अस्ट्रेलिया डढेलोको कथा: पक्राउ परेका एक युवा र आगलागीको रहस्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अस्ट्रेलिया डढेलोको कथा: पक्राउ परेका एक युवा र आगलागीको रहस्य



एजेन्सी- पृथ्वीको दक्षिणी गोलार्द्धमा पर्ने अस्ट्रेलियाका जंगलहरूमा आगलागी भइरहने खबरहरू खासै नौला होइनन् । अस्ट्रेलियामा यतिवेला गर्मीयाम चलिरहेको छ । घना जंगल भएको त्यो भूगोल गर्मीयाममा साना–ठूला आगालागीका घटनाबाट आक्रान्त भइरहन्छ ।

विगतमा जस्तै यसपटक पनि अस्ट्रेलियाका जंगलहरूमा आगलागी भइरहेको छ । तर, यस पटकको आगो विगतको जस्तो सामान्य छैन ।

करीब महीना दिनदेखि आगोको मार खेपिरहेको अस्ट्रेलियाले मानवीय, भौतिक संरचना, पर्यावरणका साथै अत्यधिक मात्रामा जीवजन्तुको क्षति व्यहोरिरहेको छ । अस्ट्रेलियामा हरेक वर्ष आगलागीको समस्या भोग्नुपरे पनि यति ठूलो मात्रामा क्षति भएको इतिहासमै पहिलोपटक हो ।

आगोका कारण देशैभरी करीब २७ जनाको ज्यान गइसकेको छ भने २० हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका छन् । करोडौंको संख्यामा जीवजन्तु जलेर खरानी भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जीवजन्तुहरू आगोको लप्काले जलिरहेका, जलेर मरेका, घाइते भएका र बाँच्नका लागि भागिरहेका कारुणिक तस्वीर र श्रव्यदृश्य सामग्रीहरू प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।

आगलागी नियन्त्रणका लागि त्यहाँको सरकारले प्रयास गरिरहेको छ भने विभिन्न राष्ट्रहरूले पनि सहयोग गरिरहेका छन् । विश्वभरका चर्चित कलाकारहरूले समेत आगलागी नियन्त्रणका लागि आर्थिक सहयोग गरिरहेका छन् । तर, आगो अझैं नियन्त्रणमा आउन सकेको छैन ।

क्षतिको मात्रा दिन प्रतिदिन बढिरहेको छ । यसको सबैभन्दा ठूलो मार जीवजन्तुमा परेको देखिन्छ भने विज्ञहरूले यसले दीर्घकालीन रूपमा मानवीय संकट निम्त्याउनेतर्फ चिन्ता व्यक्त गरिरहेका छन् ।

कति क्षेत्रमा फैलिएको छ आगो ?

अस्ट्रेलियाका सबै राज्यहरूमा आगलागीको असर परिरहेको भए पनि न्यू साउथ वेल्समा सबैभन्दा बढी असर परेको छ । विशाल झाडी र घना जंगल भएका क्षेत्रहरू, काठ पाइने ठाउँहरू र ब्लु माउन्टेनजस्ता राष्ट्रिय पार्क भएका स्थानमा आगोको असर तुलनात्मक रूपमा बढी परेको छ ।

जंगल भएका क्षेत्र मात्रै होइन अस्ट्रेलियाका मेनबर्न र सिड्नीजस्ता विशाल सहरहरू पनि समस्यामा परेका छन् । ती सहरहरूका बाहिरी भागमा रहेका घरहरू जलेरै खरानी भएका छन् भने ठूला ठूला भवनहरूमा धुवाँको मुस्लोको असर परिरहेको छ ।

कसरी भयो आगलागी ?

अस्ट्रेलियामा हरेक वर्ष यही याममा गर्मी र सुक्खा मौसमका कारण प्रायः आगलागीका घटना दोहोरी रहन्छन् । प्रायःजसो आगलागी हुनुमा प्राकृतिक कारण मान्ने गरिएको छ । सुक्खा मौसममा पर्ने चट्याङले जंगलमा सजिलै आगालागी गराउने गरेको निष्कर्ष निकालिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसपटक अस्ट्रेलियामा भइरहेको आगलागीको कारण गत डिसेम्बरमा भिक्टोरियाको पूर्वी गिप्पसल्यान्ड क्षेत्रमा परेको चट्याङलाई मानिएको छ । स्टेट एजेन्सी भिक्टोरिया इमर्जेन्सीका अनुसार उक्त चट्याङले लागेको आगो ५ घन्टामा २० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको थियो ।

यसका साथै मानिसलाई पनि यसको कारणका रूपमा लिइएको छ । गत नोभेम्बरमा न्यू साउथ वेल्सको अग्नि नियन्त्रक निकायले आफ्ना एकजना १९ वर्षीय स्वयंसेवकमाथि शंका लागेपछि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीमाथि आगलागी गराउने समूहसँग शंकास्पद साँठगाँठ गरिरहेको आरोप लगाइएको छ ।

किन खतरनाक छ यो आगलागी ?

