया र चीनको सम्बन्ध आश्चर्यजनक रूपमा माथि पुगेको छ।”

युक्रेनको सङ्कटलाई लिएर रसियाले अमेरिकाबाट प्रतिबन्ध बेहोर्नुपरेको छ भने चीनले आफ्ना उत्पादनमा लगाइएको उच्च करको सामना गर्नु परेको छ।

अन्य अन्तर्राष्ट्रिय मोर्चाको कुरा गर्दा इरानसँगको डिलमा आफूहरूको एउटै मत रहने र उत्तरी कोरियाको विवादको शान्तिपूर्ण समाधान हुनुपर्ने दुवै देशको मत छ।

सि जिनपिङ र भ्लादिमिर पुटिनको मित्रताले डोनल्ड ट्रम्प भने झस्केका छन्। रसिया र चीन सँगै उभिए भने आफ्नो प्रभुत्व गुम्ने हो कि भन्ने भय उनम पसेजस्तो देखिन्छ।