यी पाँच काम कहिल्यै नगर्नुस्, गर्दा बेकारमा अपमान पाइन्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यी पाँच काम कहिल्यै नगर्नुस्, गर्दा बेकारमा अपमान पाइन्छ



जीवनमा मानसम्मानको ठूलो महत्व छ । घरपरिवार र समाजमा सम्मान नपाएको व्यक्तिको जिन्दगी मरेतुल्य हुन्छ । आफ्नो मानसम्मानका लागि मानिसले प्राण पनि बलिदान दिएको उदाहरण इतिहासमा पाइन्छ । गरुड पुराणमा यस्ता पाँच कामका बारेमा बताइएको छ जसका कारण व्यक्तिले अपमानित हुनुपर्छ ।

ती पाँच काम यो श्लोकमा बताइएको छ : दाता दरिद्र: कृपणोsर्थयुक्त: पुत्रोsविधेय: कुजनस्य सेवा। परापकारेषु नरस्य मृत्यु: प्रजायते दुश्चरितानि पञ्च।। अर्थात् दरिद्र भएर पनि दाता हुनु, धनी भएर पनि कञ्जूस हुनु, छोरो आज्ञाकारी नहुनु, दुष्ट मानिसको सेवा गर्नु अनि कसैको अहित गर्ने क्रममा मृत्यु हुनु — यी पाँच कामले अपमान मात्र दिलाउँछन् । कुनै गरीब व्यक्तिले आफ्नो हैसियतभन्दा बढी दान दिँदा ऊ आफैं र आफ्नो परिवारलाई समस्या पर्छ । पहिला आफ्नो र आफ्नो परिवारको भरणपोषण गर्नुपर्छ अनि केही बचेछ भने बल्ल दान गर्नुपर्छ । नभए बेकारमा अपमान पाइन्छ । अंग्रेजीमा पनि च्यारिटी बिगिन्स याट होम अर्थात् दानशीलता घरबाट शुरु हुन्छ भनिएको छ । तपाईँसँग पर्याप्त धन भएरपनि कञ्जूस हुनुहुन्छ भने तपाईँलाई अपमान गरिनसक्छ । विचारपूर्वक पैसा खर्च गर्नु बुद्धिमानी हो तर पैसामा लोभ गर्नु चाहिँ मुर्ख्याइँ हो । पैसाको सही उपयोग गर्नुस्, कञ्जूस नहुनुस् किनकि कञ्जूसलाई कसैले पनि सम्मान दिँदैन । जुन व्यक्तिको छोरोले बाउआमाको कुरा मान्दैन उसलाई पनि समाजमा अपमान सहनुपर्छ । आज्ञा नमान्ने छोरो जे पायो त्यही गर्न थाल्छ अनि बाउआमाको बेइज्जत गराइदिन्छ ।

धृतराष्ट्रकै उदाहरण हेर्नुहोस्, छोरोको मनमौजीका कारण कौरव कुल नै नष्ट भयो । छोरोलाई आज्ञाकारी बनाउन उसलाई बच्चैदेखि राम्रो संस्कार दिनुस् । दुष्ट वा खराब मान्छेको संगत गर्ने व्यक्तिले पनि जीवनको कुनै मोडमा पुगेर अपमानित हुनैपर्छ । खराब काम गर्ने व्यक्तिले निजी स्वार्थका बारेमा मात्र सोच्छन् र परेको बेला आफ्नो साथीलाई पनि फँसाइदिन्छन् । त्यसैले खराब मान्छेको संगतमा परी बेकारमा अपमानित होइन्छ । कसैलाई हानि पु-याउने क्रममा तपाईँको मृत्यु भयो भने त्यो पनि अपमानको कारण बन्न जान्छ । हुन त मरेपछि डुमै राजा भन्नुहोला तर तपाईँको इज्जत मरेपछि पनि कायम रहँदा तपाईँका सन्ततिलाई गर्व गर्ने अवसर प्राप्त हुन्छ । त्यसैले कसैको नोक्सान गर्ने काम त के यसबारेमा सोच्नु पनि ठीक हुन्न । दैनिक भास्कर