योगेश भट्टराईको 'छवि' गिराउने त्यो कार्यक्रम - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

योगेश भट्टराईको ‘छवि’ गिराउने त्यो कार्यक्रम



सिड्नी । नेपाल भ्रमण वर्षको भव्य उद्घाटन भयो । सम्पूर्ण नेपाली विदेशी पाहुनालाई स्वागत गर्न तयार रहेको सन्देश प्रेसित गरियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको यस उत्कृष्ट कार्यलाई प्रतिपक्षी दललगायत सम्पूर्ण नेपाललीले कार्य सफलताको शुभकामना प्रदान गरे ।

नेपालको अर्थतन्त्रमा सुधार ल्याउने योजनासहित सुरु गरिएको यस पुनित कार्यको प्रचारप्रसारका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई आफैं प्रचारमा जाने योजना थियो ।

सोही अनुरुप अन्तर्राष्ट्रियस्तरमा भ्रमण वर्षको औपचारिक सुरुवात गर्ने भनेर मंगलबार अस्ट्रेलियाको सिड्नीमा गरिएको कार्यक्रमले भने सकरात्मक भन्दा नकरात्मक सन्देश प्रवाह गरेको छ । अस्ट्रेलियाबाहेक अन्य मुलुकमा पनि भ्रमणको शुभारम्भ मंलबार गरियो । पहिलो कुरा त यो शुभकार्य गर्दा त्यहाँको अवस्था, स्थिति र परिस्थिति बुझ्‍न आवश्य थियो ।

अस्ट्रेलिया अहिले शोकमा छ । अस्ट्रेलियामा आगलागीको प्रकोपबाट करिब ६ हजार किलोमिटर क्षेत्र प्रभावित भएको छ । आगो अझै नियन्त्रण बाहिर छ । आगलागीबाट प्रभावित क्षेत्र तुलना गर्ने हो भने नेपालका आधा दर्जन जिल्ला बराबरको क्षेत्र हुन आउँछ ।

नेपालको अर्थतन्त्रमा छुट्टै मोड ल्याउन सक्ने भ्रमण वर्ष जस्तो उत्सवलाई हचुवाको भरमा, सम्वन्धित देशको परिस्थितिको ख्याल नै नगरी, सरकारको बहालवाला मन्त्रीले गरेको यस्तो काम आलो घाउमा नुन चुक छर्केजस्तो हुनपुगेको छ ।

महिनौंबाट जारी आगलागीको चपेटामा परेर ५० करोड जनावर मरेका छन् । केही जनावरका प्रजाति नै सखाप भएको हुन सक्ने आकलन गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया तथा दक्षिण अस्ट्रेलियामा जारी आगलागीका कारण हजारौं घरहरु जलेर ध्वस्त भएका छन् । त्यस्तै, २ दर्जन भन्दा बढी स्थानीयले ज्यान गुमाएका छन् ।

पटक–पटक संकटकाल घोषणा गरी आकस्मिक उद्दार र आवास व्यवस्थाका लागि सरकारले सेना परिचालन गरेको छ । आगलागीका कारण हावामा धुँवाको मात्रा अत्याधिक भएकाले कतिपय सरकारी निकाय नै बन्द भएका छन् भने कर्मचारीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

आगलागीका कारण मानव स्वास्थ्यका लागि चाहिने अत्यावश्यक वायु दशौं गुणा विषाक्त भएको तथ्यांकले देखाएका छन् । वर्षे विदाको समयमा आगालागी भएकाले लोकप्रिय पर्यटकिय क्षेत्र र राजमार्ग बन्द छन् । आर्थिक क्षति र दिर्घकालीन असरको मुल्यांकन हुन बाँकी छ ।

राष्ट्रिय विपत्तिसँग अस्ट्रेलिया जुधिरहेको छ । त्यहाँ गएर बाजागाजा झण्डासहित र्‍याली निकाल्नुले नेपालप्रतिको अस्ट्रेलियनको दृष्टिकोण र सन्देश सकारात्मक पक्कै भएको छैन । त्यसकारण सही काम पनि सही व्यक्ति र सही समयमा हुन सकेन भने त्यो आलोच्य हुन्छ । त्यो सिकार मंगलबार मन्त्री भट्टराई भएका छन् ।

मन्त्री भट्टराईको अस्ट्रेलियामा गरिएको भ्रमण वर्षको प्रचार शोकाकुल घरमा बिहेको निम्तो बाँडेजस्तै हो । विस २०७२ को भूकम्पको समयमा अस्ट्रेलियनहरु आएर बाजागाजासहित अस्ट्रेलियन भ्रमण वर्षको प्रचार गरेको भए नेपालको प्रतिक्रिया के हुन्थ्यो ? सायद पक्कै राम्रो हुँदैनथ्यो होला । त्यही परिस्थितिको सामना अस्ट्रेलियाले गरेको छ ।

