अस्थायी शिक्षकद्वारा आन्दोलन घोषणा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

अस्थायी शिक्षकद्वारा आन्दोलन घोषणा



३० साउन, काठमाडौं । वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको छ । समितिले आइतबार मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको हो ।

आन्दोलन दुई चरणमा हुनेछ । भदौ ७ गते प्रत्येक जिल्ला सदरमुकाममा र्‍याली निकाली जिल्ला शिक्षा कार्यालय नजिक कोणसभा गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मूलगेटमा आवातजावत बन्द गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, भदौ १२ गते काठमाडौंमा सबै अस्थायी शिक्षकहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी विरोध र्‍याली गर्ने समितिले जनाएको छ ।

यी कार्यक्रमहरु गर्दा पनि सरकारले मागहरु सम्बोधन नगरे अझ कडा आन्दोलन गर्ने समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले बताए ।

शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षक सम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू हुनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याइ स्थायी गर्नुपर्ने, शिक्षा ऐन लागू भएपछि उमेरहदको कारणले पेसाबाट अवकाशित शिक्षक र सर्वोच्च अदालतको २०६३ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्ने माग अस्थायी शिक्षकहरुको छ ।

यसैगरी, अस्थायी, लियन र परियोजनाका शिक्षकहरुको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षकसरह तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग पनि अस्थायी शिक्षकहरुले राखेका छन् ।