आधा दर्जन जात/थरका व्यक्तिलाई भत्ता नदिन सरकारले पठायो परिपत्र - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आधा दर्जन जात/थरका व्यक्तिलाई भत्ता नदिन सरकारले पठायो परिपत्र



काठमाडौँ- आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नपाउने भएका छन् । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूले भत्ता नदिन परिपत्र जारी गरेको छ ।

सरकारले पटवा, विल्टाउ, विन(मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो परिपत्र गरेको छ ।

अधिकांश स्थानीय तहहरूले पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही), लोहार र गोढया थर भएका व्यक्ति दलितमा सूचीकृत नभए पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए ।

त्यस्तै कतिपय स्थानीय तहले भत्ता दिने कि नदिने भनेर सुझाव माग गरेपछि विभागले परिपत्र गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जाती अनुसूची विवरण बमोजिमका जात र थरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

विभागले जारी गरेको सूचनामा स्थानीय तहले ती जातीलाई सामाजिक सुरक्षा भत्ता दिने कि नदिने भन्ने अन्योलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेको उल्लेख छ ।