यसरी गरेँ मैले श्रीमतीको हत्या « Himal Post | Online News Revolution
Logo

यसरी गरेँ मैले श्रीमतीको हत्या



 

— सुषमा देवकोटा

मेरो विवाहको अघिल्लो दिन उसले मलाई फोन गरी । ४ महिना पछि आएको उसको फोनको रिगंटोन बज्नासाथ म झस्कीएं, त्यो रिगंटोन उसको लागी मात्र राखेको थिएँ । उसको प्रेममा डुबेको मैले अरू सँगै विवाह हुन लाग्दा पनि उसको लागि रोजिएको रिगंटोन चेन्ज गरेको थिइन ।

विवाहको उत्सव त्यति खास पनि थिएन, म सुलोचना सँग विवाह गर्दै थिएँ, एउटा नाम बिनाको विवाह, प्रेम विवाह भनुं भने सुलोचनालाई भेटेको २ महिना पनि भएको थिएन, न कुनै डेटिगं, न प्रेममय मिठा मिठा बात न उ बिनाको छट्पटी । कसरी प्रेम विवाह भन्नु यो निरस सुृरुवातलाई ।

मागी विवाह भनुं भने न मेरो परिवारले सुलोचनालाई चिनेको थियो, न सुलोचनाको परिवारले मलाई । अझ सुलोचनाको परिवार त मलाई कुनै हालतमा ज्वाईं नमान्ने अडानमा थिए । मेरो घर सुदूरपश्चिमको दार्चुलामा थियो, सुलोचना तनहुँकी केटी ।

सानैबाट लाड प्यारमा हुर्कीएकी सुलोचना भर्खरै १७ वर्षकी टिनेजर केटी थिई । उसको बुबाले मेरो जात, चालचलन र संस्कारको बिभेदता, भौगोलिक दुरी र मेरो बेरोजगारीलाई लिएर कुनै पनि हालतमा म सँग विवाह गर्न नहुने कुरा सम्झाएका थिए । तर सुलोचनाले परिवारको कुरा नमानेर म सँग विवाह गर्दै थिई ।

उसको परिवारले उमेर सानो र पढाई बिग्रने कुरा सुनाएर उसलाई विवाह गर्न रोक्दा रोक्दै पनि उ मेरो मायालाई त्याग्ने पक्षमा थिइन ।
मेरो परिवारले कुनै विरोध नजनाए पछि म आफू ढुक्क थिएँ । तर मन अन्योलमा थियो, म किन उसलाई विवाह गर्दै थिएँ ? प्रेम त म आज पनि अरूलाई नै गर्थे, अरू पनि कसरी भन्नु जो मेरो मनको चारै भित्ता ओगटेर बसेकी छ ।

मेरो प्रेम सँग जोडीएर आउने एउटै नाम दिप्ती शाही । जुन नाम मैले चाहेर पनि मेटाउन सकेको छैन । ४ वर्षको मेरो अगाध प्रेमलाई उसले ४ महिना पहिले टुक्राएकी थिई । उसले मलाई छोडेर अरूलाई रोजी होला जस्तो लागेको थियो, तर आज उसले मलाई फोन गरी ।
बधाई दिन फोन गरेकी होली जस्तो लागेर फोन उठाएं, नउठाएको भए पनि हुन्थ्यो तर मन मानेन, फोन उठाउना साथ उसले रुन्चे स्वरमा भनी कुमार तिमी बिहे गर्दैछौ भन्ने थाहा पाएँ, तिमीले यो निर्णय गर्दै गर्दा एक पटक पनि मेरो याद आएन ?म के भनौं भनौंको अन्योलमा अड्कीएं एक छिन । उसको यो कुरामा म साह्रै खुसी थिएँ तर भोलि मेरो विवाह हुँदैछ यो हल्ला सबैतिर फैलिएको थियो धुंवा बनेर ।

तिमीले मलाई बिर्सेर गयौँ दिप्ती मैले उदास सुस्केरा छाडें । उसले उसैगरी दबेको स्वरमा भनी मैले सोचेको थिएँ, तिमीले कुनै न कुनै बेला फोन गर्छौ भन्ने, म तिम्रो पर्खाईमै रहेँ ४ महिना तर आज अचानक तिम्रो विवाह हुँदैछ भन्ने सुनें ।

मैले मनलाई रोक्न सकिन र भनेँ दिप्ती यदि तिमी म सँग विवाह गर्छौ भने म यो विवाह अहिलेनै क्यान्सील गरिदिन्छु । उसले मलाई रोक्दै भनी तिमीले यो कुरा पहिले नै सोच्नुपर्थो अब विवाह क्यान्सील गर्न मिल्दैन । म तिम्रो विवाहमा आउन पनि सक्दिन किनकि मन दुखेछ साहै्र, उसले फोन राखीदिई ।

