स्थानीय निर्वाचन: तरमारा ठुला दलहरु भर्सेज राप्रपा-साझा एकता « Himal Post | Online News Revolution
Logo

स्थानीय निर्वाचन: तरमारा ठुला दलहरु भर्सेज राप्रपा-साझा एकता



  • सुदन ज्ञवाली

बैशाख ३० को दिनलाई स्थानीय तहको चुनाव गर्ने भनेर घोषणा गरिएको छ । सत्ता र स्वार्थ केन्द्रित राजनैतिक गठबन्धनहरु बनिरहेका छन् । स्थानीय चुनावलाइ गैरराजनीतिक बनाएर सुशासन क्षमता र बिकास केन्दृत बनाउने, विदेशिएका नेपालीले भोट हाल्ने अवसर दिने देखि  डिजिटल मतदानको चर्चा भएपनी प्रमुख राजनैतिक पार्टीहरुले चुनावी नोक्सानी बेहोर्नु पर्ने भएका कारणले सरकार र निर्वाचन आयोगले कार्यान्वयन गर्न सकेन।

५ बर्ष अघि चुनाव जितेर मेयर अध्यक्ष सदस्य भएका जुन दलको घोषणापत्रमा भ्रम बाँडेका थिए जुन चिन्ह र झण्डामुनी गोलबन्द भएर चुनावभरी भ्रष्टाचार गरेको पैसो खर्चेर पिकनिक मनाएका थिए, त्यही सङ्गठनको आडमा स्कुल, वन, खानेपानी, मन्दिर, चौपारीहरुमा अखडा जमाएर दोहन गरेका थिए । वडादेखि गाउँ, नगर, महानगरको सरकारी भान्सामा ज्युनार गरेका थिए । सत्ता र शक्तिको आडमा ब्रह्मलुट गरेका थिए तिनैलाइ फेरि जिताएर पुरानै ५ बर्षको असफल शासन दोह्राउन र जनतालाई अभाव गरिबी बेरोजगारी र निरीह प्राणिमा कैद गर्न गाउँ घरमा धमाधम चुनावी कार्यालयहरु खुल्दैछन् ।

निरीह जनता प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भनेर आवधिक निर्वाचनलाई वाहिवाही गर्दै छन्।

भागबन्डाको राजनितिमा जागिर चाहिए नेता, टोल समिती सदस्य चाहिए नेता,  सरकारी अस्पतालमा आइसियु चाहिए नेता, मुद्दा परे नेता पुलिस चौकिमा जान परे नेता, करले समाए नेता, घरझगडा परे मिलाइदिने नेता, कुनै सिफारिस चाहिए नेता, ठगिए गुहार गर्न परे नेता मात्र होइन ठगेर लुटेर मान्छे मारेर बच्नु पर्यो भनेपनि नेता चाहिने भएपछी निरीह जनताले नेताको पछि नलागेर कस्को पछि लागुन ।

समृद्ध मुलुक निर्माणको भोक भएपनी हिजो आज र भोलिका दैनिक समस्या र चाहना  प्रधान हुन् । चुनाव नहुदै चुनावमा बाडिने जन परिचालन खर्च, स्वयंसेवकको भत्ता र सुपरिबेक्षणका नाममा जनता भन्दा फरक देखिने ब्याचको बिल्लाबाट शुरु हुने अवसर भुलेर देशको बारेमा सोच्ने सम्झिने फुर्सद कस्लाइ पो छ  ? सोंच आइहाले पनि  के गर्नु जात फेरिन्छ, धर्म फेरिन्छ, देश फेरिन्छ तर दल फेर्न र मत फेर्न गाह्रो छ ।

देश परिवर्तन गर्न मत परिवर्तन गर्नुपर्छ भन्ने हेक्का भएपनि मन परिवर्तन गर्न नसकेपछि मत परिवर्तन हुने कुरो भएन, किनकी यो मन त मेरो नेपाली हो ।  

