यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते देखि - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते देखि



काठमाडौँ, चैत १ गते । 

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गते बिहीबार शुरू हुँदैछ ।  परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

यसअघि एसएलसीका रूपमा लिइँदै आएको परीक्षा यस वर्षदेखि माध्यमिक परीक्षाका रूपमा सञ्चालन हुन लागेको हो ।  परीक्षा तालिकाअनुसार चैत ३ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा परेको छ ।

प्राविधिकसमेत गरी उक्त माध्यमिक शिक्षा परीक्षा आगामी चैत १४ गते सकिने छ ।  परीक्षा नियन्त्रक अम्बिका रेग्मीले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायत सबै सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी दिनुभयो ।

परीक्षामा पाँच लाख ३८ हजार १८२ जना परीक्षार्थी सहभागी हुनेछन् ।  यसपटकको परीक्षामा छात्रभन्दा छात्रा धेरै छन् ।  परीक्षामा दुई लाख ७८ हजार ४५० जना छात्रा र दुई लाख ५९ हजार ७३२ जना छात्र सहभागी हुने जानकारी कार्यालयले दिएको छ ।
कक्षा १० को परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र बनाइएको छ ।  हरेक परीक्षा केन्द्रका लागि एक जना केन्द्राध्यक्ष, दुई हजार ६४६ जना सहायक केन्द्राध्यक्ष र २२ हजार ४६१ जना निरीक्षक परिचालन गरिएको छ ।  गत वर्षको तुलनामा यसपटक परीक्षा केन्द्र घटाइएको छ ।  गत वर्ष एक हजार ९४३ परीक्षा केन्द्र कायम गरिएको थियो ।

विभिन्न जिल्लाका परीक्षा केन्द्रमा परीक्षालाई मर्यादित हिसाबले सञ्चालन गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयले केही परीक्षा केन्द्रलाई कारबाही गरेका कारण परीक्षा कम भएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

साथै, शिक्षा मन्त्रालयले सबै प्रदेश समेटिने गरी सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली परिचालन गर्ने भएको छ ।  क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्लामा रहेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोलीले समेत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार अक्षराङ्कन पद्धतिका आधारमा परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ भने २०७२ सालको परीक्षाको नतिजामा कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त भएकोमा उक्त विषयमध्ये परीक्षार्थीले चाहेको विषयमा मात्र परीक्षा दिने व्यवस्था मिलाइएको छ ।  साथै एकभन्दा बढी विद्यालय या जिल्लाबाट विद्यार्थीले परीक्षा रजिस्ट्रेसन फाराम भरेको पाइएमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरिने जानकारी नियन्त्रक रेग्मीले दिनुभयो ।

यसैबीच, शिक्षा मन्त्रालयले परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षसँग आग्रह गर्दै परीक्षामा कुनै अनुचित काम भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।  प्रश्न पत्रको गोपनीयता भङ्ग गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पु¥याएमा तथा अरुको तर्फबाट परीक्षा दिए वा दिन लगाएमा एक लाख रुपियाँसम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुनसक्ने जानकारी मन्त्रालयले दिएको छ ।
परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पु¥याएमा पनि एक लाख रुपियाँ जरिवाना गरिने जनाइएको छ ।

परीक्षालाई मर्यादित हिसाबले सञ्चालन गर्नेबारे सोमबार शिक्षामन्त्री धनीराम पौडेलसमेतको उपस्थितिमा सुरक्षा निकायका उच्च पदाधिकारीको बैठकसमेत मन्त्रालयमा बसेको थियो ।  बैठकमा विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने गरी परीक्षा अवधिभर प्रभावकारी अनुमगन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले परीक्षालाई व्यवस्थित एवम् मर्यादित बनाउन सबै पक्षबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  यसका साथै तराई क्षेत्रमा पनि परीक्षा सम्पन्न हुने र कुनै खालको व्यवधान नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।