गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीद्वारा स्थायी आदेश जारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीद्वारा स्थायी आदेश जारी



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ ।

यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य ‘विभागीय स्वीकृति’ लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो ।

आदेशबाट ‘आफू खुसी भेटघाट गर्ने परम्परा अन्त्य हुने’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको विश्वास छ । उनका अनुसार अब भेटघाट गर्नुपरे अनिवार्य स्वीकृति लिनुपर्ने छ ।

त्यस्तै, सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनका तर्फबाट सम्बन्धित कर्मचारीका नाममा जारी ‘रवानापत्र वा तोक आदेशपत्र’ साथमा लिई जानुपर्ने छ । यसैगरी, कूटनीतिक भेटघाट सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी ‘कूटनीतिक आचारसंहिता, २०६८’मा उल्लेख भएअनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

साथै, सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि र विभिन्न सञ्चारमाध्यसँग सम्पर्क एवं अन्तर्वार्ताका लागि दुईवटा स्वीकृतिको निवेदन फारमसमेत जारी गरेको छ ।

भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्रांकित अधिकृतले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालबाट सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षक सचिवालयमार्फत् स्वीकृति लिनुपर्नेछ ।

राजपत्र अनंकित कर्मचारीले आफू कार्यरत कार्यालयमार्फत् सिलसिलेवार मानवस्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्नेछ र सो स्वीकृतिको जानकारी मानवस्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनुपर्नेछ ।

स्वीकृति लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षक सचिवालयमा दिनुपर्ने छ । साथै, सो स्थायी आदेशमा ‘विभिन्न सञ्चारमाध्यमा सम्पर्क तथा सूचना आदानप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना अधिकारीले बलको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने’ भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीबाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले सञ्चारमाध्यममा कुनै पनि सूचना सम्प्रेषण गर्नुपरेमा वा अन्तर्वार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिएअनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्तामार्फत् महानिरीक्षकको स्वीकृति लिनुपर्ने सहायक प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक थापा बताउ“छन् ।

सो आचरणसम्बन्धी स्थायी आदेश कडाईसाथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाईलाई निर्देशन दिइसकेका छन् । ‘कुनै पनि कर्मचारीले आचरणसम्बन्धी स्थायी आदेशविपरीत कार्य गरेको पाइए सशस्त्र प्रहरी नियमावलीबमोजिम कडाभन्दा कडा विभागीय सजाय गरिने संगठनको नीति रहेको छ ।