सरकार बनाउने विकल्प भएसम्म चुनाव हुँदैन: महान्यायाधिवक्ता खरेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकार बनाउने विकल्प भएसम्म चुनाव हुँदैन: महान्यायाधिवक्ता खरेल



काठमाडौं- सरकार बनाउने विकल्प भएसम्म चुनाव हुन नसक्ने भन्दै बोलेको महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक भएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङपछि महान्यायाधिवक्ता अग्नि खरेलको भिडियो सार्वजनिक भएको हो । उन;ले भिडियोमा विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्ति दिएका छन् ।

अहिले उनको यो भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा उनले भनेका छन्, ‘बहुमत भयो ठीक छ । दुई पार्टी मिले त्यो पनि ठीक छ । दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन । अब कहाँ जाने त ? एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने । फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय सरकार, संघीय संसद् र प्रादेशिक संसद्को हकमा पनि त्यही व्यवस्था गरेका छौँ ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपश्चात संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भैरहेका बेला सार्वजनिक भएको यो भिडियोले महान्यायाधिवक्ता खरेललाई धर्म संकटमा पारेको छ ।

प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भन्दै प्रधानमन्त्री ओलीको पक्षमा आफै बहसमा उत्रिन थालेका खरेललाई यसले झट्कासमेत दिएको छ ।

खरेल ०६४ र ०७० मा संविधानसभाका सदस्य थिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी २८ फागुन ०७४ मा महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।