यी हुन् सात प्रदेशमा एमालेका भावी मुख्यमन्त्री - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यी हुन् सात प्रदेशमा एमालेका भावी मुख्यमन्त्री



काठमाडौं ।

प्रमु्ख विपक्षी नेकपा एमालेले सातैवटै प्रदेशका भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेर प्रदेश सभाको निर्वाचन लड्ने भएको छ । निर्वाचन अघि नै एमालेले जितेमा को मुख्यमन्त्री हुनेछ भन्ने कुरा जनताले थाहा पाउन् भनेर भावी मुख्यमन्त्रीकै कमाण्डमा चुनाव लड्ने तयारी एमालेले गरेको हो ।

असोज ६ गतेदेखि काठमाडौंमा शुरु हुने केन्द्रीय कमिटी बैठकमा भावी मुख्यमन्त्रीका रुपमा कुन प्रदेशमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तोकेरै पार्टी दुई तहका चुनाव लड्ने तयारीमा रहेको पुष्टि गरे ।

योगेश भट्टराईले शुरु गरे बहस

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसअघि नै अनलाइनखबर मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने बताइसकेका छन् । अब केन्द्रीय कमिटीले प्रधानमन्त्री र ७ प्रदेशका मुख्यमन्त्रीका उम्मेदवार तोक्ने सम्भावना छ ।

मुख्यमन्त्रीका दाबेदार नेताहरु प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि एमालेले यसबारे आन्तरिक छलफल थालेको नेताहरु बताउँछन् । सकेसम्म पदाधिकारी र स्थायी कमिटी सदस्य तहकै नेतालाई मुख्यमन्त्रीकेा उम्मेदवार बनाउने सम्भावना रहेको श्रेष्ठले बताए ।

तर, प्रदेश ६ मा एमालेका स्थायी कमिटी सदस्य छैनन् । त्यहाँ पोलिटब्यूरो सदस्यबाटै मुख्यमन्त्रीको उम्मेदवार तय गरिनेछ । त्यस्तै कतिपय प्रदेशमा आवश्यकता र व्यक्तित्व हेरेर स्थायी कमिटी सदस्यभन्दा तलबाट पनि मुख्यमन्त्रीको उम्मेदवार बनाएर जान सकिने एक पदाधिकारीले बताए ।

उनले भने-मुख्यमन्त्रीको उम्मेदवार बन्ने व्यक्तिको हैसियत राष्ट्रियस्तरको र चर्चित होस्, जसका कारण प्रदेशभरीका जिल्लामा माहौल सिर्जना पनि होस भनेर हामी छलफल गर्छौं । चर्चित र लोकपि्रय युवा नेताहरुलाई अघि बढाउादा पार्टीलाई चुनाव जित्न सजिलो हुने अवस्थामा नेतामात्र हेरिन्न ।’

संयोगनै मान्नुपर्छ, केपी ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका योगेश भट्टराईले आफ्नो मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ६ बाट ताप्लेजुङ सारेका छन् ।

प्रतिनिधिसभा चुनाव लड्नका लागि उनले मतदाता नामावली जहाँ राखे पनि हुन्थ्यो । तर, प्रदेशको मुख्यमन्त्री बन्न सो प्रदेशको प्रदेश सभा सदस्य हुनैपर्ने संवैधानिक बाध्यताका कारण योगेशले मतदाता नामावली सारेको चर्चा पनि एमाले वृत्तमा चलेको छ ।

योगेशको नाम मुख्यमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाँदा सोलुखुम्बुदेखि ताप्लेजुङसम्म एक खालको माहौल आउने आशा एमाले पंक्तिको छ ।

प्रदेश १ मा तीनजनाको दाबी

मुख्यमन्त्रीका लागि प्रदेश १ एमालेको अनुकुल प्रदेश हो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले यहाँ बहुमत जितेको छ । स्थायी कमिटीबाट मुख्यमन्त्रीको उम्मेदवार बन्दा यहाँ सचिवद्धय भीम आचार्य र योगेश भट्टराईको नाम आउनेछ ।

सुवास नेम्वाङ संविधानसभा अध्यक्ष र सभामुख भइसकेकाले उनी मुख्यमन्त्रीका दाबेदार होइनन् । त्यो भन्दा तल्लो तहबाट उम्मेदवार बन्दा प्रदेश सहसंयोजक तथा पोलिटव्यूरो सदस्य शेरधन राई पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश २ मा मण्डल, चौधरी र महासेठको चर्चा

प्रदेश २ बाट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी र केन्द्रीय सदस्य रघुवीर महासेठ एमालेका तर्फबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

उनीहरुमध्ये एकलाई अघि सारेर एमाले २ नम्बर प्रदेशको चुनाव लड्न सक्ने नेताहरुले बताएका छन् । यसबीचमा राजपाका शीर्ष तहका एक नेताले पनि एमालेसँग वार्ता चलाइरहेकाले मुख्यमन्त्रीको नाम तलमाथि हुन सक्ने नेताहरुले बताएका छन् ।

