अनुभूति : बा बनेपछि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अनुभूति : बा बनेपछि



-केशु खण्डलुक मगर

म जन्मिनुभन्दा अघि नै बाले खाडीलाई आफ्नो कर्मभुमि बनाउनुभएको थियो। म आमाको गर्भभित्रै तातो राप सहिरहेको थिएँ, जब बा पानीसमेत तातो पिउनुपर्ने खाडीतिर पस्नुभएको थियो।

दशैंको बेला थियो। गाउँमा दशैं होहोल्ला गर्दै हिँडिरहेको थियो। सबैले माटो र कमेरोले घर सिँगारेका थिए। सबैको घर आफ्नै खुशीले बिहे गर्न राजी भएकी बिहेको माण्डपमा जानको लागि तयार युवती जस्तै देखिएको थियो, धपक्कै बलेको। चमक उस्तै। रौनक उस्तै।

कान्छाकाकाले गाजली (पहाडतिर पाइने एकप्रकारको घाँस) पकाएर त्यसैबाट निस्किने कालो रङले बरान्डाका बारहरु पोत्नुभएको थियो। हाम्रो घरपनि कसैको भन्दा कम देखिएको थिएन। हाम्रो परिवारमा पनि खुशीहरु रोधी बस्ने गरि आउने तरखरमा थियो किनभने बाले दशैंमा घर आउने कुरा चिट्ठीमा गर्नुभएको थियो। सायद सबैभन्दा खुशी बज्यै, माँ र म थियौं। जे होस्, हाम्रो लागि दशैं साँच्चिकै दशैं बन्ने पक्का थियो।

तर

दशैं आँगनमा आइपुग्यो, बाको कुनै खबर आएन। त्यो बेला अहिलेको जस्तो ईन्टरनेटको जमाना थिएन। गाउँमा फोनको ब्यबस्थासम्म थिएन। चिट्ठीले नै सम्बन्धलाई बोकिरहेको समय थियो।  हेर्दाहेर्दै दशैं ढोकाभित्र पसिसक्यो तर न बा आउनुभयो न कुनै जानकारी। सायद टीकाको दिन थियो, साँझपख गाउँको एकजना बाजे घर आउनुभयो। म आमाकै काखमा लडीबुडी गरिरहेको थिएँ। साइनोले उहाँ बज्यैको दाइ पर्नुहुन्थ्यो। बाको मामा पर्नुहुन्थ्यो, आमाले काका भन्नुहुन्थ्यो।

‘ नानी! भान्जाके च्यो ह्याले मसेच्यो छाना हो, मिन्याङ च्यो इसै बेलाङ्ग सम्म च्यो इमाङ टाङ्के परिस्के।’ बाजेले सुंगुरको चोक्टासित कोदोको रक्सी चिरिप्प पार्दै भन्नुभयो।

त्यो बेला इराकमा १२ जना नेपाली मारिएको घट्ना बासी भएको थिएन। कतै आमाको पापी मनले त्यता पो सोच्नुभयो कि ? आमा डाँको छोडी रुनुभयो। आमा रुनुभएपछि बज्यै रुनुभयो। उहाँहरु सबैजना रुनुभएपछि मैले आफुलाई सम्हाल्न सकिनँ। म पनि रोईदिएँ।

हाम्रो त्यो दशैं दशैं जस्तो भएन। हामीलाई खुशी पार्न भनेर आएको दशैंलाई हामी आफैले दुखी बनाएर पठाईदियौं। दशैं फेरि एकवर्षपछि भेट्ने वाचा गर्दै गयो। त्यसको केही दिनपछि बाको चिठ्ठी आयो। बाले चिट्ठीमा कम्पनीको कोहि ठूलो मान्छेको आफन्त बितेका कारण छुट्टी नपाएको र तिहार मनाउन आइपुग्ने खबर लेख्नुभएको थियो।

सायद जानी नजानी बालाई सम्झेर रोएको त्यो मेरो पहिलो रुवाई थियो।

००००

म परिवारकै जेठो नाति, जेठो छोरा, जेठो भदै अनि जेठो भतिज थिएँ। सबैको प्यारो थिएँ। सायद गाउँमा कसैसङ्ग बढी खेलौना हुन्थ्यो भने त्यो बेला मेरो नामपनि अग्रस्थानमा आउँथ्यो। बाले मलाई हरेकपटक आउँदा केही न केही विषेश उपहार ल्याउनुहुन्थ्यो।

