युवती काण्डले विवादमा तानिए नरेन्द्र मोदी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युवती काण्डले विवादमा तानिए नरेन्द्र मोदी



काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक विवादास्पद टिप्पणीका कारण आलोचनाको घेरामा परेका छन्।

प्रधानमन्त्री मोदीले देशका ठूला औषधि निर्माता कम्पनीहरुले डाक्टरहरुलाई घुसको रुपमा युवती उपलब्ध गराउने गरेको आरोप लगाए। त्यसको गम्भीर निन्दा र आलोचना गरेको छ इन्डियन मेडिकल एसोसिएसन (आइएमए) ले ।

आइएमएले मोदीको आरोपमाथि कडा आपत्ति जनाउँदै या त आरोप प्रमाणित गर्न, या लगाएका आरोप फिर्ता लिन वा माफी माग्न माग गरेको छ । आइएमएले मंगलबार एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री मोदीलाई आरोप प्रमाणित गर्न या माफी माग्न भनेको छ ।

आइएमएले भनेको छ, ‘सञ्चारमाध्यममा आएको खबर अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले एक सम्बोधनको क्रममा भन्नु भयो कि ठूला औषधि कम्पनीले डाक्टरलाई घुसको रुपमा युवती उपलब्ध गराएका छन् । प्रधानमन्त्री मोदीले यस्तो भनेको भए आइएमए यसप्रति कडा आपत्ति प्रकट गर्दछ ।’

जनवरीको सुरुमा ठूला औषधि कम्पनीसँगको बैठकको क्रममा प्रधानमन्त्री मोदीले यस्तो आरोप लगाएको बताइएको छ ।

आइएमएले भनेको छ, ‘हामी जान्न चाहन्छौँ कि, के सरकारसँग ती कम्पनीहरुका बारेमा जानकारी थियो, जसले डाक्टरलाई युवती उपलब्ध गराउँछन्, यदी थियो भने उनीहरुलाई प्रधानमन्त्री कार्यालयमा हुने बैठकमा बोलाउनुको साटो आपराधिक मुद्दा दर्ता किन गरिएन ?’

आइएमएका अध्यक्ष डा. राजन शर्मा र महासचिव डा. आरवी असोकनले हस्ताक्षर गरेको विज्ञप्तिमा घुसका रुपमा युवती लिने डाक्टरहरुको नाम पनि जारी गर्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरिएको छ ।

आइएमएले सरकार प्रधानमन्त्री मोदीले लगाएका आरोप प्रमाणित गर्न सकोस भन्ने आश गरेको जनाएको छ । तर प्रधानमन्त्री मोदीले लगाएको आरोपमा सत्यता नरहे माफी माग्नु पर्ने माग आइएमएले गरेको हो ।

गएको नोभेम्बरमा पुणेको संस्था सपोर्ट फर एड्भोकेसी एण्ड ट्रेनिङ टू हेल्थ इनिशिएटिभ्सले आफ्नो एक अध्ययनमा दाबी गरेको थियो कि डाक्टरहरुले औषधि कम्पनीसँग घुसका रुपमा विभिन्न क्षेत्रको भ्रमण, ट्याबलेट, चाँदीका सामान, सुनका गहना र पेट्रोल कार्ड समेत लिने गर्छन्।