अर्को साउथ एसिया डटकम डटएयुका अनुसार मन्त्री भट्टराई सम्मेलित कार्यक्रम पछि विना अनुमति (नेपाली झण्डा समेत लगेर) सिड्नीस्थित ओपेरा हाउस छिर्न खोजेपछि त्यहाँका सुरक्षा गार्डले मन्त्रीसहितको टोलीलाई बाहिर निकालेको थियो ।

भ्रमण वर्षको प्रचारका लागि भनेर ओपेरा हाउससम्मै ‘र्‍याली लैजाने’ कार्यले त्यहाँका सुरक्षाकर्मी मात्रै हैन, अस्टेलियाली नागरिकमा पनि नेपाली प्रवृतिप्रति गलत सन्देश गएको छ ।

अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीको फितलो तयारी र स्थानीय कानून तथा व्यवस्थाबारे विनाकुनै जानकारी ‘नेपाली पारामा’ जुलुस निकाल्नुले मंगलबारको उद्घाटन कार्यक्रम विवादित बनेको छ ।

अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमण सहजताका लागि जारी गरेको आधिकारीक ‘ट्राभल एड्भाईजरी’मा नेपाललाई उच्च सतर्कता अपनाउनुपर्ने गन्तव्यको रुपमा राखेको छ ।

नेपालमा भ्रमण वर्ष २०२० शुरु भईसक्दा अस्ट्रेलिया सरकारले भने नेपालमा स–साना विस्फोट भइरहने, राजनीतिक अस्थिरता र बन्द हड्तालको सम्भावना भएको, पाकेटमारी र चोरीका घटना भइरहने तथा यौन दुराचार हुने भएकाले सचेत रहन सूचित गरेको छ ।

सरकारी सूचना अनुसार वायु प्रदुषणको असर, तराईमा मलेरिया, एड्स लगायतका स्वास्थ्य समस्यामा समेत सतर्क रहनुपर्ने छ । त्यस्तै ट्राभल एजेन्टहरुको ठगी, रुढीवादी समाज भएको लगायत पनि एड्भाईजरीमा उल्लेख छ ।

सफल कुटनीतिमा उचित समयमा शिष्टता देखाउन सक्नु नै कुशलता हो, मित्रराष्ट्र प्रतिको सम्मान पनि हो । प्रशंग १ मा उल्लेख भएझैं प्राकृतिक प्रकोपले विक्षिप्त अवस्थामा नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि विभागीय मन्त्री अस्ट्रेलिया आएपछि यहाँका नेपाली मूलका बासिन्दा नै विभाजित छन् ।

कतिपयले भ्रमण वर्षको उद्घाटन तथा अन्तर्क्रिया कार्यक्रम नै बहिस्कार गर्ने घोषणा गरेका छन् । समग्रमा नेपाली विभागीय मन्त्रीको नेतृत्वको यो भ्रमण हतासमा गरिएको अपरिपक्व निर्णयको रुपमा झल्किन्छ ।

सिड्नीमा मन्त्री भट्टराई सम्मिलित भ्रमण वर्ष उद्घाटन कार्यक्रमले विना अनुमति र्‍याली र प्रदर्शनको स्वरुप लिएको भन्दै प्रहरीले रोकेको घटनालाई व्यवस्थापकीय कमजोरीको एक नमूनाको रुपमा लिन सकिन्छ ।

यसबेला आईपुगेका मन्त्री भट्टराईले स्थानीय सरकारी र अग्नी नियन्त्रण सेवाका अधिकारीलाई भेटेर समवेदना व्यक्त गर्ने उपयुक्त अवसर पनि थियो । नेपालमा भूकम्प लगत्तै ४० लाख डलर घोषणा गरेको अस्ट्रेलिया सरकारका लागि नेपाल सरकारको तर्फबाट सांकेतिक सहयोग घोषणा गर्न सक्ने अवस्था पनि नभएको भने होइन ।

मन्त्रीका क्रममा कुनै ठोस रणनीतिक महत्वका उच्च स्तरका भेटवार्ता तथा बैठकको कार्यक्रम छैनन् । भ्रमण वर्ष शुरु भए पछि विकसित मुलुकमा आएर नेपाली समुदायका उही पुराना अनुहारका बीच कार्यक्रम उद्घाटन गरी पर्चा बाँड्ने भन्दा उच्च स्तरको पहलमा ध्यान दिनु नेपालका लागि हितकारी थियो ।

नेपालबाट आएका नेपालीकै बीचमा भ्रमण वर्ष लक्षित गरी आम अस्ट्रेलियनलाई कसरी नेपाल बोलाउने ? सम्वन्धित देशको नागरिकको सहभागिताविना लक्षित कार्यक्रमको जुलुस गर्दा कार्यक्रम सफल होला ?