म भने बाल्यकालमा साह्रै लजालु थिएँ। बासित अझै बढी लजाउथें। बा २/३ वर्षमा मात्रै घर आउनुहुने भएर होला, बासित त्यत्ति धेरै संगत गर्न पाइनँ। यद्यपि बा घर आउने बित्तिकै मलाई खोज्नुहुन्थ्यो, म भने पर पर भाग्थें। डराउँथें। म दौडिन्थें। कतै लुक्थें तर बाले मलाई जसरी पनि खोजिसक्नुहुन्थ्यो। लाग्थ्यो,

बुवाहरुले त सन्तानको शरीरको गन्ध समेत चिन्न सक्नेरहेछन्। सन्तानहरुको गन्धले समेत बा हरुलाई आकर्षित गर्ने रहेछन्।

सानो हुँदा बासङ्ग मैले कहिल्यै गुनासो गरिनँ। नढाँटी भन्नुपर्दा बाले कहिल्यै गुनासो राख्ने ठाउँ नै दिनुभएन। गाउँकै सही, बोर्डिङमा पढाउनुभयो। मैले त्यहीँ ए फर एप्पल देखि जेड फर जेब्रा भन्ने पढें। क बाट कमल देखि ज्ञ देखि ज्ञानीसम्म लेखें। १ देखि १०० सम्मका अंकहरु पढ्न सिकें। बुझ्न सिकें। सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले जिन्दगी त्यहीँबाट पढ्न सुरु गरें।

बाले हेलिकप्टर ल्याइदिनुहुन्थ्यो, मैले त्यसैमा दुखहरुलाई उडाउन सिकें। दुर्बिन ल्याईदिनुहुन्थ्यो, मैले त्यसैबाट टाढा टाढा रहेका खुशीहरुलाई नजिकबाट हेर्न सिकें। खोज्न सिकें। बाले बन्दुक ल्याउनुहुन्थ्यो, मैले त्यसैबाट कति निराशालाई गोलीले हानेर सिध्द्याईदिएँ र आशाहरु जगाएँ। बाले जुत्ताहरु ल्याईदिनुहुन्थ्यो, मैले त्यसैबाट रहरका अप्ठ्यारा बाटोहरु हिड्न सिकें। बाले नयाँ नयाँ कपडाहरु ल्याउनुहुन्थ्यो, मैले त्यसले आफ्नो संस्कार छोप्न सिकें। बाले गाडी ल्याउनुहुन्थ्यो, मैले त्यसैबाट हारजित/सफलता र असफलताको ढुवानी गर्न सिकें। जे होस्, सानोमा मेरोलागि मेरो बा भगवान बन्नुभयो तर कहिल्यै मन्दिरमा बस्नुभएन, बरु मनमा बस्नुभयो। सबै भगवानहरु मन्दिरमा भेटिदैनन् भन्ने सत्य मेरो कलिलो दिमागले त्यति बेलै बुझिसकेको थियो।

घडीका सुईहरु निरन्तर घुमिरहँदा मेरो शारीरिक बिकास वृद्धि हुँदै गयो। बिस्तारै म बुझ्ने बन्दै जान थालें, सायद सबैभन्दा ठूलो घमण्ड यही थियो कि मैले आफैलाई बुझ्ने ठान्न थालें। मलाई लाग्न थाल्यो, मेरो बा बिस्तारै परिवर्तन हुँदै जानुभएको छ। मलाई कहिल्यै लागेन, मैले सानोमा बालाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ भनेर।

मेरो बुझाईमा भन्नुपर्दा बा साँच्चिकै फेरिदैं जानुभएको थियो। मैले बाबाट जुन अपेक्षा राख्थें, त्यो पाउँदिनथें। घरको अवस्था झन्झन् बिग्रदै गएको थियो। माँ सधैभरी रोईरहनुहुन्थ्यो। म माँको आँखामा कहिल्यै आँसु देख्न सक्दिनथें। माँलाई म कहिल्यै दु:खमा देख्न सक्दिनथें। माँको आँखामा बढी नै आँसु देख्न थालेपछि म बासङ्ग बिस्तारै झगडा गर्न थालें।

