यसरी भयो सहमति एउटै कम्युनिस्ट पार्टी बनाउने ,निर्वाचन चिह्नमा भने विमति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यसरी भयो सहमति एउटै कम्युनिस्ट पार्टी बनाउने ,निर्वाचन चिह्नमा भने विमति



काठमाडौं, १८ असोज ।

ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन् ।

फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो । सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन् ।

छरिएर रहेका अन्य वामपन्थी तथा अग्रगामी परिवर्तनकारी शक्तिहरूलाई पनि एउटै कम्युनिस्ट केन्द्रमा सहभागी भई अगाडि बढ्न उनीहरूले अपिलसमेत गरेका छन् ।

वामपन्थीहरूबीच हुन लागेको यो एकता र चुनावी तालमेल कसैविरुद्ध लक्षित नभई देशको आवश्यकताका आधारमा निर्माण भएको घोषणासभामा सहभागी शीर्ष नेताले बताएका छन् ।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए ।

तत्कालका लागि चुनावी तालमेल र संघीय संसद् (प्रतिनिधिसभा) र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने सर्तमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्या‍उन तीनै पार्टीले मंगलबार नै एकता संयोजन समितिसमेत बनाएका छन् । समितिमा एमालेबाट चार, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिबाट एकजना रहने सहमतिपत्रमै उल्लेख छ ।

समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रमुख नेताका रूपमा रहनेछन्। समितिमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम, माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा अनि नयाँ शक्तिबाट संयोजक डा.बाबुराम भट्टराई रहनेछन्। समितिले सहमतिका आधारमा निर्णय लिने समझदारी भएको छ ।

समितिले पार्टी एकताको विस्तृत खाका र कार्यायोजना तयार पार्ने नेताहरूले बताएका छन् । सहमति हुन बाँकी विषयमा छलफल गर्दै अगाडि बढ्ने र वैचारिक बहसबाटैै नेपालको क्रान्तिलाई विकास गर्ने विषयमा पनि सहमति भएको छ । मंसिरको निर्वाचनलगत्तै बन्ने एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनैै पार्टीका नेता सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने निर्णय पनि उनीहरूले गरेका छन् ।

एकता प्रक्रिया टुंगोमा नपुगेसम्म आआफ्ना विचारमा स्वस्थ बहस गर्न सकिने तर एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न नपाउने गरी अंकुश लगाउने आन्तरिक आचारसंहिता पनि उनीहरूले बनाएका छन् ।

यस्तो हुन्छ तालमेल

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि पार्टी एकता सम्भव नदेखिएपछि सैद्धान्तिक सहमति जनाएका तीनैै पार्टीले निर्वाचनमा तालमेलको रणनीति बनाएका छन्। मंगलबारको सहमतिसँगै अब १६५ क्षेत्रको प्रतिनिधिसभा र ३३० क्षेत्रको प्रदेशसभाका प्रत्यक्षतर्फ तीनै दलले चुनावी तालमेल गर्नेछन् ।

नयाँ शक्ति र अझै तालमेलमा आउन चाहनेका लागि समझदारीका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी बाँकी स्थानमा एमाले र माओवादी केन्द्रबीच ६०–४० प्रतिशतका आधारमा उम्मेदवार उठाउने सहमति भएको छ ।

तीनै दलले संयुक्त चुनावी सभाहरू गर्नेदेखि साझा घोषणापत्रका आधारमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्नेसम्मका समझदारी पनि गरेका छन् ।

निर्वाचन चिह्नमा विमति

पार्टी एकता गर्ने उद्देश्यसहित अगाडि बढेका एमाले र माओवादी केन्द्र आगामी निर्वाचनमा आआफ्नै चिह्न लिएर निर्वाचनमा सहभागी हुने भएका छन् ।

नयाँ शक्ति भने एमालेको सूर्य चिह्नबाटै निर्वाचनमा सहभागी हुनेछ। सूर्य चिह्नबाटै निर्वाचन लड्ने गरी सहमतिनजिक पुगे पनि माओवादी अध्यक्ष दाहाललाई पार्टीका नेताहरूले आफ्नै चिह्न प्रयोग गर्न र पहिचानको मुद्दा नछाड्न मंगलबार बिहानसम्म दबाब दिएका थिए। त्यसपछि दाहाल सूर्य चिह्नमै निर्वाचन लड्ने विषयमा पछि हटेका हुन् ।

सोमबार भएको दुई दलको बैठकमा भने एमालेको निर्वाचन चिह्नमै निर्वाचन लड्ने गरी सझदारी भएको थियो । माओवादीले सूर्य चिह्नभित्र हँसिया, हथौडा राख्न चाहे पनि निर्वाचन आयोगले मतपत्र छपाइको काम थालिकेको र प्राविधिक कारणले सम्भव नहुने देखिएको थियो ।

मंगलबार बिहान भने दाहाल पार्टी एकताअघिको निर्वाचनमा आआफ्नै चिह्नमा निर्वाचन लड्ने निर्णयमा पुगेका हुन् । अझै एकै चुनाव चिह्न प्रयोग गर्ने प्रयास जारी रहेको सहमतिपत्र घोषणासभामा एमाले अध्यक्ष ओलीले खुलाए ।

‘बाबुरामजीले नेतृत्व गरेको पार्टी सूर्य चिह्नमै निर्वाचन लड्दै छ, अरू साथीहरू पनि यसमै लड्ने गरी सहमति खोज्ने हाम्रो प्रयास जारी छ’, ओलीले भने ।

सहमतिपत्रमा हस्ताक्षरअघि बिहान तीनै दलका शीर्ष नेताहरूबीच ललितपुर मानभवनमा छलफल भएको थियो । त्यही छलफलमा जुटेको सहमतिका आधारमा उनीहरूले साँझ हस्ताक्षर गरेका हुन् । खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।