आज योग दिवस:स्वस्थ रहन योग अनिवार्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आज योग दिवस:स्वस्थ रहन योग अनिवार्य



धु्रवशरण ढुंगाना/ बुटवल । आज जून २१ अर्थात्, अन्तर्राष्ट्रिय योग दिवस । सन् २०१५ देखि अन्तराष्ट्रिय रुपमा मनाउन सुरु भएको योग दिवस आज १७५ देशमा मनाइँदै छ । योगलाई यूएनले मानव स्वास्थ्य एवं साधनाको रुपमा परिभाषित गरेको छ ।
आज विश्वका धेरै देशले योग दिवस मनाउँदै छन् । योगलाई पछिल्लो समय रोग निरोधक साधनाका रुपमा अपनाइने गरिएको योगाचार्यहरु बताउँछन् ।
योगको अर्थले नै यसको उपयोगिता सिद्ध गर्ने विज्ञहरुको भनाई छ । योगलाई तीन अर्थमा लिइएको छ “युजसमाधौ” समाधिको अर्थमा “युजिर योगे” जोडनुको अर्थमा “युज संयमने” संयमितको अर्थमा । यसको अर्थले पनि योग मनुष्यको लागि कति उपयोगी छ भन्ने बुझ्न सकिन्छ ।
योगले मनुष्यका अनेकौँ रोगहरुसँग लड्न सक्ने शक्ति प्राप्त हुन्छ भन्ने प्रवल विश्वास छ । योग गर्नाले मनुष्य स्वस्थताका साथै मानसिक सवलता प्राप्त गर्न सकिन्छ ।
योगाचार्य कमल पौडेल योग कुनै जाति, धर्म, लिङ्गको भेदभाव नगर्ने र सबैलाई समान रुपले व्यक्तित्व विकासको लागि सहयोगी रहने बताउँछन् । उनका अनुसार योग साधनाले मनुष्यलाई चेतनामा बाँच्न सिकाउँछ भने हीनताबोध हटाउने अचुक उपायका रुपमा योग रहेको छ ।
‘नशामा डुबेका युवाहरुलाई पनि योग तथा ध्यानले सही मार्गदर्शन गर्न सिकाउँछ, योगी पौडेल भन्छन्– “हाम्रो देशको भूमि योग गर्नको लागि विश्वकै सबैभन्दा उपयुक्त रहेकोले अब सरकारले पनि चासोपूर्वक योग पाठ्यक्रमा सामेल गर्नु पर्ने आवश्यकता छ ।”
योगले मात्रै मनुष्यको लागि शारीरिक, मानसिक, सामाजिक स्वस्थ्यता प्रदान गर्न सक्ने योगी सोमराज अधिकारी बताउँछन् । उनी भन्छन्– “योग साधकका लागि साधना पद्धति हो भने रोगीका लागि योग उपचार पद्धति हो ।” तर अहिले योग शारीरिक मात्र हुन थालेकोमा उनलाई चिन्ता छ । मनासिक तथा आध्यात्मिक योग भएन भने मनुष्य कहिल्यै पनि स्वस्थ र तन्तुरुस्त रहन नसक्ने उनको दावी छ ।
उनी थप्छन्– ‘आजको समयमा योग आफ्नो अनकूल मात्र नबनाएर हाम्रा परम्परादेखि विकास हुँदै आएको यौगिक पद्धतिलाई अपनाउनु पर्ने आवश्यकता रहेको छ ।’ योग गर्दा शरीरलाई तोड–मोड गर्ने प्रक्रियाले रक्तनलीहरु शुद्ध गर्न सहयोग गर्ने उनको भनाइ छ ।
योगलाई नृत्यकर्मका रुपमा विकास गरे मानव जीवन हरेक तवरले तन्दुरुस्त हुने उनको भनाइ छ । योगाचार्यहरु दैनिक कम्तिमा आधा घण्टा योगामा बिताउन सुझाव दिन्छन् । आधा घण्टाको योगाले पूर्ण जीवन जीउन सहज हुने उनीहरुको भनाइ छ ।