युवराज लामाको होटेलमा नक्कली नोटको कारोबार: नोटसहित ५ जना पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

युवराज लामाको होटेलमा नक्कली नोटको कारोबार: नोटसहित ५ जना पक्राउ



काठमाडौं- बाराको निजगढ नगरपालिका–८ स्थित फिल्मकर्मी युवराज लामाको होटेल तारा ईन होटलबाट नक्कली नोटसहित पांच जना पक्राउ परेका छन् । एक हजार दरको २५ थान नक्कली नोटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिवार राति करीब ८ बजेतिर ४ नेपाली र अन्य केही भारतीयलाई प्रहरीको विशेष कार्यदलले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत सोही होटल अगाडिबाट प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ गरी रबरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज बरामद गरेको छ ।

यस्तै, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।