परदेश कोहिपनि सपना नबोकी गएका हुदैनन्। घरबाट हरियो पासपोर्ट बोकेर हिड्नेबेला कति हरिया सपनाहरु रोपेका हुन्छन् मान्छेहरुले, फरक यत्ति त हो कसैका सपना हुर्किन्छन्। कसैका सपना जरा हाल्न नपाई सुकेर जान्छन्।

तर मलाई लाग्थ्यो, मेरो बाले हुर्किसकेको सपनाका हाँगाहरुलाई पनि आफैले काटेर राखेका छन्। बुझ्ने कोशिस गर्न खोजिनँ, किन बा ले त्यस्तो गर्नुभएको छ ?

बिस्तारै बा सङ्ग मैले झगडा गर्न थालें। मैले बा मा धेरै दोष देख्न थालें। म बासङ्ग झर्केर कुरा गर्थें। रिसाउँथें। कराउँथें। सोचें, आमाको आँसुको कारण नै बा हुनुहुन्छ। त्यसपछि बासङ्गको सम्बन्ध पानी पानी हुन थाल्यो। तर बा कहिल्यै पानी बन्नुभएन, बरु आगो बन्नुहुन्थ्यो र आफै निभ्नुहुन्थ्यो। सायद त्यो बेलाको परिस्थिति नै त्यस्तौ थियो, कुनै समय म बालाई सक्दो घृणा गर्थें।

००००

समयले मलाई कम उमेरमै समाजिक बन्धनमा बाँधिदियो। मैले बिहे गरें, सायद त्यो समयको माग थियो। मैले जे गरें, ठीकै गरें। केही वर्षपछि हामी जिन्दगीको एउटा अनौठो समीकरणमा पस्यौं। हामी दुईजनाबाट तीनजना भयौं, अर्थात म बाउ भएँ।

छोरा जन्मिनुअघि म धेरै नामहरु सोचिरहन्थें उसका लागि। जस्तो छोरी भए इभा, इभान्जेलिना, क्याट्रीना, ट्वींकल। अनि छोरा भए ज्याक, निल, डेविड, रिदम आदि आदि। ऊ छोरा भएर जन्मियो। न्वारानको नाम रिदम भएपनि मैले उसको नाम डेविड राखिदिएँ। त्यसो त डेविड ब्यकह्याम मेरो मनपर्ने खेलाडी। जिन्दगीमा आइलाग्ने शत्रुहरुलाई छक्क्याएर सजिलै सफलता नामको गोल गर्न सकोस् भनेर मैले त्यही नाम राखिदिएँ।

बल्ल मैले बिस्तारै सम्झिन थालें आफ्नै बालाई, जसले मलाई म जन्मिनुअघि मैले जस्तै धेरै नामहरु सोच्नुभएको थियो। जस्तो छोरा भए अक्षयकुमार, मिथुन, संजय अथवा छोरी भए निरुता, रेखा, करिश्मा आदि इत्यादि।

सायद आफ्नो छोराको जन्मदर्तामा बुवाको नाममा आफ्नो नाम लेख्न पाउँदा एउटा बाले पाउने जस्तो खुशी सायदै मिल्ला अरु कसैलाई। मेरो बाले पनि त मेरो जन्मदर्तामा बुवाको नाममा आफ्नो नाम लेख्नुभएको बेला कति खुशी महसुस गर्नुभयो होला है ? मैले आफैसित प्रश्न गर्न थालें।

छोरा भर्खर जन्मिँदा कति सानो थियो। उसको ज्यान हेरेर मेरो शरीर भरी काँडा पलाउँथ्यो। ज्यान सिरिङ्ग भैइजान्थ्यो। म उसलाई राम्ररी हेर्न सक्दिनथें। मलाई डर लाग्थ्यो। मलाई त विश्वास गर्नै गाह्रो हुन्थ्यो कि मपनि भर्खर जन्मिँदा यस्तै थिएँ। ऊ खुब रुन्थ्यो। उसकी आमा थकानले निदाउँथिन्। म कोक्रोमा उसलाई हल्लाईरहन्थें। यसो गर्दा ऊ शान्त हुन्थ्यो। जब म निदाउथें, ऊ रुन सुरु गरिहाल्थ्यो।