 ५ बर्ष मुलुक नगर वडाको  नेतृत्व गर्न पाउनु उक्त क्षेत्रको भविष्य निर्माणको लागि कम समय होइन केजरीवालले दिल्लीमा ५ बर्षमा काम गरेर देखाए, जस्को कारण अहिले पन्जाव जिते  तर हामी बिनासित्तै उदार भावले उहीँ असफल पात्र प्रवृत्ति दोहोर्याइ तेहेर्याइरहेका छौ ।

शहिदहरुले मुलुकको भविष्य निर्माणको लागि ल्याएको प्रजातान्त्रिक अधिकारलाइ मुलुकको चाहना बिपरित पटकपटक  प्रयोग गरेर देशप्रती गद्दारी गर्दै मात्र छैनौ गणतन्त्र समेत धरापमा जाँदै छ ।

सिङ्गापुर स्विजरल्याण्ड बन्ने घरघरमा ग्यास पाइप आउने, प्रतीब्याक्ती आय ५००० डलर बनाउने, पानीजहाजमा कलकत्ता पुग्ने हावादारी गफ र सपनाहरु आज रिणात्मक भएर परिणाम शून्य अवस्थामा गुज्रिइरहेको दशकौँ भैसक्दा पनि अतिराजनितिकरणको कारण दास चेतना कैद छ, बदलिएको छैन।

शिक्षा स्वास्थ्य रोजगारी बिकास र सुशासनमा गत्तिलो एउटा उदाहरणिय काम गर्न नसके पनि पुनः बिजय हुन उही चिन्ह, झन्डा, दल र नेताको हल्लाबोल शुरु भैसकेको छ । 

सामरिक रुपमा असफलता तर्फ उन्मुख यो यात्रिलाई अग्रगमन भन्न खोज्नेहरुले यस्को विकल्प र समाधान प्रस्तुत गर्दा फरक मतलाई पश्चगमनको बिल्ला भिराइदिएपनि इतिहासले अग्रगमन र पश्चगमनको मुल्यांकन गरिरहेको हुन्छ ।

सत्य र असत्य  सहि र गलत सक्षम र असक्षम को चुनावले उचित लेखालेखा गर्न सके मात्र लोकतन्त्र बलियो हुन्छ । एउटा माखा मारे सरहको काम गर्न नसक्ने तरमाराहरुले जितिरहनु भनेको परिवर्तनले हार्नु हो । चित्त नबुझ्न सक्छ, परिवर्तनले हार्नु भनेको पश्चगमनले जित्नु होइन परिवर्तन देश काल परिस्थिती विपरित थियो र त्यसलाई देश काल परिस्थिती बमोजिम सुधार गर्नु हो । 

देश भित्र र बाहिर गाउँ र शहरमा नयाँ पुस्ता र पुरानो पुस्तामा नयाँ कम्पन आउनेगरी नयाँ राजनितिक परिस्थिती निर्माण नगर्दा जनता पुरानै स्वादमा आनन्द लिनेछन् । जनतालाई जतिपटक मेनु पल्ट्याएपनि म:म खान्छन भन्नूको साटो मेनुबाट म:म नै हटाउनेगरि नयाँ आँट साहस र निर्णय गरेर जाने हो भने परिणाम फरक आउनेछ ।

परिवर्तन जनहितमा हुन्छ भनेर परिवर्तनको मुख्य बाहक शक्ति माओवादीको पक्षमा ६४ सालमा माओवादीमा लहर आयो भने ७३ मा  एमालेको ओली नेतृत्वमा केन्द्रित भयो । ओली इतिहास योगदान र पृष्ठभुमिले परिवर्तनका एजेन्डाहरु आरक्षण संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको बिपक्षमा थिए । आगामी ७८ बैशाख ३० र त्यसपछिका निर्वाचनहरु परिवर्तनको नाममा भएका गल्तिहरुलाई सुधार्ने दिशामा जान जनता आतुर छन् र त्यो ‘ब्याक गियर’को लहर साझा राप्रपामा गएर विश्राम लिएर नयाँ मार्ग तर्फ लम्किनेछ ।

