योगेशले साथीलाई लगाएको 'गुन' र 'बुलेटप्रुफ' भ्रष्टाचार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

योगेशले साथीलाई लगाएको ‘गुन’ र ‘बुलेटप्रुफ’ भ्रष्टाचार



-नारायण गाउँले

हाल नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट बनाउँदै गरेको बतास समूहका कार्यकारी अधिकृत थिए डिम प्रकाश पौडेल, योगेश भट्टराईका नजिकका मित्र पौडेललाई नेपाल वायुसेवा निगममा सञ्चालक बनाएर ल्याइयो । केही महिनापछि उनलाई वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेबारी दिइयो, जबकि व्यावसायिक रूपमा जीवनमरणको लड़ाइँ लडिरहेको निगमलाई सम्बन्धित क्षेत्रको विज्ञ या अनुभवी निर्देशक आवश्यक थियो ।

सरकारी स्वामित्वको वायुसेवा निगमको सञ्चालक समितिमा निजी क्षेत्रबाट ‘यति’ समूहका दुई जना सदस्य छन्, फुरगेल्जे शेर्पा र ईश्वरी पौडेल ! नेपाल वायुसेवा निगमसँग यति एयरलाइन्सको घरेलुदेखि अन्तर्राष्ट्रिय बजारसम्म प्रतिष्पर्धा छ र त्यसको बोर्डमा प्रत्यक्ष स्वार्थ बाझिने गरी यति समूहकै मान्छे राखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले विदेश भ्रमण जाँदा निगमको जहाजको साटो यति एयरलाइन्सकै लगानी रहेको हिमालय एयरलाइन्सको जहाज चार्टर गर्ने गरेको समाचार पढ्नुभएकै होला ।

निगमको वाइडबड़ी अनियमिततामा नाम मुछिएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सरकारी टोली लिएर ताप्लेजुङ्गको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पुगेका थिए । तर त्यो सरकारी टोलीमा प्रत्यक्ष स्वार्थ बाझिने गरी किन र कसरी ‘यति’ एयरलाइन्सका अध्यक्ष पनि सहभागी थिए भन्ने प्रश्न आजसम्म अनुत्तरित नै छ ।

कोरोना महामारीताका त खाड़ीमा फसेका नेपाली मजदुरको उद्धार गर्ने नाममा प्रतिष्पर्धा रोकेर प्रचलित दरभन्दा दोब्बरतेब्बर भाड़ा दर लिन पाउने सरकारीस्तरको निर्णय नै गराउन उक्त समूह सफल भयो । निगमसँग दुई वटा त वाइडबड़ी नै थिए । तर अचम्मसँग कोटा तोकेर यति समूहकै हिमालय एयरलाइन्सलाई झन्डै निगम बराबरकै कोटा दिइयो । रगतको आँसू पिउँदै सयौं श्रमिक उक्त अमानवीय भाड़ा बुझाएर नेपाल फर्किए । ओमानका लागि तत्कालीन राजदूत शर्मिला पराजुलीले त त्यो ‘अति’ भएको भन्दै आफ्नै पहलमा त्यहाँको स्थानीय एयरलाइन्सबाट श्रमिकलाई नेपाल पठाएकी थिइन् । त्यो पनि सरकारले तोकेभन्दा आधा कम भाड़ामा । जबकि सरकारले उद्धार भनेको थियो र उनले पठाएको जहाज व्यावसायिक थियो । व्यावसायिक मूल्यभन्दा उद्धार मूल्य डबल बढ़ी भएको त्यो दुर्लभ घटना थियो ।

दुःखद त के छ भने सर्वोच्च अदालतले निःशुल्क उद्धार गर्न आदेश दिएको थियो । तर यही स्वार्थ समूहको जोरका अगाडि त्यो आदेशको केही चलेन ।
बतास समूहका कार्यकारी अधिकृत डिमप्रकाश पौडेल निगमको महाप्रबन्धक बनेपछि रातारात निगमलाई निजीकरण गर्ने कसरत शुरू भयो । उनले त्यसका लागि बनाएको तीन सदस्यीय समितिमा दुई जना यति ग्रुप सम्बद्ध व्यक्ति नै पर्नु अर्को दुर्लभ संयोग थियो । यसको विरोधमा त निगमका सबै जसो कर्मचारी सङ्गठनले हप्तौँसम्म आन्दोलन नै गरे ।

