अमेरिकासँग बदला जसरी पनि लिन्छौं: आइएसआइएस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकासँग बदला जसरी पनि लिन्छौं: आइएसआइएस



एजेन्सी । आतङ्ककारी संगठन इस्लामिक स्टेट, आइएसआइएसले बिहिबार मात्र आफ्नो नेता अबु बकर अल–बग्दादीको अमेरिकी हमला पश्चात् सिरियामा मृत्यु भएको स्वीकार गरेको छ भने यसका लागि अमेरिकासँग बदला लिने प्रतिज्ञा पनि गरेको छ । २०१४ देखि २०१७ का बीच बग्दादीले इराक र सिरियाका धेरै क्षेत्रहरुलाई कब्जामा लिँदै आइरहेका थिए । तर अमेरिका द्वारा नेतृत्व गरिएको हमलामा उक्त समुह विभाजित भएको हो ।

यस्तोमा मृत नेता बग्दादीका उत्तराधिकारीका रुपमा अबु इब्राहिम अल–हासेमी अल–कुरेसी नामक नयाँ नेता नियुक्त गरिएको र बग्दादीको मृत्युको खबर साँचो भएको संगठनले एक अनलाइन पोस्टमा अडियो टेप मार्फत स्पष्ट पारेको हो । इस्इलामिक स्टेट सम्बन्धी अनुसन्धानकर्ता एमेन अल तलामीका अनुसार सो नाम यसअघि कहिल्यै सुनिएको थिएन तर हज अब्दुल्लाका नामले चिनिने नेतृत्वकर्मी उनी नै हुन सक्ने बताइएको छ । अमेरिकी विभागले यसअघि नै तिनलाई नयाँ उत्राधिकारी हुन सक्ने अनुमान गरिसकेको थियो ।

विश्लेषकहरुका अनुसार उनी इराकका नागरिक र बगदादीका सबैभन्दा नजिकी सहकर्मी हुन सक्छन् । त्यसैगरी इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिरको मृत्यु सम्बन्धी पनि जानकारी सार्वजानिक गरेको हो । यस्तोमा नयाँ प्रवक्ता अबु हाज्मा अल कुरासीले उक्त अडियो टेपमा भनेका हुन्, ‘अमेरिका बग्दादीको मृत्युसँग धेरै खुसी नहोऊ । के तिमीलाई थाहा छैन आइएस आज युरोपको ढोकामा छ भने अफ्रिकाको केन्द्रमा पुगिसकेकोछ र हामी त्यहिँ रहेर बिस्तारै पश्चिमतर्फ फैलिरहेका छौँ ।” अमेरिकाले आगामी दिनहरुमा धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताउँदै उनले धम्कीपूर्ण सन्देश पोस्ट गरेका हुन् ।

यस्तोमा अब समुहको नेताको मृत्युले उनीहरुको क्षमतामा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा सबैतिर छलफल भइरहेको छ । तर अझैपनि आइएसआइएसको घृणात्मक प्रचार धेरैका लागि आकर्षक रहँदै आएको र मुसल्मान सम्बन्धी उनीहरुको विचारधारा पनि सजिलै नहट्ने बताइएको छ । प्रमुख नेता र प्रवक्ता मारिँदैमा आफूहरुको सम्पूर्ण योजना खतम नभएको भनि अडियोमा पनि बारम्बार भनिएको छ । बग्दादीको मृत्यु पश्चात आइएसआइएसले इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकमा भएका दर्जनौँ हमलाहरुको जिम्मेवारी पनि लिएको हो । – रोयटर्स