योगी आदित्यनाथ - महन्तदेखि मुख्यमन्त्रीसम्म - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

योगी आदित्यनाथ – महन्तदेखि मुख्यमन्त्रीसम्म



~कुमुद अधिकारी~

योगी आदित्यनाथ भारतीय सन्यासी र हिन्दु राष्ट्रितयतावादी राजनीतिज्ञ हुन् जसले हाल भारतीय राज्य उत्तरप्रदेशको २२औँ मुख्यमन्त्रीका रूपमा काम गरिरहेका छन्।

आदित्यनाथ ५ जुन १९७२ मा, त्यसबेलाको उत्तरप्रदेशको पौडी गढवाल जन्मेका हुन् जो अहिले उत्तराखण्ड राज्यमा पर्छ। जन्मपछि उनको नाम अजय मोहन बिष्ट राखिएको थियो। उनका बाबु आनन्द सिंह फोरेस्ट रेन्जर थिए। उनी चार दाजुभाइ र तीन दिदीबहिनीबीचमा दोस्रो सन्तान थिए। उनले उत्तराखण्डस्थित हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयबाट गणितमा स्नातक गरेका हुन्।

१९९० ताका अयोध्यामा राम मन्दिरको आन्दोलनमा सहभागी हुन उनले घर छाडे। यसैबेला उनी गोरखनाथ मठका मठाधीश महन्त अवैद्यनाथको प्रभावमा आए र उनका शिष्य बने। गोरखनाथ मठमै पछि उनलाई योगी आदित्यनाथको नाम दिइयो र महन्त अवैद्यनाथको उत्तराधिकारी घोषित गरियो। यसपछि उनी बारम्बार आफ्नो पुर्ख्यौली गाउँ गएका छन् र त्यहाँ १९९८ मा एउटा विद्यालय स्थापना गरेका छन्।

गोरखनाथ मठ

आदित्यनाथले २१ वर्षको हुँदा १९९३ मा परिवार परित्याग गरे र गोरखनाथ मठका मठाधीस महन्त अवैद्यनाथका चेला बने। १२ सेप्टेम्बर २०१४ मा महन्त अवैद्यनाथको मृत्युपछि उनलाई गोरखनाथ मठको महन्तमा बढुवा गरियो। उनलाई परम्परागत अनुष्ठानबीच १४ सेप्टेम्बर २०१४ का दिन गोरखनाथ मठको पीठाधीश्वर बनाइयो।

राजनीति

अन्वेषक क्रिस्टोफ जाफ्रेलोटनेल भने अनुसार योगी आदित्यनाथ उत्तरप्रदेशको त्यो विशिष्ट हिन्दुत्व राजनीतिसँग सम्बन्ध राख्छन् जसको जरा महन्त दिग्विजयनाथमा खोज्न सकिन्छ। दिग्विजयनाथले २२ डिसेम्बर १९४९ मा अयोध्याको बाबरी मस्जिद कब्जा गर्ने अभियानमा नेतृत्व गरेका थिए। दिग्विजयनाथ र उनका उत्तराधिकारी महन्त अवैद्यनाथ हिन्दु महासभासँग सबन्धित थिए र संसदमा त्यही पार्टीबाट निर्वाचित भएका थिए। १९८० को दशकमा बिजेपी र सङ्घ परिवारले अयोध्या आन्दोलनमा ऐक्यवद्धता जनाएपछि, हिन्दु राष्ट्रवादका दुई रेसाहरू जोडिए। १९९१ मा अवैद्यनाथ बिजेपीमा सामेल भएता पनि पर्याप्त स्वायत्तता उनले कायम राखेका थिए। १९९४ मा योगी आदित्यनाथलाई गोरखनाथ मठको उत्तराधिकारी नियुक्त गरिएको थियो। चार वर्षपछि उनी लोकसभाका लागि निर्वाचित भएका थिए।