कोठा लिएर बसेको थिएँ म, त्यही कोठाको छतमा दिप्ती र मेरो आज ४ महिना पछि कुरा भएको थियो । त्यही छत हो जहाँ कयौँ रात दिप्ती सँग फोनमा कुरा गरेरै बित्ने गर्थे । त्यही छन् जो ४ महिना देखी दिप्तीको याद बल्झाउने एउटा कारक बनेको छ । आज अचानक उसको फोन त्यही छतमा उभिएको बेलामा आयो तर हाँस्नु न रुनुको अवस्था बोकेर ।

तल झर्दै थिए भर्यागं उल्लदैं गरेकी सुलोचना देखेर नराम्रोसँग झस्कीएं । उसले हतारिंदै भनी तपाईँको कोठामा चुक्कुल लगाएको देखेर छतमा हुनुहुन्छ की भनेर आएको । सँगै अनुहार भरी खुसी फुलाएर भनी मेरो मम्मी बाबा आउँदै हुनुहुन्छ रे । देख्नु भयो त मेरो मम्मी बाबाले मलाई कति माया गर्नुहुन्छ, म त कन्यादान गर्ने मान्छे पनि नहुने भयो भनेर पिर गर्दै थिएँ ।

उसको परिवार बिहेमा सामेल हुने कुराले उ जति दङ्ग थिई, म भित्र उतिनै औडाह थपिएको थियो दिप्तीको फोनले ।

एक मन त सोचें यो विवाह हुन सक्दैन भनिदिउँ तर मुखबाट यो कुरा निस्किएन । अझ विवाहको विरोधमा रहेका उसका आमा बुबा आउने कुराले त अर्को सङ्कट आईलाग्यो ।

दुईजना कोठामा पस्यौं, उ भोलीको दिनलाई लिएर जीस्कीरहेकी थिई, म मौन थिएँ, चिया बनाउन सुलोचना । मैले आदेशको शैलीमा बोलें, उ खुरुक्क मानी । उसो त यो दुई महिनामा उसले मेरो कोठामा आउँदा खाजा पनि बनाउनु पथ्र्यो, मलाई अल्छी लागेको बेलामा उसले कपडा पनि धोईदिन्थी । कीचनका सामान कुन कँहा छ उसलाई कण्ठै भई सकेको थियो तर सानैबाट काम नगरेकी सुलोचना राम्रो सँग चिया पनि बनाउन जान्दैन थिई ।

उसले मेरो लागि आज पनि चिया बनाईदिई । सुलोचना र दिप्तीमा धेरै कुराको फरक थियो, न सुलोचना दिप्ती झैँ कुनै विषयलाई लिएर तर्क बितर्क गर्न सक्थी न मैले गरेका कामहरूको बारेमा खुलेर प्रशंसा र विरोध । सुलोचना सँग विवाह पछिका योजनामा राम्रो घर, सुन्दर छोराछोरी, श्रीमान् सँग घुम्न जाने उच्च महत्वाकांक्षा मात्र भेट्थें तर दिप्ती सधैँ सरकारी जागिर की प्राइभेट, कुन काममा लगानी गर्न सकिन्छ, पढाइलाई कहाँ सम्म लाने जस्ता कुराको दह्रो योजना बोकेर मेरो अगाडी प्रस्तुत हुन्थी, सल्लाह र सुझाव चित्त बुझदो हुन्थ्यो उसको । मलाई एक प्रकारको बानी नै परिसकेको थियो दिप्ती सँग सल्लाह नगरी काम नगर्ने ।

२५ वर्षकी दिप्ती र १७ वर्षकी सुलोचनाका सोचहरु बिलकुल फरक थिए । त्यसैले पनि म आफना कुराहरू सुलोचना सँग सेयर गर्न चाहन्न थें, मनले यही भन्थ्यो यो केटीले यस्ता कुरा के बुझ्छे र सुनाउनु ।

मेरो कपको चिया सकीनै लाग्दा उसको मम्मीको फोन आयो, नयाँ बसपार्क आईपुग्न लागेउँ भनेर । उ आफ्नो कोठामा जान हतारिई, उसो त हाम्रो कोठा जम्मा १० मिनेटको फरकमा थियो ।

अनुनयको आँखाले मलाई हेरेर बोली तपाईँ पनि जाउँन ।म जाँदीन पछि भेट्छु अलि रुखो भएर बोलेछु क्यारे उसको अनुहारको चन्चलता छिनमै हरायो । हुन्छ, म गएँ उ ढोकाबाट बाहिरीई ।

उ जानासाथ ल्यापटप खोलेँ र किशोर कुमारको गीत बजाएं चेहरा हे या चाँद खिला हे जुल्फो घनेरी साम हे क्या सागर जैसे आँखो वाली य तो बता तेरा नाम हे क्या ।

