देउवाले रक्षा खाउ भन्दा सिंहले भने गृह चाहिन्छ - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

देउवाले रक्षा खाउ भन्दा सिंहले भने गृह चाहिन्छ



प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएका प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् ।

यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय खालि छन् । देउवाले सिंहलाई रक्षासहित उपप्रधानमन्त्री खान गरेको आग्रहलाई सिंहले नकारेका छन् ।

स्रोतका अनुसार देउवाले सिंहलाई बालुवाटार बोलाएर रक्षा मन्त्रालय खालि रहेकाले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बन्न आग्रह गरेका थिए ।

सिंहले भने रक्षा मन्त्री बन्ने प्रस्ताव सोझै अस्वीकार गरे । उनले गृह मन्त्रालय माग गरेका छन् ।

देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री खाँणलाई देउवाले निरन्तरता दिन चाहेका छन् । ‘चुनावका बेला गृहमन्त्रालय प्रधानमन्त्रीकै विश्वासपात्रको हातमा हुनुपर्छ,’ देउवानिकट एक नेताले भने, ‘प्रधानमन्त्रीले सिंहलाई अविश्वास गर्नुभएको त होइन, तर अहिलेसम्म राम्रोसँग गृहमन्त्री चलाएकाले उहाँ खाँणकै निरन्तरता चाहनुहुन्छ ।’

१४ औं महाधिवेशनमा सिंह सभापतिका उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनबाट आउट भएका सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएका थिए ।

त्यतिबेलै सिंहलाई उपप्रधानसहित गृहमन्त्रालय दिइने लिखित सहमति भएको सञ्चारमाध्यमहरूमा आएको थियो ।

महामन्त्रीका उम्मेदवार रहेका मिनेन्द्र रिजाल पराजित भएपछि रक्षामन्त्रालय खालि भएको थियो ।