चुनावमा निर्वाचित भएपछि आदित्यनाथले आफ्नै युवा दस्ता हिन्दु युवा वाहिनी सुरु गरे। यो दस्ता पूर्वी उत्तर प्रदेशमा गरिने विभिन्न क्रियाकलापका लागि चिनिन्थ्यो र उनको तीव्र उन्नतिको कारक थियो। निर्वाचन टिकटको बाँडफाँडलाई लिएर आदित्यनाथ र बिजेपी नेतृत्वबीच प्रशस्त तनावहरू उत्पन्न भएका थिए। बिजेपीले यी तनावहरूलाई माथि उठ्न भने दिएन किनकि आदित्यनाथ पार्टीको प्रचार प्रसारका लागि ‘नायक’ समान थिए।

२००६ मा उनले नेपाली माओवादीहरू र भारतीय बामपन्थी पार्टीहरूबीचको सम्बन्ध सूत्र पत्ता लगाई मधेसी नेताहरूलाई नेपालमा माओवादको विरोध गर्न प्रोत्साहित गरे। २००८ मा आतङ्कवादविरुद्धको ऱ्यालीमा उनको दलमाथि आक्रमण भएको थियो। यस आक्रमणमा एक जना मारिएका थिए भने छ जना घाइते भएका थिए।

संसद सदस्य

आदित्यनाथ १२ लोकसभाका कान्छा सदस्य भएका थिए जब उनको उमेर २६ वर्षको थियो। उनी गोरखपुर निर्वाचन क्षेत्रबाट लगातार पाँच पटक(१९९८, १९९९, २००४, २००९ र २०१४) का लागि संसदमा निर्वाचित भएका छन्। १६औँ लोकसभामा आदित्यनाथको उपस्थिति ७७% रहेको छ र उनले २८४ वटा प्रश्न सोधेका छन्, ५६ प्रश्नोत्तरमा भाग लिएका छन् र तीनवटा व्यक्तिगत सदस्य बिल पेस गरेका छन्।

बिजेपीसँगको सम्बन्ध

एक दशकको समयका लागि आदित्यनाथ र बिजेपीको सम्बन्ध तनावपूर्ण रह्यो। उनले हिन्दुत्वको सिद्धान्त फालेको भन्दै बारम्बार बिजेपीको अपमान र अवमूल्यन गरेका थिए। हिन्दु युवा वाहिनी तथा गोरखनाथ मठमार्फत पूर्वी उत्तरप्रदेशमा आफ्नै शक्तिकेन्द्र स्थापित गरेपछि उनमा बिजेपीमाथि आफ्ना सर्तहरू लाद्न सक्ने क्षमता देखा पऱ्यो। बिजेपीमा आफ्नो आवाज नसुनिएपछि, उनले बिजेपीका आधिकारिक उम्मेद्वारहरूविरुद्ध आफ्ना उम्मेद्वार उतारेर प्रतिकार गरे। यसको जल्दोबल्दो उदाहरण छ– २००२ मा उनले राधा मोहन दास अग्रवाललाई हिन्दु महासभाका तर्फबाट बिजेपीविरुद्ध खडा गरे। राधा मोहनले बिजेपीका क्याबिनेट मन्त्री शिव प्रताप शुक्ललाई ठूलो मतान्तरले पराजित गरे। २००७ मा आदित्यनाथले बिजेपी उम्मेद्वारहरूविरुद्ध ७० जना उम्मेद्वारहरू उतार्ने धमकी दिए। तर यसमा भने उनको बिजेपीसँग सम्झौता भयो। २००९ को संसदीय चुनावमा आदित्यनाथले बिजेपीविरुद्ध चुनाव प्रचार गरेको हल्ला पनि थियो र त्यसबेला बिजेपी उम्मेद्वारले हारेका थिए।

आवधिक प्रतिकारहरू हुँदाहुँदै पनि बिजेपी र आरएसएसका नेताहरूले योगीलाई फकाएर राखे। तत्कालीन उप-प्रधानमन्त्री लालकृष्ण आडवानी, आरएसएस प्रमुख राजेन्द्र सिंह र विश्वहिन्दु परिषद् प्रमुख अशोक सिङ्घल उनलाई भेट्न गोरखपुर आएका थिए। २२-२४ डिसेम्बर २००६ मा बिजेपीले लखनउमा राष्ट्रिय कार्यकारी भेला आयोजना गरेका बेला, गोरखपुरमा उनले तीन दिने विराट हिन्दु महासम्मेलन आयोजना गरेका थिए। यस्तो द्वन्द्वात्मक स्थिति हुँदाहुँदै पनि धेरै आरएसएस र बिजेपीका धेरै नेताहरू महासम्मेलनमा भाग लिन गएका थिए।