ल्यापटपमा रहेको दिपु नामको फोल्डर खोलेँ जहाँ दिप्तीका धेरै फोटोहरू छन् । गीत र दिप्तीको फोटोको तालमेल पटक्क नमिलेको देखेर हाँस उठ्यो, दिप्ती हेर्नमा सुन्दर छैन यो कुरा सबैलाई थाहा छ, त्यसमा पनि उसको ब्वाईज कट कपाल, केटाको जस्तो ड्रेसअप, नारायण गोपाल शैलीको चस्माले उ देखेर धेरै जना झुक्कीन्छन् केटा हो क ीभनेर जसरी म कलेजको सुरुको दिन उसलाई देख्दा झुक्कीएको थिएँ । किशोर कुमारको यो गीत ठ्याक्क सुलोचना सँग मेल खान्छ, यो गीत सुलोचना सँग मेल खाएको देखेर एक प्रकारको नमिठो लाग्यो खै किन यस्तो भयो मलाई । त्यो गीत बन्द गरेर एक तो सजन मेरे पास नहि रे, दुजे मिलन दि कोही आस नहि रे, चार दिनोके प्यार हो रब्बा, बढी लम्बि जुदाई गीत दोहोरयाएर सुनें ।

साँझमा सुलोचनाको फोन आयो उसको र मेरो लागी सपिगं गर्न जानको लागि । अहिले त म बाहिर निस्कीसकें भन्दिएं । खासमा बाहिर गएको कुरा झुट थियो, म उसको बाबा मम्मीलाई भेट्न खोजिरहेको थिइन । राति फोन भएन, बिहान भद्रकाली मन्दिरमा हाम्रो विवाहको कार्यक्रम तोकिएको थियो, उसको परिवारले अर्को ठाउँको सिफारिस पनि गरेन ।

हाम्रो विवाह भयो, मेरा साथीभाई धेरै उपस्थित थिए तर दिप्ती त्यो भिडमा नहुदाँ शून्य थिएँ म । फोन गर्न मन लाग्यो तर वातावरण नै मिलेन ।
सुलोचनालाई आफन्तको घरमा भित्रयाईयो, तर भोलि नै उसको भाईबैनी र बुबा आमा लगायतका आफन्त घर फर्कने कुराले हामी ट्याक्सीमा मेरो कोठामा फर्कीयौं । उसका आफन्त मेरै कोठामा जम्मा भए । सुहागरातको दिन पनि दिप्तीकै यादले खल्लो बनायो ।
भोलिपल्ट बिहानै दिप्तीको फोन आयो आज भेटौं भनेर, यस पटक उसको माया अझै बढ्यो, मैले अरू सँग विवाह गरेँ तर बिचरा दिप्ती अझै मलाई भेट्न चाहन्छे ।

सुलोचनाको परिवार बिहानकै बसमा तनहुँ फर्किए, म खाना खाएर भृकुटीमण्डप पुगें जहाँ दिप्ती र मेरो बर्षौ देखी चिया खाने पसल थियो । उसलाई देख्ना साथ डाँको छोडेर रोउँ जस्तै भएको थियो, उसले मेरो अवस्थालाई बुझेर चिया पसल पछाडिको चौरमा लगी ।
दुई जना नै प्रायः मौन थियौँ, उसैले सोधी विवाह कस्तो भयो, को को आए, मैले शिक्षकले विद्यार्थीलाई सोधेको प्रश्न झैँ उत्तर दिएँ, आफूलाई अपराधी महसुस भई रहेको थियो उसको सामु ।

फकीए पछि पनि दिप्तीले फोन गरी घर पुग्यौं भनेर जस्तो की ४ महिना पहिलेको ४ वर्ष जस्तै । कोठामा सुलोचना श्रृगारिएर बसेकी थिई, मलाई देख्नासाथ खुसी हुँदै भनी कति अबेर गरेको । झनक्क रिस उठ्यो, अरू काम केही छैन तिमी संगैै टास्सीरहुं ? भन्दीएं । उसका आँखा भरि आँसु भए तर मलाई गल्ती बोलें जस्तो लागेन ।

बेलुका खान खाएर सुत्ने बेलामा भन्दीएं आज म दिप्तीलाई भेट्न गएको थिएँ । सुनेर उ अक्क न बक्क परि । मैले सुलोचनालाई प्रेम प्रस्ताव राखेको दिनमा भनेको थिएँ म एउटी केटीलाई प्रेम गर्थे, तर अब हामी छुटी सक्यौं, उ मेरो जीवनको अतीत हो अब तिमी मेरो सब थोक हौ ।
सजीले भनेकी थिई सुलोचनाले तपाईँको प्रेमलाई लिएर मलाई कुनै आपत्ति छैन, तपाईँले नभनेको भए थाहा पनि हुन्थेन, हिजोको कुरालाई लिएर हाम्रो जीवन दुखी नहोस् । उसले यो पनि भनेकी थिई यदि दिप्ती र तपाईँ फेरी सँगै हुने सम्भावना छ भने तपाईँ उ सँग माफी मागेर भए पनि सँगै रहनु भएको प्रेम प्राप्त हुन्छ भने नयाँ प्रेमीका किन बनाउनु हुन्छ ।

