संक्रमित युवतीसँगै आएका यात्रुक बयान: टेकुमा जाँच गर्ने मानेनन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संक्रमित युवतीसँगै आएका यात्रुक बयान: टेकुमा जाँच गर्ने मानेनन्



काठमाडौं- फ्रान्सबाट आएकी कोरोना भाइरस (कोभिड१९) संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको जहाजमा काठमाडौँ आएका एक यात्रुले आफ्नो कोरोना टेस्ट नगरिएको बताएका छन्।

आफू बुधबार बिहान कोरोना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु गए पनि कोरोना टेस्ट नभएको ती यात्रुले बताएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ती यात्रु भन्छन्ः म कतार एयरवेजको जहाजमा ४ चैतमा काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलमा ओर्लिएपपछि सिधै कलंकीस्थित घरमा गएँ। एकरात परिवारसँग बसेँ।

घरमा बाबा, ममी, श्रीमती, दुई छोरी र एक छोरा छन्। भोलीपल्ट चैत ५ मा नवलपरासीको बर्दघाटस्थित घर गएँ। त्यहाँ अंकल आन्टीसँग भेट भयो। सँगै बसेँ। सोमबार पनि बर्दघाटमै थिएँ।

जब दोहाबाट म आएको जहाजमै आएकी एक युवतीमा कोरोना पुष्टी भएको समाचार आयो, त्यसपछि मंगलबार काठमाडौँ फर्किएँ।

बुधबार बिहान परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पुगेँ। त्यहाँ सबै घटना सुनाएँ।

तर रुघाखोकी र ज्वरो आएको छैन भने परीक्षण गर्नुपर्दैन भनेर फर्काइदिनुयो। एउटै फ्लाइटमा आए पनि केही फरक पर्दैन भन्नुभयो। अहिले कुनै त्यस्तो लक्षण त देखिएको छैन।

तर, परीक्षण गर्न पाएको भए ढुक्क भइन्थ्यो। मैले परीक्षण गरिदिनुस् भन्दा उहाँहरुले पर्दैन भनेर फर्काएपछि के गरौँ?