नारायणहिटी पुगेर मन्त्री आलेले भने: योगेश भट्टराईको आँखामा फुलो परेको छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नारायणहिटी पुगेर मन्त्री आलेले भने: योगेश भट्टराईको आँखामा फुलो परेको छ



काठमाडौँ – पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार क्षेत्रभित्र बतास कम्पनीले बनाउन लागेको अनाधिकृत संरचनाको निरीक्षण गरेका छन्। निरिक्षणका क्रममा उनले जथाभावी बनाइएका संरचना देखेर चुक्चुकाउँदै नारायणहिटी दरबार क्षेत्र हेरचाह कार्यालयका उपसचिवलाई केरकार पनि गरेका थिए। उनले नारायणहिटीभित्र बनाइएको वाइन बंकरको अवलोकन गर्दै यो अत्यन्त निन्दनीय काम भएको पनि बताए।

निरीक्षण भ्रमणपछि नारायणहिटी दरबार परिसरमै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गरेका मन्त्री आलेले उनले संरचना हेर्दा नाचगान र मदिरापानसम्मका लागि देखिएको बताए। उनले पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कफीसपका लागि मात्र अनुमति दिएको भनी व्यक्त गरेको अभिव्यक्तिबारे भने- ‘उहाँले त अहिले हेर्न आउनुभयो भने भने कफी सपमात्र देख्नुहुन्छ। उहाँको आँखामा फूलो परेको छ।’

मन्त्री आलेले यो संरचना निर्माणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताए।

पहिला कफी सपका लागि ६ आना जग्गामा सानो रातो भवन मात्र बनाउने अनुमति लिएको बतास समूहले त्यहाँ मदिरापान र नाचगानसमेत हुने गरी ठूलो रेस्टुरेन्ट बनाउन लागेको खबर सार्वजनिक भएको थियो। त्यहाँ बनाइएको वाइन बंकरको निरीक्षण गर्दै मन्त्री आले सञ्चारकर्मीहरुसँग भने- यो अत्यन्तै निन्दनीय र नराम्रो काम भयो।’

उनले पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरुसँग भने- ‘यो क्षेत्रको संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका निर्देशक भेषनारायण दाहालले राजीनामा दिइसकेका छन्, उनको राजीनामा स्वीकृत पनि भइसकेको छ। हामीले अरु छलफल र अनुसन्धान अघि बढाएका छौँ।’