फिल्म क्षेत्रबाट सन्यास लिँदै अमिताभ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फिल्म क्षेत्रबाट सन्यास लिँदै अमिताभ



एजेन्सी: बलिउड सुपरस्टार अमिताभ बच्चन (बिग बी)ले स्वास्थ्य अवस्थाको कारण फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने संकेत दिएका छन्। उनले ब्लगमार्फत फिल्म क्षेत्रबाट ‘रिटाएर’ हुने संकेत गरेका हुन्।

अमिताभले ब्लगमा लेखेका छन्, ‘म अब रिटाएर हुनुपर्छ। दिमागले अर्कै सोचिरहेको छ भने औँलाले अर्कै, यो सब इशारा नै हो।’

त्यसो त अमिताभ केही समयअघि इन्फेक्सनको कारण अस्ताल भर्ना भएका थिए। केही दिन आराम गरेर फेरी अमिताभले भारतीय चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’, सिजन ११ को सुटिङ थालेका थिए।

‘कौन बनेगा करोडपति’ बाहेक उनी फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमा पनि व्यस्त छन्। ‘ब्रह्मास्त्र’मा अमिताभसँगै रणवीर कपूर र आलिया भट्ट मुख्य भूमिकामा छन्।

सन् १९६९ को फिल्म ‘सात हिन्दुस्तानी’बाट बलिउड प्रवेश गरेका अमिताभले यसअघि सन् १९८४ देखि १९८७ सम्म तिन वर्ष बलिउडबाट ब्रेक लिएका थिए। त्यति बेला उनी आफ्नो साथी राजीव गान्धीको समर्थनमा राजनीतिमा उत्रेका थिए। तीन वर्षको अन्तरालपछि उनले फिल्म ‘शहिंशाह’बाट बलिउडमा धमाकेदार कमव्याक गरेका थिए। त्यसपछि उनी लगातार फिल्म क्षेत्रमा सक्रिय रहे।  

सन् १९९२ मा फिल्म ‘खुदा गवाह’ रिलिज भएपछि अमिताभ फेरी बलिउडबाट पाँच वर्ष हराए। तर बीचमा १९९४ मा उनी अभिनित फिल्म ‘इन्सानियत’ रिलिज भयो। जसको सुटिङ उनले पहिला नै गरिसकेका थिए। तर त्यो फिल्म व्यापारिक रुपमा सफल भएन। त्यसको पाँच वर्षपछि अमिताभ स्टारर फिल्म ‘मोहब्बतेँ’ रिलिज भयो।

‘मोहब्बतेँ’पछि अमिताभ बलिउडमा निरन्तर सक्रिय छन्। त्यसो त अभिताभ बच्चनले बलिउडमा राज गरेको झण्डै ५० वर्ष पुरा भइसक्यो।