त्यत्रो बच्चाले पनि आमाबाबुको प्रेम, स्पर्श महसुस कसरी गर्न सकेको होला जस्तो मलाई लाग्थ्यो। तर म छिट्टै निदाउँथें। उसकी आमा उठ्थिन् र उसलाई स्याहारसुसार गर्थिन्। करिव करिव छ महिना हामी आधी रात निदायौं। कहिले त निदाएनौं। तर हामीले ननिदाएरै पनि सपना देखिरहेका थियौं। हाम्रो सन्तान हाम्रो लागि सपना थियो। खासमा सबैका आमाबुबाका लागि आफ्ना सन्तानहरु सपना नै बन्नेरहेछन्, जुन सपनालाई बिट मारेर आमबुवा कहिल्यै ब्युँझिन चाहदैनन्।

त्यत्ति सानो करिव साढे दुईकिलो बच्चालाई साढी साठी किलो बनाउन कति बुवाआमाले कति कष्ट सहेका होलान् ? म यस्तै सोचिबस्थें। झन् मेरो आमाबुवाले मलाई एउटा छोराको बाउ हुन सक्ने बनाउन कति रात अनिँदो बस्नुभयो होला ? म एउटा सपनालाई हुर्काउन कति सपनाबाट बिचैमा ब्युँझिनुभयो होला ? कति सुन्दर सपना त देख्नु नै भएनन् होला ? म यस्तै यस्तै सोचिबस्थें रातभर।

खासमा एउटा छोरा हुँदा नसिकिने धेरै कुराहरु एउटा छोराको बाउ भएपछि बुझिनेरहेछ। खासमा मलाई मेरो छोरा गुरु लाग्न थाल्यो, जसबाट मैले जन्मेको २१ वर्ष हुँदासम्म नसिकेको ज्ञानहरु सिकें। मलाई मेरो छोराले बालाई प्रेम गर्न सिकायो। मैले बालाई झन् पहिलेभन्दा बढी प्रेम गर्न थालें।

 खासमा एउटा सन्तान मात्रै हुँदा नबुझिने आमाबुवाको प्रेम एउटा बुवा बनेपछि बुझिनेरहेछ। खासमा मैले बालाई बुझ्न नसकेको रहेछु। खासमा बा भनेको बा नै रहेछन्।

०००००

छोरा बिरामी भैइरहन्थ्यो। ऊ बोल्न सक्ने भएको थिएन। हामी आफै बुझ्नुपर्थ्यो उसलाई के भएको छ भन्ने। कहिलेकाही त रिसै पनि उठ्थ्यो। तर त्यो रिसमा पनि एउटा सन्तानमोह मिसिएको हुनेरहेछ। नजिकै मेडिकल थियो। केही भैइहाल्यो भनेपनि कुनै ठूलो चिन्ता लिनुपर्दैनथ्यो। तर जब म मेरै छोराको उमेरको थिएँ, नजिकै मेडिकल थिएन। त्यो बेला मेरी आमाले मलाई कसरी बचाउनुभयो होला? मेरो बुवाले आफ्नो सन्तान बिरामी भएपछिको पिडालाई कसरी सहनुभयो होला ? मपनि त आफ्नो समस्या बताउन सक्ने भैइसकेको थिइन होला, मेरो आमाबुवाले केशुलाई यस्तो भएको छ भनेर कसरी बुझ्नुहुन्थ्योहोला ? मलाई खासमा एउटा बुवा बनेपछि यस्तै यस्तै कुराले सोच्न बाध्य बनाउँथ्यो। मेरो आमाबुबाप्रतिको सम्मानलाई मैले बिस्तारै उकालो चढाउँदै लाग्न थालें।

जबजब म छोरालाई हेर्थें, मलाई एउटा बाउ भएको बोधले छोपिहाल्थ्यो। जब म आफुलाई एउटा बाउ भएको पाउथेँ, म मेरो बालाई सम्झिहाल्थें। आमालाई सम्झिहाल्थें।

कसैले आफ्नो सन्तानलाई आफुलाई भन्दाबढी प्रेम किन गर्छन् होला ?- अक्सर म यस्तै प्रश्नको उत्तर खोजिरहन्थें। तर मैले उत्तर तब भेटें, जब म कसैको बाउ बनें। खासमा आमाबुवाले आफ्नो सन्तानको मुहारमा आफ्नै आमाबुवालाई भेट्दा रहेछन्, पाउँदारहेछन्।

