प्रहरी रिपोर्ट लिन काठमाडौं धाउनु नपर्ने, अनलाइनबाटै यसरी लिनुहोस् - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रहरी रिपोर्ट लिन काठमाडौं धाउनु नपर्ने, अनलाइनबाटै यसरी लिनुहोस्



काठमाडौं- अब प्रहरी रिपोर्ट अनलाईनमै आउने भएको छ । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) का लागि अनलाइन प्रणाली लागू गरेको हो ।

प्रहरीले रिपोर्टको लागि काठमाडौं पुगेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था गरेको हो ।

नेपाल प्रहरी दिवसको दिन अनलाइन प्रणाली शुरु गर्ने घोषणा गरेको प्रहरीले आइतवार (मंसिर १५ गते) देखि पूर्णरूपमा यो प्रणाली लागू गरेको जनाएको छ ।

अनलाईन प्रणाली लागू भएपछि सर्वसाधारण आफैले आफ्नो जानकारी अनलाईनमा दर्ता गर्न सक्नेछन् ।

दर्ता गरेको तीन दिनमा अनलाइनबाटै चारित्रिक प्रमाणपत्रको विद्युतिय प्रति लिन सकिने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

अनलाइन प्रणालीमा रिपोर्टको फारम भर्नका लागि नेपाल प्रहरीको बेवसाइटमा दायाँतर्फ रहेको ‘पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

https://opcr.nepalpolice.gov.np/#/login मा क्लिक गरेपछि त्यहाँको निर्देशन अनुसार रजिष्ट्रेसन गर्ने, फारम भर्ने, तथा नागरिकताको नागरिकता र पासपोर्टका फोटो ‘अपलोड’ गर्नुपर्ने हुन्छ।

त्यहाँ फारम भरेपछि आउने एप्लिकेसन नम्बरको आधारमा फर्म भरेको ३ दिनपछि सफ्ट कपी आफ्नो ‘आईडी’मै उपलब्ध हुने प्रहरी प्रधान कार्यालयको चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालले बताए ।

सक्कल प्रति नै चाहिने भएमा भने तीन दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट लिनुपर्ने उनको भनाई छ ।