त्यो बेला मैले भनेको थिएँ अब दिप्ती र मेरो च्याप्टर नै क्लोज भई सक्यो, उ र म सँगै हुनै सक्दैनौ । तर आज मैले सुलोचनाको विश्वास तोडेको थिएँ दिप्तीलाई भेट्न गएर । त्यो रात मेरी श्रीमती निदाउन सकिन मैले थाहा पाईरहें तर वास्ता गरिन ।

एउटा बानी छ सुलोचनाको उ कहिल्यैं रिसाउँदीन, जतिबेला हाँसिरहने, बरु चित्त चैँ दुखाउँछे, चित्त दुख्नु र रिसाउनु को विभेद म जान्दैन थें । भोलिपल्ट बिहान पनि उ त्यति बोलीन, मैले हप्काएं के नाटक हो सँगै बस्न मन छैन भने भन । यो शब्द मैले बिहेको तेस्रो दिन प्रयोग गरेँ ।
खाना नखाई निस्कीएं, बाटैबाट दिप्तीलाई बोलाएँ आर आर कलेजको अगाडी चिया पसलमा कुर्छु भनेर उ आई । उ सँगै हुँदा म्यासेज आयो सुलोचना अर्थात् श्रीमतीको । सुलोचनालाई श्रीमती भन्नु पर्दा मलाई औडाहा भई रहेको थियो । उसको म्यासेजमा आई एम सरी मै गलत हुँ लेखिएको थियो । दिप्तीले पनि पढी एसएमएस ।

राती १० बजे रक्सी खाएर घर पुगें, श्रीमती खाना कुरेर बसेकी रैछ, मैले खान्न भनेपछि उ पनि नखाई सुत्ने भई मलाई केही फरक परेन । सँगै सुतेकी श्रीमतीको माया नलागेपनि शारीरिक आर्कषणले तान्दो रहेछ, पहिलो सुहागरात रक्सीको नसा र भोको पेटमै मनाइयो ।
त्यसपछिका हरेक दिन दिप्ती र मेरो भेट हुन थाल्यो, जहाँ जाँदा सँगै । दिन त रमाईलै थियो रातमा घर फर्कीएपछि श्रीमतीको अनुहार देख्नासाथ खुसी त्यसै तुहिन्थ्यो ।
विवाहको ७ औँ दिन नै मैले श्रीमतीलाई भनेँ अझै केही बिग्रेको छैन डिभोर्स गरौँ । उ खुब रोई । मैले फकाईन ।

बिस्तारै श्रीमती हाँस्न र जिस्कन छोडीदिई, तर बोल्न छोडेकी थिइन । गफ पनि केही हुन्थेन गर्नलाई, म दिप्तीको प्रंशसा सुरु गर्थे उ सुनिरहन्थी, अनौठो लाग्थ्यो यो केटी मूर्ती हो कि मान्छे ।

एक रात म १२ बजे घर फर्कीएं, श्रीमतीले खाना खाएकी थिइन, घर पुग्नासाथ मैले बान्ता गरेँ, रक्सीले निकालेको बान्ता खाटभरी भयो । श्रीमतीले टाउको समाएर मुखभरी लागेको बान्ता पानीले पखालीरहि जस्तो की खाना खुवाएर आमाले सानो बच्चालाई चुठाईदिन्छन् । मुखबाट एउटा शब्द निस्कीएछ, सुलोचना मैले तिमीलाई धोका दिएँ ।

३ पटक बान्ता गरेर म निदाँए, सुलोचनाले मेरो फोन चेक गरिछ, १०ः२५ बाट ११ः४५ सम्म मैले दिप्तीलाई फोन गरेको उसले थाहा पाई । २ बजे म बिउँझदा उ रोईरहेकी थिई, झनक्क रिस उठ्यो भन्दीएं हेर जति रोउ कराउ मेरो मन फेरींदैन ।

भोलिपल्ट उ साथीकोमा जान्छु भनेर निस्कीई, ३ बजेतिर फर्कीई, बल्ल थाहा भयो उ दिप्तीलाई भेट्न गएकी रहिछे । सुनेर रिसको पारो नै तात्यो, कत्रो हिम्मत मलाई नभनी दिप्तीलाई भेट्न जाने । बिचरा दिप्तीलाई हप्काई होला जस्तो लागेर फोन गरेँ श्रीमतीको अगाडी नै । उसले भोलि भेट सबै कुरा भन्छु भनी ।

भोलिपल्ट दिप्तीलाई भेटेपछि थाहा भयो, श्रीमतीले म सुतेपछि दिप्तीलाई एसएमएस गरेर भेट्न भनेकी रैछ र उनीहरूले भेट्ने ठाउँ तय गरेछन् । मेरी श्रीमतीले भनिछ तिमीलाई कुमारले भुल्न सक्नु भएको छैन सक्छौ त बिस्तारै टाढा भई देऊ ।