अर्को संयोग पनि थाहा पाउनुभएकै होला, संसदीय समिति र सरकारी निकाय महालेखाले अनियमितता भएको स्वीकार गरेको ओम्नी प्रकरणमा भाड़ासमेत नलिई वायुसेवा निगमको जहाज चीन उडेको थियो र त्यसमा धरौटी बस्न तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई विमानस्थल नै पुगेका थिए । एउटा निजी व्यापारिक फर्ममा मन्त्री नै धरौटी बस्ने अनौठो घटना थियो त्यो ।

नारायणहिटीमा रेस्टुरेन्ट चलाउन दिने निर्णय पनि गजबको रहेछ । सङ्ग्रहालय जानेहरूलाई चिया पिउने आवश्यकताको नाम बेचेर त्यहाँ नजानेहरू समेत जान पाउने गरी रेस्टुरेन्ट खुल्दै रहेछ । कति रोपनी जग्गा भन्ने पनि मनमर्जी नै रहेछ । खुला ठाउँमा जति पनि कुर्सी राख्न पाउने भन्ने रहेछ । पार्किंग त थप भयो नै । सार्वजनिक सम्पत्तिको यस्तो व्यापारीकरण सुखद घटना होइन ।

रोचक त के छ भने नियम नै संशोधन गरेर यति समूहलाई समयअघि नै गोकर्ण रिसोर्ट बुझाए जस्तै यस्ता सबै खाले निर्णयमा अख्तियार र अदालतलाई छल्न मिल्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराइएका छन् । मन्त्रीपरिषदको निर्णयमा अख्तियार प्रवेश गर्न नमिल्ने कानुन बनाइएको छ ।

आज बतास समूह रोकिए जस्तो देखिए पनि ‘नीतिगत भ्रष्टाचार’हरू प्रायः बुलेटप्रुफ हुन्छन् । कानुन नै त्यस्तो भएपछि अदालतले तिनलाई जिताइदिन्छन् । अदालतदेखि कानुन बनाउनेहरू आखिर यिनै हुन्छन् । यिनलाई सबै छिद्र थाहा हुन्छ । परेको बेला एकले अर्कोलाई बचाउँछन् । वाइडबड़ी उदाहरण हुन सक्छ । एउटा फ़स्दा अर्को पनि फस्ने भएकाले कसैले यसको फाइल खोल्दैन ।

आज प्रेम आलेले निर्णय उल्ट्याएकोमा ताली बजाए पनि हिजो त्यो निर्णय गर्दा उनी सोही पार्टीमा थिए । अलिकति सकारात्मकता भनेको आले नेकपामैं हुँदा समेत वाइडबड़ी र ओम्नीबारे खुलेर विरोध गरेका थिए । ओलीले मन्त्री बनाएपछि चुप लागे । मन्त्री खुस्केपछि नेपालतिर लागे र फेरि बोल्ने भए । उसो त सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भनेर चर्को बोल्ने मध्ये योगेश भट्टराई आफै पनि थिए ।

भ्रष्टाचारका जरा हामीले सोचे भन्दा धेरै गहिरा छन् । पेट्रोलमा पाँच रुपियाँ बढ़ाउँछन् । आन्दोलन हुन्छ अनि एक रुपियाँ घटाउँछन् । हामी जनप्रिय सरकारलाई ताली बजाउँछौं । ४ रुपियाँ पास हुन्छ । बतासले रेस्टुरेन्ट पाएन भने पनि हुने यस्तै यस्तै हो । एउटा व्यक्ति, एउटा पार्टी, एउटा संस्था या एउटा घटना खराब भए पो लौ समातियो भन्नु र खुशी हुनु ! तैपनि सानै होला, तर आजको युगमा सोसल मिडिया पनि एउटा ताकत भने हो । बोल्न र खबरदारी गर्न नछोडौं !

लेखक