यता सर्वदलीय बैठक उता ओलीको पत्रकार सम्मेलन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यता सर्वदलीय बैठक उता ओलीको पत्रकार सम्मेलन



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्।

पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आइतबार पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लागेको हो।

नेकपा एमालेले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ। तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाखमा पहिले संघीय निर्वाचन गर्नुपर्ने र त्यसपछि अन्य निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि त्यसले राजनीतिक वृतमा तरंग ल्याएको छ।

यद्यपि यस विषयमा सत्ता गठबन्धनमा साझा सहमति बनिसकेको छैन। गठबन्धन दलले तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि छलफल र संवाद अघि बढाएका छन्। उनीहरुले यसविषयमा कानुनविदहरुसँग छलफल गर्ने निर्णय पनि गरिसकेका छन्।

प्रधानमन्त्री देउवाले आजै सर्वदलीय बैठक पनि बोलाएका छन्। तर, नेकपा एमालेले आफूहरुलाई कुनै जानकारी प्राप्त नभएको बताएको छ। जानकारी आए पनि एमाले सर्वदलीय बैठकमा सहभागी नहुने नेताहरुले प्रष्ट पारेका छन्।