मार्च २०१० मा संसदमा पेस गरिएको महिला आरक्षण विधेयक(बिल)मा मतदान गर्ने पार्टीको ह्वीप विपरीत जाने गर्ने थुप्रै बिजेपी सांसदहरूमध्ये एक आदित्यनाथ पनि थिए।

उत्तरप्रदेशका मुख्यमन्त्री

आदित्यनाथ २०१७ को राज्य विधानसभा निर्वाचनमा उत्तरप्रदेशमा बिजेपीका प्रमुख प्रचारक थिए। बिजेपीले विधानसभामा बहुमत पाएपछि उनलाई १८ मार्चका दिन उत्तरप्रदेशको मुख्यमन्त्री नियुक्त गरियो र अर्को दिन उनले मुख्यमन्त्री पदको सपथग्रहण गरे। उनी मुख्यमन्त्री भएपछि उत्तरप्रदेश प्रशासनले राज्यका अवैधानिक(गैरकानुनी) वधशालाहरू बन्द गरायो। योगीले एन्टि-रोमियो स्क्वाड गठन गर्ने आदेश दिए र गाईको तस्करीमा ठाडो प्रतिबन्ध लगाए। उनले उत्तर प्रदेश लोकसेवा आयोगका नतिजा, परीक्षा र अन्तर्वार्ता अर्को सूचना जारी नहुन्जेलसम्मका लागि रोकिदिए। उनले राज्यभरिका सरकारी कार्यालयहरूमा सूर्ती, पान र गुटकामा प्रतिबन्ध लगाइदिए र सरकारी कर्मचारीलाई हरेक वर्ष १०० घण्टा स्वच्छ भारत अभियानमा समर्पण गर्न प्रतिज्ञा गर्न लगाए। उत्तर प्रदेश पुलिसले १०० भन्दा बढी पुलिसकर्मीहरूलाई निलम्बन गऱ्यो।

उत्तरप्रदेशको मुख्यमन्त्री हुने बित्तिकै उनले ३६ वटा मन्त्रालय आफ्नै मातहतमा राखे। अप्रिल ४, २०१७ का दिन भएको मन्त्रिपरिषद् बैठकमा, ८७ लाख साना र पिछडिएका किसानहरूको ऋण मिनाहा गरिदिने निर्णय गरे जुन करिब ५.३ बिलियन अमेरिकी डलर थियो। २०१७ को स्वतन्त्रता दिवस समारोहमा भाग लिनका लागि उनले राज्यका मुस्लिम स्कुलहरूलाई उनीहरूले राष्ट्रिय गान गाएको प्रमाण स्वरूप भिडियो देखाउनु पर्ने गराए।

न्युयोर्क टाइम्सले केही मञ्चहरूमा राम्रो काम गरे उनलाई २०२४ को प्रस्तावित प्रधानमन्त्रीका रूपमा पनि प्रक्षेपण गऱ्यो।

दृष्टिकोण

३ जनवरी २०१६ का दिन, पठानकोटस्थित भारतीय सुरक्षा पोस्टमा कथित पाकिस्तानी आतङ्कवादीहरूद्वारा भएको हमलापछि, उनले पाकिस्तानलाई सैतानसँग तुलना गरे।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७ वटा मुस्लिम बाहुल्य देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा निषेध गरेपछि, आदित्यनाथले उनको प्रशंसा गरेका थिए।

विवादहरू

मिडिया रिपोर्टहरू अनुसार २००५ मा योगी आदित्यनाथ उत्तरप्रदेशको इटाह सहरमा १८०० इसाईहरूलाई हिन्दु बनाउने ‘शुद्धीकरण अभियान’मा संलग्न भएका थिए। उनले त्यसबेला यो अभियानलाई उत्तर प्रदेशलाई हिन्दु राज्य नबनाउन्जेल जारी राख्ने उद्‌घोष गरेका रिपोर्टहरू पनि आएका थिए।