तर, प्रदेश नम्बर २ एमालेको कमजोर प्रभाव रहेको प्रदेश हो । यहाँ कसैसँग तालमेल गरेको अवस्थामा मात्रै मुख्यमन्त्रीमा एमालेको सम्भावना रहन्छ । यो प्रदेशमा त्रिशंकु प्रदेश सरकार बन्ने सम्भावना बढी देखिन्छ ।

प्रदेश ३ मा अष्टलक्ष्मीको चर्चा

एमालेको राम्रो प्रभाव रहेको प्रदेश नम्बर ३ बाट मुख्यमन्त्रीका लागि पदाधिकारीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एकमात्र दाबेदार हुन् । पार्टी महासचिव ईश्वर पोखरेल मुख्यमन्त्रीको दाबेदार बन्ने सम्भावना छैन ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे र तामाङ बाहुल्य क्षेत्र रहेकाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ पनि मुख्यमन्त्रीको चर्चामा रहेका पात्र हुन् ।

प्रदेश ३ पनि एमालेका लागि अनुकुल प्रदेश हो । यहाा स्थानीय चुनावमा एमालेले बहुमत जितेको छ ।

प्रदेश ४ मा दुई गुरुङको चर्चा

एमाले बैठकले आगामी प्रदेशसभा चुनावपछि प्रदेश सरकारको प्रमुख अर्थात मुख्यमन्त्री छान्ने विषय पनि प्रदेश ४ बाट एमालेले पार्टी सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य किरण गुरुङमध्ये एकलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने चर्चा छ ।

चर्चित युवा नेता तथा विकास समितिका सभापति रविन्द्र अधिकारी पनि मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् । ४ नम्बर प्रदेशमा हालै सम्पन्न स्थानीय चुनावमा कांग्रेसको बहुमत छ । तर, अन्य दलसँग तालमेलका आधारमा एमालेले पनि मुख्यमन्त्री नपाउने सम्भावना भने छैन ।

प्रदेश ५ को मुख्यमन्त्रीमा अलमल

स्थायी कमिटीका एक तिहाई भन्दा बढी सदस्य रहेको प्रदेश ५ बाट एमालेका मुख्यमन्त्रीका उम्मेदवार को बन्ने भन्ने नेताहरुवीचमै अन्योल छन् ।

उपाध्यक्ष बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा छविलाल विश्वकर्मा यही प्रदेशका एमाले नेता हुन् ।

नेताहरु बसेर नै भावी मुख्यमन्त्रीको उम्मेदवार तय हुने केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले अनलाइनखबरलाई बताए । ५ नम्बर प्रदेशको स्थानीय चुनावमा एमाले पहिलो भए पनि कसैको बहुमत छैन । यहाँ पनि त्रिशंकु प्रदेश सरकार बन्ने सम्भावना बढी छ ।

प्रदेश ६ का दाबेदार को-को ?

प्रदेश नम्बर ६ मा एमालेका कोही पनि स्थायी कमिटी सदस्य नभएकाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, प्रदेश सहसंयोजक यमलाल कँडेल र पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटी मुख्यमन्त्रीका दाबेदार हुन् ।

स्थानीय तह चुनावमा एमाले दुई सिटले मात्र यो प्रदेशमा पहिलो पार्टी बनेको छ । यो प्रदेशमा माओवादी पनि तुलनात्मक रुपमा राम्रो पोजिसनमा छ ।

भीम रावल बन्लान् त मुख्यमन्त्री ?

सात नम्बर प्रदेशको भावी मुख्यमन्त्रीमा उपाध्यक्ष भीम रावल, पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा र पूर्वमन्त्री भानुभक्त जोशीको नाम चर्चामा छ ।

रावलले मुख्यमन्त्रीको दाबेदार बन्न चाहेमा उनै हुनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत गृह प्रदेश भएका कारण एमालेले यहाँ रावलकै कमाण्डमा चुनाव लड्न चाहेको छ । स्थानीय तह चुनावमा एमाले पहिलो बनेको छ ।

एमालेको केन्द्रीय कमिटीले मुख्यमन्त्रीको उम्मेदबारबारे छलफल गरे पनि अन्तिम निर्णय गर्ने अधिकार सम्भवतः स्थायी कमिटीलाई दिनेछ । स्थायी कमिटीलेको नेता प्रदेशमा लड्ने र को प्रतिनिधिसभा सदस्य लड्ने भन्ने तय गर्ने श्रेष्ठले बताए ।

यसपटक पार्टीका बरिष्ठ नेता वा महासचिव तहका नेता प्रत्यक्ष चुनाव नलडी चुनावको कमाण्ड गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

सबै प्रमुख नेता चुनाव लड्दा देशभरको चुनावी कमाण्ड फितलो हुने र कतिपय ठाउँमा प्रशासनको ज्यादती रोक्न समेत केन्द्रबाट पहल नहुादा चुनाव हार्ने गरेकाले यसपटक सबै नेताहरु प्रत्यक्ष चुनाव नलड्ने एमाले स्रोतले बतायो ।