हाँस पनि उठ्यो अरूका श्रीमती भएका भए तथानाम गाली गरेर आईनदा मेरो बुढालाई भेटीस भने तँलाई जानेको छु भन्थे होलान् ।
त्यसपछिका दिनमा म श्रीमतीलाई भन्न थालेँ, एक दिन दिप्तीलाई खाना खान बोलाउ, उ खुरुक्क हुन्छ भनेर फोन गरेर भोलि खाना खान आउन भनी नरम भएर, मेरी प्रेमिकाले ठाडो जवाफ दिई किन आउने आउँदीन म । म जँहा जान्थें दिप्तीलाई नै लैजान्थें, मलाई उ म सँग हुँदा खुब राम्रो लाग्थ्यो, मेरो विवाह भयो भन्ने कुरा थाहा पाउनेले थाहा पाए, बाँकी साथीलाई श्रीमती भेटाउन चाहिन मैले ।

एउटा कुरा के ढुक्क थियो भने, मैले जे जति गरे पनि मेरो ससुरालीलाई थाहा हुँदैन, किनकि म सँग बिहे गर्न रोक्दा रोक्दै उसले परिवारको बचन लात मारेकी थिई, त्यसैले पनि मैले उ प्रति गरेको व्यवहार उ परिवारलाई सुनाउन सक्दैन थिई ।जब घर फर्कन्थे बैराग्य लाग्थ्यो, सुलोचनाकै अगाडी बसेर म दिप्तीलाई फोन गर्थे, के छ बुढी भनेर, उ पनि हाँस्थी यो सम्बोधनमा । सुलोचनाका आँखा भरिनु पोखीनुले मलाई असर गरेन, किनकि उ एक प्रकारको बोझ बनेकी थिई मेरो ।

कैले काहीं सुलोचनालाई फकाएझै गर्थे, मैले कुनै दिन दिप्तीलाई बिहे गरेँ भने तिमी पनि खुसी हुनुपर्छ, किनकि तिमी मेरो खुसी चाहन्छेउ, मेरो खुसी दिप्ती हो । मेरी श्रीमती के सोच्थी मलाई थाहा हुन्थेन, उ एक प्रकारको लाटो बनेकी थिई विवाह पछि ।

विवाहको दोस्रो महिना बाटै श्रीमतीले जागिर खान थालेकी थिई, घरको काम र अफिसको थकानलाई उसले मेरो सामु देखाईन, कैले काँहि थाक्यौं होला भनेर सोध्दा उ खिस्स हाँस्थी र भन्थी थाकेको छैन ।

उसो त हाम्रो गफ कम र झगडा धेरै हुन्थ्यो, झगडा पनि के भन्नु म उसलाई आफ्नो तरिकाले गाली गर्थें उ चुपचाप हुन्थी । उ बोल्न थाली भने मेरो हात छोड्ने बानी थियो ।उ रुदा सधैँ मम्मी भनेर रुन्थी यो उसको बचपन मलाई पटक्क मन पर्थेन । म सोच्थें जिन्दगी त मेरो बर्बाद भएको छ, यो किन रुनु, मैले चाहेको केटी गुमाउनु परेको छ, यही विवाहले गर्दा ।

यो क्रम २ वर्ष सम्म चल्यो । त्यो दिन बिहान श्रीमतीले दिप्तीलाई भेट्न जान रोक लगाई, मैले दिप्तीको ठाउँ तैले लिन सक्छु भनेर भनेर नठानेकै राम्रो, ईख भएको केटी भएको भए मैले यस्तो व्यवहार गर्दा की त छोडेर जाँदा हुन् की त आत्महत्या गर्दा हुन्, कोही नपाउने भएर म सँग बसिरहेकी छस् भनेर कोठाबाट निस्कीएं ।

सधैँ फोन या एसएमएस गरेर आई एम सरी भन्ने सुलोचनाले त्यो दिन न फोन गरी न म्यासेज । साँझ घर फर्कदा उसले ढोका खोलीन, म बाहिर बसेर गाली गर्न थालेँ, जति गर्दा ढोका नखुले पछि मोबाइलमा फोन गरेँ रिगं बजेको सुनियो तर उसले ढोका नखोलेपछि, मैले वरपरका कोठाका छिमेकीलाई बोलाएँ, कसैले बोलाउँदा उ नबोलेपछि सबै जना डराए, घरबेटीले ढोका फोर्न अनुमति दिएपछि बल्ल बल्ल ढोका खुल्यो, भुईमा श्रीमती लडेकी थिई, मुखबाट फींज निकालेर, छुन पनि डरलाग्दो भएकी थिई उ, घरबेटी अंकलले छुनासाथ थाहा पाउनु भयो उ मरिसकी छ ।