जनवरी २००७ मा अन्य बिजेपी नेताहरूसहित धार्मिक हिंसामा मारिएका एक व्यक्तिको शोकसभामा उपस्थित थिए। उनी र उनका समर्थकहरूलाई पुलिसले गिरफ्तार गरी गोरखपुर जेलमा कोच्यो। उनीहरूमाथि शान्ति भङ्ग गरेको र निषेधात्मक आज्ञाहरू उल्लङ्घन गरेको आरोप लागेको थियो। उनलाई गिरफ्तार गरेपछि स्थिति अझ बिग्रियो र गोरखपुरबाट मुम्बई हिँडेको मुम्बई-गोरखपुर गोदान एक्स्प्रेसका थुप्रै डब्बाहरू जलाइए। यो काम कथित हिन्दु युवा वाहिनीका कार्यकर्ताहरूले गरेका थिए। उनको गिरफ्तारीको एक दिन पछि, जिल्ला न्यायाधीश र स्थानीय पुलिस प्रमुखलाई सरुवा गरियो।

विवादास्पद वक्तव्यहरू

२०१० मा महिला आरक्षण विधेयकको विरोध गर्दा, आदित्यनाथले भनेका थिए, “आरक्षणले बच्चास्याहार जस्ता घरेलु जिम्मेवारीलाई प्रभाव पार्दैन। यदि पुरुषहरूले महिला विशेषताहरू विकसित गरे भने उनीहरू देवता हुन्छन्, तर यदि महिलाहरूले पुरुषका विशेषताहरू विकसित गरे भने उनीहरू राक्षस हुन्छन्।”

२०१४ मा मिति उल्लेख नभएको एउटा भिडियो युट्युबमा उपलब्ध थियो। यसमा उनले आजमगढको आमसभालाई सम्बोधन गरिएको भनिएको थियो। अन्तर-धार्मिक विवाहका कारण धर्म परिवर्तनको सन्दर्भ लिँदै उनले भनेका थिए, “यदि उनीहरूले एउटी हिन्दु केटी लगे भने, हामी १०० मुस्लिम केटी लिनेछौँ।” यस अगाडि उनको भनाइ थियो, “यदि उनीहरूले एक जना हिन्दु मारे भने हामी १०० जना ….” उनी रोकिए र भीडले वाक्य पूरा गरेको थियो, “मार्नेछौँ।”

फेब्रुअरी २०१५ मा विश्व हिन्दु परिषद्को ‘विराट हिन्दु सम्मेलन’मा सम्बोधन गर्दा उनको टिप्पणी थियो, “यदि मौका दिइयो भने हामी हरेक मस्जिदमा गौरी, गणेश र नन्दीका मूर्तिहरू स्थापना गर्नेछौँ।”

जुन २०१५ मै सूर्यनमस्कार र योगका विषयमा बोल्दै गर्दा, उनले योगबाट बच्नेहरूले हिन्दुस्तान छोड्दा हुन्छ भन्ने किसिमको अभिव्यक्ति दिएका थिए। सूर्य भगवान्‌मा साप्रदायिकता देख्नेहरूलाई उनले समुद्रमा डुब्न वा बाँकी जिन्दगी अँध्यारामा बिताउन “अनुरोध” पनि गरेका थिए।

२०१५ को अन्त्यतिर मिडियामा चलेको असहिष्णु विवादमा आदित्यनाथले अभिनेता शाहरुख खानलाई पाकिस्तानी आतङ्कवादी हफिज सईदको भाषा बोलेको भनी आरोप लगाएका थिए।

योगी आदित्यनाथको जीवनी दुई जनाले लेखेका छन्:

योगी आदित्यनाथ : द राइज अफ अ स्याफ्रोन सोसलिस्ट – प्रवीण कुमार

द मोङ्क हु बिकेम चिफ मिनिस्टर – शान्तनु गुप्ता

-0-