गोवर्धनपूजा- यस्तो छ धार्मिक र पौराणिक मान्यता - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

गोवर्धनपूजा- यस्तो छ धार्मिक र पौराणिक मान्यता



काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा। बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ।

द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ।

गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ।

बुधबार नै गोरुको पनि पूजा गरिँदैछ। गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ। नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ।

गोवर्धनपूजालाई हलीतिहार पनि भनिन्छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बुधबार २३ः३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा तिथि छ।