पुलिस आयो, उसले रित्याएको मेडासिटको सिसि फेला पर्‍यो । मलाई यो कुरा सुनाउन मन लाग्यो दिप्तीलाई फोन गरेँ । उसले केही आश्चर्यको भावमा केही कुरा सोधी र भनी यो कुरा छीनोफानो नलागीकन मलाई फोन नगर । उसले फोन काटी । सुलोचनाले आत्महत्या गरेको साक्षी घरबेटी र छिमेकी थिए । तर उसका केही साथीहरूले हाम्रो बिग्रिएको सम्बन्धको बारेमा कुरा उठाउँदा उसको परिवारले प्रहरीलाई दबाब दिन थाल्यो अनुसन्धानको लागि ।

यो कुरा सुनाउन फोन गर्दा दिप्तीले फोन उठाईन एसएमएस गरेँ उसले छोटो रिप्लाई दिई, यो तिम्रो समस्या हो प्लीज भुलेर पनि मेरो नाम नलिनु कसैले सोधे यो कुरा गलत हो भन । मेरो लागि तिमीले यति गर्नेछौ ।

अन्ततः म निर्दोष थिइन तर निर्दोष साबित भएँ । तर मेरो ससुराली पक्षले सुलोचनाको शव जलाउने देखि काजक्रीयाको काममा मलाई अधिकार दिएनन् । मेरो छोरीको हत्यारा भनिरहे ।

धेरै दिन भएको थियो दिप्ती सँग कुरा नगरेको रातको ९ बजे उसलाई फोन गरेँ, एक जना केटाले फोन उठायो । दिप्तीलाई सोध्दा उसले तपाईँ को हो यति राती फोन गर्ने भनेर ठाडो पारामा बोल्न थालेपछि भनाभन सुरु भयो । उसले आफू दिप्तीको ब्वाईफ्रेण्ड भएको सुनायो ।
त्यसपछि दिप्तीको फोन अफ भयो भोलिपल्ट बिहान १० बजे दिप्तीले फोन गरेर भनी हिजो तिमीले मेरो ब्वाईफे्रण्डलाई के भन्यौं ?
झोकै चलेर आयो दिप्तीले कसरी भन्न सकी मेरो ब्वाईफे्रण्ड भनेर त्यो केटालाई । कैले बाट तिम्रो ब्वाईफ्रेण्ड भयो त्यो म हुँदा हुदैं हप्काएको शैलीमा भनेँ ।

साढें २ वर्ष देखी हामी अफेयरमा छौँ । यही कारण थियो म तिमीबाट टाढा हुनुको । तिम्रो कारण मेरो प्रेममा बाधा नहोस । प्लीज म उसको नम्बर दिन्छु फोन गरेर भन्देउ दिप्ती र म बिच केही त्यस्तो छैन, साथी मात्र हौँ हामी । मैले हिजो रक्सी खाएको थिएँ केही नराम्रो भनेको भए सरी भनेर कुरा गर उसँग ।

म छक्क परें पण्डितले घोकेको मन्त्र झैँ गरी सजिलै उसले यो कुरा भनी मलाई । असहय भएपछि भनेँ मेरो विवाहको अघिल्लो दिन फोन गरेर तिमीले के के भनेकी थियौ याद छ ?उसले जवाफ दिई हेर ४ वर्ष सँगै भएको, आफूलाई माया गर्ने र आफूले जे भन्यो त्यही मान्ने केटाले एक पटक मलाई नसोधी विवाह गर्दैछ भन्ने सुन्दा मलाई आफू साह्रै हेपिएको महसुस भएको थियो । तिमीसँग जीवन बिताउने भएको भए त न मैले तिमीलाई छोड्थें न तिमि बिहे क्यान्सील नगर भन्थें ।

तिमीले आफ्नो वैवाहिक जीवन सम्हाल्न नसक्नुमा मेरो केही दोष छैन । तिमिमाथी सहानुभूति पलाउँथ्यो मलाई । तिमि हरेक दिन आफनी श्रीमतीको कमजोरी मेरो उचाइ सँग तुलना गर्थेउ त्यो बेला मलाई तिम्रो अवस्था माथि दया लाग्थ्यो । तिमि म सँग केही पल बिताउँदा खुसी हुन्छौ भने किन त्यति नगरु भनेर मैले साथ दिएँ ।

तिम्रो खुसीको लागि म यति धेरै गर्न सक्छु भने तिमि मेरो खुसीको लागि मेरो ब्वाईफ्रेण्ड सँग माफी माग्न सक्दैनौ ?म अन्यौलमा परें कस्तो खाले प्रेम हो यो ? म उसको खुसी हेरौं या मेरो दुखेको मन सम्हालुं । डाँको छोडेर रोउँ या गएर सबको सामु थप्पड मारु ?

