अग्युरोको ह्याट्रिक, म्यानचेस्टर सिटीको आधा दर्जन गोल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अग्युरोको ह्याट्रिक, म्यानचेस्टर सिटीको आधा दर्जन गोल



काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विपक्षीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा चार गोल गरेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । एस्टन भिल्लाले इन्जुरी समयमा एक गोल फर्कायो, अर्थात घरेलु टोली एस्टन भिल्ला ६–१ ले पराजित भयो ।

म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरोले ह्याट्रिक गरे । उनले २८, ५७ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । उनले लिगमा १२ औँ ह्याट्रिक गरेका हुन् ।

योसँगै अग्युरो प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने इंग्ल्याण्ड बाहिरिको खेलाडीको कीर्तिमानमा बराबरी गर्न सफल भएका छन् । उनले फ्रयांक लाम्पार्डले जस्तै १७७ गोल गरेका छन् ।

यस्तै सिटीका लागि रियाद महरेजले दुई गोल गरे । उनले १८ र २४ औँ मिनेटमा गोल गरेका हुन् । सिटीका लागि गाब्रिएल जिससले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

६–० ले पछि परेको एस्टन भिल्लाका लागि इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा एल गाजीले एक गोल फर्काएका हुन् ।

६–१ को जित निकालेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । २२ खेलबाट ४७ अंक जोडेको सिटीले समान खेखलबाट ४५ अंक रहेको लेस्टर सिटीलाई पछि पारेर दोस्रो स्थानमा पुगेको हो ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । पराजित भएको एस्टन भिल्ला २२ खेलबाट २१ अंकसहित रेलिगेशन जोनमा पुगेको छ ।

आइतबार राति नै भएको खेलमा बोर्नमाउथलाई ३–० ले पराजित गरेको वाट्फोर्ड २२ खेलबाट २२ अंकसहित रेलिगेशन जोनबाट बाहिर निस्कन सफल भएको छ ।