सैनिकले पिट्दै जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सैनिकले पिट्दै जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए…



काठमाडौं-– ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौं हिंसामा परेकी एक युवती ।

गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए ।

उनी भनिरहेकी थिइन, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहले जानुन् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुबालाई पक्राउ गरेको थियो ।

रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन् । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।
‘अरु साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाँच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो ।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा बहुलाइजस्तो हुन्छु । डरले काँप्छु,’ उनले भनिन् ।

उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन् । ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन,’ उनले भनिन्, ‘कुकुरबाट इज्जत लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए । पछि धुनै नदिई त्यही हातले भात खान लगाए ।’

ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको कपडाको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो लासझैं भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’

त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्यातिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान्–श्रीमतीले जति दु:ख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्‍यौं । मेरो छोराको आँखामा जन्मिँदै मासुको डल्लो पलाएको छ । यो पीडा म मनमा कति मात्रै राखिरहुँ ?’

कान्तिपुर दैनिकबाट