मृत्यु भएका अन्य व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मृत्यु भएका अन्य व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका



काठमाडौं, भदौ २५ ।

मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् ।

यो सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो ।

१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्ट पनि त्यही नाममा थियो ।

पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए । तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ । हाल दुवै हिरासतमा छन् । तीन साताअघि उनीहरु पक्राउ परेका हुन् ।

मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईओटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए । सोही समूहले पासपोर्टमा उनीहरुको फोटो परिवर्तन गरिदिएको थियो ।

त्यही पासपोर्टबाट उनीहरु सन् २००२ मा अमेरिका पुगेका थिए । दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए । कसैले थाहा पाएन ।

यो १५ वर्षमा उनीहरु अमेरिकामा स्थापित भइसकेका थिए । छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन् । अब अमेरिका जान दुवैलाई गाह्रो थिएन । त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए । दूतावासमा दुवैले आफूहरु यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए ।

तर, औंठाछापबाट उनीहरुको अपराध पत्ता लाग्यो । औंठाछाप सामान्यतः कसैसँग मिल्दैन । तर, लाक्पा र थोक्पासँगै मिल्ने औंठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए । थप छानबिन गर्नेक्रममा उनीहरुले आफ्नो विगत लुकाउन सकेनन् । त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो ।

ब्युरोले सामान्य सोधपुछपछि उनीहरुमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो । प्रहरीले उनीहरुलाई राहदानी एनेअनुसार अनुसन्धान अघि बढाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले बताए ।

अध्यागमन ऐनअनुसार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विभागका निर्देशक शम्भु मरासिनीले जानकारी दिए ।

नयाँ पत्रिका