अस्ट्रेलियामा सुक्खायाम यसै पनि खतरनाक मानिन्छ । सन् २००९ मा भिक्टोरियामा भएको आगलागीलाई अस्ट्रेलियाको इतिहासकै सबैभन्दा ठूलो आगलागी मानिन्छ । जहाँ १ सय ७३ जनाको ज्यान गएको थियो । उक्त दिनलाई अस्ट्रेलियाको इतिहासमा ब्ल्याक स्याटर्डेका रूपमा इङ्गित गरिएको छ ।

यस वर्षको आगलागीलाई पनि नियन्त्रणमा लिन निकै कठिन भइरहेको र असामान्य आगलागीका रूपमा लिन थालिएको छ।

अस्ट्रेलियाले यतिबेला पछिल्लो दशककै सबैभन्दा बढी सुक्खापन र तापक्रम झेलिरहेको छ । त्यहाँको राष्ट्रिय मौसम विभागले गत डिसेम्बरमा यसअघिको अत्यधिक तापक्रम र सुक्खापन भन्दा निकै तेज भएको रेकर्ड रहेको सार्वजनिक गरेको थियो । केही क्षेत्रमा त ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम महसुस भएको विभागले जनाएको थियो ।

तीव्र गतिको हावाका कारण पनि यसपटक आगलागीको समस्या झनै विकराल बन्दै गइरहेको छ । गत डिसेम्बरमा तीव्र वेगमा आएको हावाका कारण ट्रकले नियन्त्रण गुमाउँदा एकजना २८ वर्षीय अग्नि नियन्त्रक स्वंसेवकको ज्यान गएको थियो ।

मौसमविद्हरूका अनुसार मौसम परिवर्तनका कारण पनि वायुमण्डलमा समस्या देखिएको छ । जसका कारण पछिल्लो समय आगलागी र बाढी पहिरोको समस्या देखिन थालेको छ ।

न्यू साउथ वेल्सको फायर एन्ड रेस्क्यू विभागका प्रमुखले २०१९ मा प्रधानमन्त्री स्कट मोरिसनलाई मौसम परिवर्तनका कारण अस्ट्रेलियाले गम्भीर समस्या भोग्नुपर्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री मोरिसनले यसका लागि आफू यस विषयमा गम्भीर भएको र यस विषयलाई नीति निर्माण तहसम्म लैजाने प्रतिबद्धता जनाएका थिए ।

कति भयो क्षति ?

धेरैजसो राज्यहरू आगोको घेराभित्र परेका छन् । केही राज्यहरूले भने आगलागीमा बासस्थान र घर नै गुमाएका छन् । सबैभन्दा गम्भीर भौतिक क्षति बाक्लो आवादी भएको राज्य न्यू साउथ वेल्सले व्यहोर्नुपरेको छ । जहाँ करीब १६ सयभन्दा बढी घरहरू खरानी भएका छन् भने ६ सय ५० भन्दा बढी घरहरू जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

अस्ट्रेलियाका ६ वटा राज्यमा करीब ७३ लाख हेक्टर जमिन आगोले जलिरहेको छ । यी सबैभन्दा बढी जलेको न्यू साउथ वेल्स राज्यमा नै हो, जहाँ मात्रै ४९ लाख हेक्टरभन्दा बढी जमिनमा आगलागी भएको छ । अग्नि नियन्त्रक सहित २४ जनाको ज्यान गएको छ ।

ब्राजिलको सरकारी निकायका अनुसार सन् २०१९ अमाजन रेनफरेस्टमा भएको आगलागीबाट ७० लाख हेक्टर भूभाग जलेको थियो । त्यस्तै क्यालिफोर्नियामा सन् २०१९ मा १ लाख हेक्टर र २०१८ मा ४ लाख ४६ हजार ८० हेक्टरमा लागलागी भएको थियो ।

कति मरे जनावर ?

न्यू साउथ वेल्स राज्यमा मात्रै करीब पचास करोड जनावरहरू आगलागीको प्रत्यक्ष मारमा परेका छन् भने लाखौं जनावरहरू मरेका छन् । कतिपय जनावर आगोको लप्काले जलेर र कतिपय बाँच्नका लागि आगोबाट भाग्दै गर्दा लडेर र अनेक कारणले मरेको बताइएको छ । सिड्नी विश्वविद्यालयका भूगर्भविदका अनुसार देशैभरीको तथ्याङ्कलाई संकलन गर्दा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अस्ट्रेलियाको वन तथा वातावरण मन्त्रालयले मृत जनावरको एकिन तथ्याङ्क पत्ता लगाउनका लागि सर्वेक्षणको काम शुरु गरिएको बताएको छ ।