यस कारण नुवाकोटमा हार्यो काँग्रेस। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस कारण नुवाकोटमा हार्यो काँग्रेस।



कर्ण बहादुर अधिकारी नुवाकोट।

२०७० सालको संविधान सभा चुनावमा साबिक नुवाकोटको ३ वटै क्षेत्रमा नेपाली काँग्रेसले बहुमतको साथ विजय हासिल गरी काँग्रेसको झन्डा फरफराउन सफल भएको थियो भने २०७४ मा भएको स्थानीय,प्रदेश र प्रतिनिधि सभाको चुनावमा नमिठो किसिमले हार ब्यहोर्नु पर्‍यो।शायद समयको चक्र भन्नु पर्छ सबैको पालो आउँनु पर्छ भन्थे आखिर हो रहेछ।बिचारमा म काँग्रेस धारको भए पनि नुवाकोटबाट बाम गठबन्धनका तर्फबाट विजयी हुनु भएका ६ जनालाई नै हार्दिक बधाई एवं सफल कार्य कालको शुभकामना व्यक्त गर्दछु।

विगतमा नुवाकोटमा २० औ वर्ष काँग्रेसले राज गर्‍यो नुवाकोटलाई समग्रमा हेर्ने हो भने डा. रामशरण महतले नुवाकोटबासी जनताका हितका लागि नै आफ्नो समय खर्चिए।नुवाकोटमा विकास नभएको पनि होइन तर जति हुनु पर्ने थियो माओवादी द्वन्दका कारण हुन सकेन तर पनि समय अनकुल जनताको मनोभावना बुझ्न नसक्नाले र बाम गठबन्धनका कारणले पराजय भोग्नु पर्‍यो।देश र नुवाकोट बासी जनताका लागि चाहिने नेता द्वय महत र केसीले हार ब्यहोरे सँगै आआफ्नो तर्फबाट समीक्षा गरी रहेका छन्।जनता नै जनार्दन हुन भन्ने कुरालाई कदर गर्न नसक्नु र सीमित कार्यकर्ताको मात्र कुरा सुन्ने प्रवृतिले पनि असर पुराएकै हो।

त्यसरी नै विगत २० औँ वर्ष देखि एक क्षत्र राज गर्दै आएका केसी र महत गुटका कारण पनि असर परेको देखिन्छ एउटै पार्टीको गुटले एक अर्कालाई सिध्याउने खेलमा लागे।भूकम्प गएको समयमा आधार हीन कुरा हरूलाई मिडियामा ल्याएर रमेश महत र रामशरण महतलाई सुनियोजित तरिकाबाट जस्ता काण्डमा फसाईयो यसको प्रत्यक्ष असर प्रदेश र प्रतिनिधि सभाको चुनावमा पर्‍यो।दुई परिवारका बिचमा मात्र नुवाकोट काँग्रेस घुमि रहेको हुँदा योग्य र दक्ष नेताहरूले नेतृत्व लिन पाएनन जसको फल स्वरूप कोही ओझेल परे भने कोही पार्टी परीत्याग गर्न पुगे।यसको प्रत्यक्ष असर स्थानीय,प्रदेश र प्रतिनिधि सभा चुनावमा असर पर्‍यो।काँग्रेसले टिकट वितरण गर्दा राम्रालाई हेर्नु भन्दा पनि हाम्रालाई हेरे।डा. महतको तर्फबाट रमेश महत प्रदेश सभामा उठे भने केसी तर्फबाट जगदीश्वर नर्सिंह केसी उठेका कारण पनि केही कार्यकर्ताहरू रूष्ट भए।त्यसै गरी चुनावको समयमा आतङ्कारीहरूले सुनियोजीत तवरबाट डा. महत माथि बम आक्रमण हुँदा डर र त्रासका कारण पनि कार्यकर्ताहरू साझ बिहान परिचालित हुन पाएनन।काँग्रेस आफू हारेर भए पनि देश जिताउन लागेका कारण सत्ताको दुरुपयोग गर्न सकेनन्।जसको परिणाम काँग्रेसले दुई ठुला पार्टी एमाले र माओवादी केन्द्रसंग चुनाव लड्न धौ धौ परेको हो।

नुवाकोट काँग्रेसले आफू भित्र भएको कमी कम्जोरीहरूलाई औल्याएर अगाडी बढ्न सकेको खण्डमा मात्र फेरी जित्न सफल हुनेछ हैन भने गारो पर्ने छ।विगतमा नुवाकोटमा घात प्रतिघात नभएको होइन तर यो चुनावमा भने कहीँ कतै छुटफुट बाहेक सबैले रूखमा नै मतदान गरे।समय सधैँ एउटै रफ्तारमा दौडिदैन।विगतमा र वर्तमानमा पनि नुवाकोट बासी जनताले केसी र महतलाई साथ दिएकै हुन तर वर्तमान माहौलमा काँग्रेस र लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धन सँग चुनाव लड्न गारो भएको हो।माओवादी केन्द्रको क क्षेत्रमा पर्ने नुवाकोटमा बाम गठबन्धनले बुढापाका र स्थानीय बासीहरूलाई वृद्ध भत्ता र विकासका सपनाहरू देखाएर भोट माथि कब्जा जमाए।

डा. राम शरण महत जस्तो बिद्वान व्यक्तित्वलाई नुवाकोट बासी जनताले रोज्न नसक्नु दुखद एवं दुर्भाग्य हो।राम शरण महतले जे बोल्छन त्यो पुराएरै छाडे तर यिनले जीवनमा कहिले पनि झुट्टो नबोल्नाले नै पछाडि परे।देशमा खुल्ला अर्थ नीति ल्याएर ५० औँ वर्ष पछाडिको नेपालको भविष्यलाई परिकल्पना गरी देश र जनतालाई आर्थिक भार पर्न दिनु हुन्न भन्ने सोचले तत्काल वृद्ध भत्ता बढाउन हुन्न भन्दा मिडिया र सामाजिक सञ्जालले डा महत वृद्ध भत्ता विरोधी हुन भनी हल्ला फैलाए।उक्त कुरालाई सिधा साधा नेपाली जनताले पत्याई दिए।यस कुराले डा. रामशरण महतलाई प्रत्यक्ष रूपमा असर पुर्यायो।अब नुवाकोट काँग्रेसले नुवाकोट बामगठबन्धनका नेताहरूले कस्तो कार्यहरू गर्छन् भनी खबरदारी गरेर अगाडी बढ्दा राम्रो हुनेछ।

लेखक नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री हुन।