अमेरिकाले बनायो कोरोना भाइरस मार्ने यस्तो एयर फिल्टर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकाले बनायो कोरोना भाइरस मार्ने यस्तो एयर फिल्टर



एजेन्सी- अमेरिकाको ह्यूस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले हावामा रहेका कोरोना भाइरसलाई मार्नका लागि ‘क्याच एण्ड किल’ एयर फिल्टर बनाएको दाबी गरेका छन्।

अनुसन्धानकर्ताको दाबी अनुसार ग्याल्वेस्टोन नेशनल लेबोरेटरीमा गरिएकोे परीक्षणमा फिल्टरले ९९.८ प्रतिशत कोरोना भाइरस (सार्स–सीओभी– २) लाई मारेको थियो। यो फिल्टर व्यवसायिक रुपमा उपलब्ध निकल फोमबाट बनेको बताइएको छ।

भाइरस सम्पर्कमा आएपछि यो फिल्टर २०० डिग्री सेन्टिग्रेडसम्म तातिएर भाइरस नष्ट गर्छ। युनिभर्सिटी अफ टेक्सस मेडिकल शाखाद्वारा सञ्चालित नेशनल ल्याबमा परीक्षणका क्रममा फिल्टरले ९९.९ प्रतिशत एन्थे्रेक्स स्पोरलाई पनि नष्ट गरेको थियो। एन्थ्रेक्स स्पोर– एन्थ्रेक्स ब्याक्टेरियाबाट बन्छ जो संंसारको अधिकांंश भागमा माटो, हावामा स्वभाविक रुपमा पाइन्छ।

एमडी एन्डरसन अफ फिजिक्स यूएचका प्राध्यापक एवम् सह–अनुसन्धानकर्ता जिफेङ रेनका अनुसार यो फिल्टर कोभिड– १९ को प्रसार रोक्नका लागि विमानस्थल, विमान, कार्यालय भवन, विद्यालय र पानी जहाजमा उपयोगी हुनसक्छ।

अनुसन्धानकर्ताहरुका अनुसार भाइरस करिब तीन घण्टासम्म हावामा रहन सक्छ, तर, यो फिल्टरले आफू वरपर रहेको भाइरसलाई आफूतिर आकर्षित गरी तुरुन्तै नष्ट गरिदिन्छ।

संसारभर व्यवसाय फेरि सुरु हुन लाग्दा वातानुकूलित स्थानमा भाइरसको प्रसार रोक्नु चुनौतीपूर्ण छ।

फिल्टरको भित्री सतहलाई विद्युतबाट तताएर त्यसबाट बाहिर तापक्रम निकै कम प्रसार हुने विधिबाट यो फिल्टर बनाइएको छ। जसका कारण भवनको तापक्रममा फिल्टरको प्रभाव निकै कम पर्छ।

यो फिल्टरको प्रोटोटाइपको निर्माणपछि यसलाई रेनको प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यसपछि भाइरस नष्ट गर्ने यसको क्षमताका लागि ग्यालवेस्टन प्रयोगशालामा परीक्षण गरियो।

हावामा रहेका सार्स–सीओभी– २ र हावाबाट सर्ने अन्य भाइरस ब्याक्टेरिया मार्नका लागि यो फिल्टर अहिलेसम्म उपलब्ध प्रविधिमा सबैभन्दा अगाडि रहेको अनुसन्धानकर्ता बताउँछन्।

अनुसन्धानकर्ताहरुले यो फिल्टरले हावामा रहेको कोरोना भाइरसलाई नष्ट गरे पनि कोरोना संक्रमण रोक्न योमात्र पर्याप्त नभएको पनि बताएका छन्। उनीहरुका अनुसार आपसी दुरी र मास्कको प्रयोग जस्ता अन्य उपाय कायमै राख्नु पर्नेछ।

मटेरियल टूडे फिजिक्समा प्रकाशित सामाग्री।