एप्पललाई ठुलो जरिवाना: पुराना आईफोन ‘स्लो’ गरेको अभियोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एप्पललाई ठुलो जरिवाना: पुराना आईफोन ‘स्लो’ गरेको अभियोग



एजेन्सी- आईफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई फ्रान्सको नियामकले पुराना आईफोन ‘स्लो’ गरेको भन्दै २ करोड ५० लाख यूरो जरीवाना गरेको छ ।

प्रयोगकर्तालाई कुनै जानकारी नै नदिई आईफोन स्लो गरिएको फ्रान्सको प्रतिस्पर्धा तथा ठगीको नियामक डीजीसीसीआरएफले बताएको छ ।

सन् २०१७ मा एप्पलले केही आईफोन स्लो गरेको थियो । तर, एप्पलले उक्त डिभाइसको आयु बढाउन यस्तो कदम चालेको बताएको छ ।

उसले यो मुद्दा सुल्झिसकेको बताएको छ । धेरै प्रयोगकर्ताले भने एप्पलले प्रयोगकर्तालाई नयाँ आईफोन किन्न लगाउन पुरानो आईफोन स्लो गर्ने गरेको आशंका व्यक्त गरेका छन् ।

एप्पलले सन् २०१७ मा आफ्ना केही मोडल स्लो गरिने बताएको थियो । तर, प्रयोगकर्तालाई नयाँ किन्न बाध्य पार्नु आफ्नो उद्देश्य नरहेको उसको भनाइ थियो ।

एप्पलले लिथियम आयोन ब्याट्रिबाट चल्ने स्मार्टफोनले पुरानो हुँदै गएपछि माग अनुसार विद्युत् प्रवाह गर्न नसक्ने भएकाले उक्त डिभाइस स्लो गराइएको दाबी गरेको छ ।

आफ्नो आईफोन स्लो भएपछि प्रयोगकर्ताले यसको फरफरमेन्स सार्वजनिक गरेका थिए । आईफोन ६एस पुरानो हुँदै गएपछि स्लो हुँदै गएको पाइएको थियो ।

तर, त्यसमा नयाँ ब्याट्रिको प्रयोग गर्दा एक्कासी पुनः ‘फास्ट’ भएको थियो । फ्रान्सका नियामकले आईओएसको नयाँ भर्सन अपडेट गर्दा स्लो हुने समस्या हराउँछ भन्ने जानकारी एप्पलले प्रयोगकर्तालाई नगराएको बताएका छन् ।