बोल्ने शब्द नै रोकियो र फोन राखें । कोठाको भित्तामा श्रीमतीले किनेर राखेको ठुलो ऐना थियो, ऐना अगाडी उभिएं । ऐनामा आफ्नो अनुहार साह्रै साह्रै नराम्रो लाग्यो । मानौं दुनियाकै कुरुप मान्छे मै हुँ । संसार भासिएझैं भयो, श्रीमतीले छोडेर जाँदा नझरेको आँसु आज दिप्तीका वाक्यहरुले झर्यो । ४ वर्षको प्रेमलाई भत्काएर दिप्ती जाँदा यति धेरै दुखेको थिएन मन जति आज दुख्यो ।

६ वर्षमा दिप्तीले मेरो मुटुलाई पुल बनाएर ओहोरदोहोर गरिरही । मैलाई थाहा भएन यो मुटुले सहन नसक्ने रोग बेसाउँदै छ भन्ने ।

दिप्तीसंगका पल सम्झदै गर्दा म श्रीमतीमा गएर ठोक्कीएं । श्रीमतीको धुमील आकृति अगाडी उभिएर हाँसीरहेझै लाग्यो । साँच्चै असक्त र एक्लो भए म । पहिलो पटक श्रीमतीको अभाव खड्कीयो उ आज यहाँ हुँदी हो त मलाई सम्झाउँदी हो, फकाउँदी हो आशु पुछदै ।
विवाहमा सीलाएको कोट झुन्डीरहेको थियो खै किन किन त्यो कोट छुन मन लाग्यो, कोट झिकेर हातमा खेलाईरहें, कोटको खल्तीमा केही कागज भए जस्तो लाग्यो के रहेछ भनेर हेर्दा त्यो कागचमा सुलोचनाका अक्षरमा यी कुरा थिए, कुमार तपाँई चाहनुहुन्थ्यो म यो कोठाबाट गईदिउँ, तपाँईको जिन्दगी बाट गै दिउँ, दिप्ती र तपाँईको प्रेममय जीवनमा छायाँ सम्म नहोस् मेरो । तपाँईको खुसी यतिमै काफी थियो होला तर मैले यो दुनियाँबाटै गईदिन चाहें ।

मैले मेरो परिवारको इच्छा विपरीत विवाह गरेँ, सोचेको थिएँ कुमार मेरो जीवनमा भई दिए संसारै जीत्नेछु । अपसोच आज १९ वर्षको उमेरमा म आत्महत्या गर्दैछु, म त्यो मान्छेको लागि मर्दैछु जो मेरो मृत्युमा १ थोपा आँसु पनि झार्छ झार्दैन म यकिनका साथ भन्न सक्दिन । मेरो मृत्युमा त्यही आमा बुबा र भाईबैनी रुन्छन् जसलाई मैले कोही र केही ठानेको थिइन प्रेमको अगाडी । हिजो भनेको नमानेर रुवाएको थिएँ, अब परिवार जीवन भर रुनेछ मेरो यादमा । मेरो मम्मीले १६ वर्षमा मलाई जन्माउँदा र हुर्काउँदाको सास्ती नसम्झेको मैले जीवनको अन्तिम पलमा यो कुरा बुझ्न सकें तर, यो थाहा छ म जति धेरै बाच्ने छु मेरो जीवन त्यतीनै सकसमा बित्नेछ र यो सकस थाहा पाएको दिन मेरो बाबा मम्मीमा अर्को अर्को पिडा थपिनेछ ।

१८ — १९ वर्षको उमेर जीवनको सबैभन्दा रंगीन दिन हुन्छ भन्ने सुनेको थिएँ । मेरै उमेरका केटीहरू मनभरि सपना र अनुहार भरि खुसी बोकेर हिँडीरहेका छन् । यही सहरको एउटा कोठामा १९ वर्षकी केटी विष खाएर आफैलाई मार्दैछे । समाप्त हुनु त्यो पनि जिन्दगीबाट असाध्यै नमिठो क्षण ।

१७ वर्ष सम्म मेरो लागि सबथोक गरिदिने आमाबुबा छोडें, अन्तरजातीय विवाह गरेर समाजमा बाबाले कमाएको इज्जत माटोमै मिलाईदिएं । आफ्नो स्वभाव, रहर, लवाईखवाई सबैलाई तपाँईको नाममा परिवर्तन गरेपछि म पूर्ण नौलो मान्छे भएको थिएँ । जब साँझ पथ्र्यो म यसरी तपाईँ कोठमा आउने बाटो हेर्थे जसरी एउटा सानो बच्चा आमालाई १ महिना नदेख्दा न्यास्रीन्छ ।

तर तपाईँ यसरी प्रवेश गर्नुहुन्थ्यो कोठामा मानौं तपाईँ भयानक भूकम्प हो, निर्मोहि आँधी हो र मेरो हैसियतलाई कठघरामा उभ्याएर दिप्तीलाई उचो देखाउने एउटा दिप्तीले खरिदेको वकिल हो । एउटा केटीले तपाँईको लागि सबथोक छोडेकी थिई यदि तपाईँ बुझ्ने मान्छे भएको भए यो भन्दा ठुलो त्याग के हुन सक्थ्यो म बाट । ४ वर्ष तपाईँको अथाह माया पाएर पनि दिप्तीले तपाईँलाई आफ्नो बनाउन चाहिन । तपाँईलाई आँखा चिम्लेर विश्वास गर्न सकिन, अझ भनौं तपाईँको गरिबी र रित्तोपनलाई अपनाउन चाहिन ।

