अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब



हिमाल पोष्ट / २८ मंसिर, काठमाडौं । विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब भएको छ ।

औसत बिक्री मूल्यका हिसाबले यो चुहावटबाट प्राधिकरणलाई ठाडै नौ अर्ब ३० करोड रुपैयाँ (प्राधिकरणको वार्षिक घाटाभन्दा बढी) नोक्सान परेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सोमबार तयार पारेको आँकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा हाल स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको दुई सय एक मेगावाट बराबरको बिजुली चुहावट भएको छ । यति बिजुली उत्पादन गर्ने आयोजना निर्माण गर्न अहिलेको मूल्यमा ३० अर्ब रुपैयाँ लाग्छ ।

लुकाइएको बिजुली सर्वसाधारणलाई वितरण गरेर देशलाई लोडसेडिङमुक्त प्रायः बनाएको प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्राधिकरणले तीन महिनाको अवधिमा वितरणतर्फको कुल विद्युत् चुहावटमा २.०८ प्रतिशतले घटाउन सफल भएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायले बताए । प्राधिकरणको प्रणालीमा एक प्रतिशत चुहावट नियन्त्रण गर्नु भनेको चार करोड ६५ लाख युनिट बिजुली जोगाउनु भएको आजको अन्नपूर्णमा समाचार छ ।

यसअनुसार गत असोज र कात्तिकमा प्राधिकरणले साढे नौ करोड युनिटभन्दा बढी बिजुली चोरी नियन्त्रण गरेको छ । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट ८ रुपैयाँ ६० पैसाका हिसाबले ८३ करोड रुपैयाँभन्दा बढी राजस्व असुल भएको छ ।

गत वर्षको आँकडाअनुसार प्राधिकरणको कुल विद्युत् चुहावट २५.७८ प्रतिशत छ । यसमध्ये वितरण लाइनमा चुहावट १९.८, प्रसारण लाइनमा ४.८२ र उत्पादनमा चुहावट १.१६ प्रतिशत छ ।

प्राधिकरणको वितरण तथा ग्राहकसेवा निर्देशनालयका अनुसार यस वर्ष ४.२७ प्रतिशतले चुहावट नियन्त्रण गर्ने लक्ष्य छ । प्राधिकरणको यो लक्ष्य पूरा भएमा एक अर्ब ९४ करोड रुपैयाँ थप राजस्व उठ्नेछ । चार प्रतिशत चुहावट नियन्त्रण गर्दा पनि दैनिक लोडसेडिङमा एक घन्टाका दरले कमी आउनेछ ।