यस्ता छन् धुर्कोट-२ मा कांग्रेस उम्मेदवार नविनका नविन योजना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्ता छन् धुर्कोट-२ मा कांग्रेस उम्मेदवार नविनका नविन योजना



गुल्मी,पिपलधारा/हिमाल पोस्ट

स्थानीय तहको दोस्रो चरणको चुनावका लागि उम्मेदवारहरु विभिन्न नारा र योजना लिएर मतदाताको घरघरमा पुग्न थालेका छन् ।

यसै क्रममा पश्चिमाञ्चलको सुन्तला खेतीको राजधानी भनेर चिनिने गुल्मीको साविकको पिपलधारा गाविस हालको धुर्कोट गाँउपालिकाको वडा नं. २ मा पनि चुनावी माहोल ह्वात्तै बढेको छ । २ नं. वडामा यूवा नेता नविन जिसीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।

जिसी वि.सं.२०४४ सालमा माध्यामिक तहमा अध्ययन गर्दै गर्दा नयाँ गाँउ माविको सचिव, २०४६ मा अध्यक्ष बनेका थिए । नेविसंघको संगठन गर्नमा माहिर मानिएका जिसी २०४६ मा पिपलधारा गाँउ समितिको अध्यक्ष भएका थिए ।

२०४८ सालमा उच्च शिक्षा हासिल गर्न सरदमुकाम आएका जिसी नेविसंघ रेसुङ्गा बहु्मुखी क्याम्पसको सचिव बनेर जिम्मेवारी सम्हालेका थिए । २०५० सालमा नेविसंघको क्षेत्रिय सभापति बनेका जिसी त्यसपछिका दिनमा भने विद्यार्थी राजनीतिलाई छाडेर नेपाली कांग्रेसमा निरन्तर लागि परेका छन् ।

नेपाली कांग्रेसको पिपलधारा गाँउ समितिको सभापति भइसकेका जिसी हाल जिल्ला कार्य समिति सदस्य छन् । दोस्रो तहको निर्वाचनमा धुर्कोट गाँउपालिका वडा नं. २ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका जिसीको गाँउका दुई माध्यमिक विद्यालयको स्तरवृद्धि र गुणस्तरमा ध्यान याेजना छ ।

गणेश माविलाई उच्च मावि बनाउने र ज्ञानोदय माविलाई स्थायी बनाउने उनको पहिलो योजना छ । सुन्तला खेती प्रख्यात भएको पीपलधारा, नयाँगाँउलाई मध्यनजर राखि कोल्ड स्टोरको निर्माण गर्ने सपना पनि उनले देखेका छन् ।

गाँउपालिकामा जाने बाटोमा पर्ने नदी खालामा पक्की पुलदेखि गाँउमा खानेपानी, स्वास्थ्य सबै कुरालाई उच्च महत्व दिने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । वडा नं. ३ र ६ का स्थानीय जनतासँगको सल्लाह र समझदारीमा खानेपानीको व्यवस्थापन गर्ने पनि जिसीको भनाई रहेको छ ।

बराजा, गौराकाचौर, पोखराचौर, वेताने, वम्ज्यान, टुफल हाडहाडे मोटर बाटोलाई व्यवस्थापन गरी जनतालाई यातायातको सुलभ व्यवस्थापन गराइदिने उनको प्रतिबद्धाता छ ।

यसका अलवा उदिना, बाख्रे, मसानघाट हुदै सुफल जोड्ने मोटर बाटो पनि प्राथमिकतामा राखेका छन् । पिपलधारामा भएको खेलमैदानलाई अझै व्यवस्थीत गरी खेलकुदलाई उच्च प्राथमिकता दिने र हेल्थपोष्टलाई स्तरवृद्धि गर्ने र यायुर्वेदिक अस्पताललाई उपकरणको व्यवस्थापन गराउने दृढ संकल्पका साथ चुनावी अभियानमा लागेको बताउछन् ।

नेपाल ताराबाट