आफ्नै नाबालक छोरा सधैंभरी आफ्नै वरपर हुँदापनि कतै घाँस काटेर आएपछि घासको भारी नफाल्दै आफ्नो सन्तानलाई किन खोज्छन् होला मान्छेहरु? जब आफु कतै चर्किलो घाममा हिडिरहँदा किन सम्झिन्छन् होला मान्छेहरु कि कतै आफ्नो सन्तानलाई साझँ ज्वारो आउने त होइन भनेर ? आफू कतै झरीमा भिजिरहँदा कसरी सोच्छन् होला कि कतै आफ्नो सन्तानलाई निमोनिया त हुने हैन भनेर ? आफुले कतै मीठो खानेकुरा खाईरहँदा कसरी सोच्छन् होला कि मेरो सन्तानले कति मीठो मानेर खान्थ्योहोला भन्ने कुरा? कही कतै आफ्नै सन्तान जत्रै केटाकेटी खेलिरहँदा कसरी भन्छन् होला मान्छेले मनमनै कि ‘बाबू यहाँ नखेल्नु। बिरामी भैइन्छ ।’ भनेर ?

यस्ता धेरै धेरै सवालको सुन्दर जवाफ तब भेटिँदो रहेछ जब आफू कसैको बाउ बनिदोँरहेछ। जब मलाई छोराले आफ्नो प्रेम दर्साउन थाल्यो, मैले मेरो बा माँलाई झन् बढी प्रेम दर्शाउन थालेँ।

आजकल म घरबाट टाढा छु तर चाहें भने मेरो छोरासङ्ग म फोनमा कुरा गर्न सक्छु। भिडियो कल गरेर उसको मुहार हेर्न सक्छु। भेट्नै मन लागे म घर पुग्न सक्छु। तर खाडीमा बस्नुभएको बालाई आफ्नो सन्तान हेर्न मन लाग्दा, कुरा गर्न मन लाग्दा अझै बल्ल एकवर्षपछि छुट्टी मिल्नेछ भन्ने सोच्नुभएको बेला उहाँको मन कति पोल्थ्यो होला ? खाडीको घामले पोलेको ज्यान भन्दा सन्तानको मायाले पोलेको मन कसरी शीतल बनाउनुहुन्थ्यो होला ? बरु सन्तानको मुख हेरेरै आफ्नै देशमा बाँच्छु भनेर फर्किन मन गरेको बेला साहुले पासपोर्ट नदिँदा कस्तो हुन्थ्योहोला मन ? साँच्चिकै कति पोल्थ्योहोला है बाको मन ?

मैले बिस्तारै बासङ्ग झर्किन छोडें। पहिलेभन्दा अझै बढी प्रेम गर्न थालें। सम्मान गर्न थालें। मलाई आफू बाउ बनेपछि झन आफ्नो बाको महत्व बुझें। बाले गर्नुभएको त्याग बुझें।

‘ बा ! अब घर आउनुस्। जे गर्नुपर्छ, हामी गर्छौं।’ म भनिरहन्थें।

‘ केशु! म हुँदासम्म म गरिहाल्छु नि।’ बा यस्तै भन्नुहुन्थ्यो। अझैपनि बा हामीलाई त्यो सानो बच्चा सोच्नुहुन्थ्यो सायद, जस्तो मलाई अझैसम्मपनि आफ्नो छोरा त्यै साढे दुई किलो हुँदाको जस्तो लाग्छ।

करिव आफ्नो जीवनकालको २५ वर्षे वैदेशिक रोजगारीको यात्रालाई सधैंको लागि बिट मार्दै अहिले बा घरमै बस्नुभएको छ र आफुले जन्माउनु भएको छोराको पनि छोराको राम्रो साथी बन्नुभएको छ।

म आजकल बालाई एउटै कुरा भनिरहन्छु,

‘ बा! हजुरले हाम्रो लागि जति त्याग, दुख, कष्ट, मिहेनत गर्नुभयो नि, त्यत्ति नै दुख, त्याग, मिहेनत मैले मेरो छोराको लागि गर्न सकें भने, आफुलाई संसारको भाग्यमानी पिता सम्झिनेछु।’

००००

केशु खण्डलुक मगर

निस्दी-०६, पाल्पा