सोचेको भए मेरो माया र विश्वास दिप्तीको भन्दा कयौँ गुणा माथि छ, जसको प्रमाण भेटेको २ महिनामा नै तपाईँ र मात्र तपाईँको आकृति हेरेर मैले विवाह गर्न सकें । म सधैँ मौन मौन तपाँईको अतीत र मलाई भनेको बचन सुनिरहें त्यो भन्दैमा मेरो मन रोएन भन्ने हो र ? जबकि १७ वर्ष सम्म मैले परिवारबाट आफू छोरी हुँ भन्ने सम्म महसुस गर्नु परेको थिएन ।

मेरो आँखा राम्रो भएर सुलोचना नाम राखिएको रें, यो सुन्दर आखाँ पनि कस्तो अभागी सपना र आँसु निरन्तर बगिरहयो । म अफिसबाट फर्कदाँ कैलेकाहीं तपाईँ सोध्नु हुन्थ्यो तिमी थाकेउ होला त्यति बेला भन्न मन लाग्थ्यो म जीन्दीबाट थाक्दै गएको छु कुमार । तर कैलेहि भनिन, भनेर के हुन्थ्यो फेरी अर्को नमिठो शब्द सुन्न पथ्र्यो ।

म मरेपछि मान्छेले भन्ने छन्, कायर केटी, यो उमेरमा सङ्घर्ष गरेर खान पनि सकीन्थ्यो किन मर्नु पथ्र्यो, या त हाम्रो बिग्रीएको सम्बन्ध कसैले थाहा पाए भने भन्नेछन् आफ्नो हकको लागि लड्नु पथ्र्यो । तर म कुन हकको लागि लुडुँ, मैले गरेको मायाको हिसाब किताब गरुं या जबरजस्ती तपाँईको जीवनमा अडिएर आफूलाई सौभाग्यवती भएको दाबी गरु ? मेरो ठाउँमा अरू भएको भए म पनि मर्नु हुन्न भनेर सम्झाउँथे होला तर कसैलाई सम्झाउनु र आफू स्वयम्ले भोग्नुमा कति कति अन्तर रहेछ ।

एउटा निको नहुने रोग लागेको बिरामीमा बाँच्ने रहर कम र मर्ने रहर बढी हुन्छ । किनकि पिडा सहने उ नै हुन्छ, पिडा सहने क्षमत्तालाई पराजित गर्दो रहेछ निर्दयी रोगको जीवाणुले, जस्तो कि आज म हारें । हजार पटक लड्नु र आफैँ उठ्नु यो क्रम पनि त्यति बेला सम्म चल्दो रहेछ जब सम्म उ थाक्दैन ।

यो चिठी लेखीरहंदा असाध्यै शान्ति महसुस भएको छ । विवाहको २ वर्ष सम्म व्यक्त गर्न नसकेको कुरा आज तपाईँलाई सुनाएं । यति बेला प्रतिकारमा तपाईँको शब्द र हात चल्न सकेको छैन, म एक्लै बोल्न पाएको छु ।

जाँदै गर्दा तपाईँ र दिप्तीलाई शुभकामना दिनु पर्ने हो तर शुभकामना त त्यो व्यक्तिले दिएको लाग्छ जो शुभ काम गर्दै छ । जो आफै पूर्ण छ त्यसालाई खाचों नै नहोला कसैको शुभकामनाको । यति हो माफी चाहन्छु २ वर्ष मेरो कारणले तपाईँले भोग्नु परेको तनावको लागि ।
सुलोचना जति चिठ्ठी पढ्दै गए त्यति नै आफू अपराधी भएको भान भयो । ससुरालीले ठिकै भनेका हुन् मैले सुलोचनाको हत्या नै गरेको हुँ । भलै उसले आत्महत्या गरिहोला तर मर्नुमा मजबुर त मैले गराएं ।

आफू जादै गर्दा पनि उसले मेरो नराम्रो देख्न चाहिन, चिठ्ठी लेखी तर सजिलै कसैले नभेट्ने ठाउँमा राखेर गै । सायद उ बाँच्न चाहन्थी र त अन्तिम अवस्थामा पनि विवाहको कोटको खल्ती उसले मन बिसाएको चिठ्ठी राख्ने ठाउँ बन्यो । आज मेरो अपराधको सजाएं समयले दिएको छ । उसको मृत्युको राज बोकेको चिठ्ठी मैले जततन गरेर राखेको छु । मर्नु त म पर्ने हो तर सुलोचना जस्ती सच्चा केटीले संसार छोडी ।

                             [email protected]

हिमाल पोस्टको अनुमति बिना उक्त कथालाई कुनै पनि अनलाइनमा साभार गरेको पाईएमा काडा भन्दा कडा कारवाही गरिने छ ।