राष्ट्रपति नपाए एमालेले सरकार छाड्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रपति नपाए एमालेले सरकार छाड्ने



नेकपा एमालेका सचिव योगेश भट्राइले पुष १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदी नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताएका हुन्। पुष १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे।

सोही सहमति अनुसार सत्ता समिकरण भित्रबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालिन गठबन्धन भत्किएर नयाँ समिकरण बन्दा पुष १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो,उनले भने सभामुख, ‘उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिलेपनि सहमति अनुसार नै सत्ता समिकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’

यदी सहमतिविपरित हुने अवस्था आएमा एमाले सरकारमा नरहने उनले स्पस्ट पारे । ‘एमालेले दुई वटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वन भयो भने हामी सरकारमा रहन्छौं, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौं ? उनले उल्टै प्रश्न गरे ।

साथै उनले एमालेपनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उनले कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनु पर्छ, त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने उनको भनाइ छ ।