नेपाली समाजमा रहेको ‘कन्जरभेटिभ’ जनमतलाई नेपाली शैलीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले भारतिय जनता पार्टिका नेता नरेन्द्र मोदीको शैलीमा डोर्याउनेछन् भने कल्याणकारी लोकतन्त्रको आलोकमा डेलिभरीयुक्त सुशासन र समृद्धिको मोडेलको नेतृत्व रविन्द्र मिश्रले आम आदमि पार्टीका नेता अरबिन्द्र केजरिवालको शैलीमा डोर्याउनेछन् । सारमा एक अर्कामा परिपुरक वा फ्युजन भएर राजेन्द्र-रविन्द्रले डोर्याउने छन् ।

राप्रपा आफैमा पुरानो पार्टी भएका कारण परिपक्क र उमेर अवस्थाले पाका पुस्ताको सङ्गठन र राजनितीमा बर्चस्व छ । भने युवा पुस्ताक खडेरी छ । 

५ बर्ष अघि वैकल्पिक राजनिती मार्फत अघि आएको साझा पार्टीका मुख्य नेता रविन्द्र मिश्रले कल्याणकारी लोकतन्त्रको आलोकमा सुशासन समृद्धि र बिकाशको मुद्दा अघि सारेर डेलिभरीमा राजनिती केन्द्रित गर्ने भने पनि ज्ञान अनुभव र चेतनाको फेरवदलको कारण तथा भु-सामरिक रणनितिक महत्वको नेपाल र शक्तिशाली छिमेकीहरुको बीचको सम्वेदनशिलतालाई दृष्टिगत गरि मार्ग परिवर्तन गर्दा परिवर्तनका नाममा आएका एजेन्डाहरु देशको अहितमा रहेको ठहर गरेका छन् । 

मार्ग परिवर्तन: बिचारभन्दा माथी देश शिर्षकमा नया बहस थालेका रविन्द्र मिश्र र गाई बेचेर राजनितिक धनी बनेको आरोप लागेर पराजय बेहोरेका कमल थापालाई पछाडी पार्दै उदाएका राजेन्द्र लिङ्ग्देन एकठाउँमा आउँदा नेपाली राजनितीमा नया तरङ्ग पैदा हुनेछ ।

राजनैतिक बिचार लक्ष र एजेन्डामा समानता आएपछि चुनावी सहकार्य र पार्टी नै एकता गर्नेगरी प्रक्रिया अघि बढेको कुरा पछिल्लो हप्ता  सार्वजनिक भएको छ । 

राप्रपामा नभएको युवाचेतना उर्जा र नयाँपनको अभाव साझाले पूरा गराइदिनेछ भने साझामा नभएको परिपक्कता र देशव्यापी सङ्गठनात्मक संजालको अभाव राप्रपाले पूरा गरिदिनेछ।

पुर्व र पश्चिम फर्किएका काङ्ग्रेस माओवादी समेत सहकार्यमा गइरहेको बखत बिचार सिद्धान्त र एजेन्डामा सहमत राप्रपा र साझा पार्टीको मिलन नै मुलधारको नेपाली सस्थापन राजनितीक लाईनको बलियो ध्रुव निर्माण हो । जुन नेपालको वैकल्पिक राजनितिक भाष्य भन्दा धेरै माथिल्लो र अर्थपूर्ण गति प्राप्त गर्नेछ ।

प्राविधिक बिषयमा अलमलिएर इतिहासले दिएको अहम जिम्मेवारी पूरा गर्न रविन्द्र राजेन्द्र चुक्नु हुदैन, नाम चिन्ह संयोजक सहायक कुरा भएपनि सह-अस्तित्व देखिनेगरि जनजाति नेतृत्व राजेन्द्र लिङ्ग्देनलाई संयोजक बनाएर चुनाव चिन्ह तराजु/हलोलाई बोकेर राष्ट्रिय साझा पार्टी (रासापा) निर्माणमा जानू नै  ऐतिहासिक महान निर्णय हुनेछ । 

बिकल्पहरु धेरै छन्, तर ठोस परिस्थितिमा उत्तम बिकल्प एउटा मात्र हुन्छ जुन देश र जनताको लागि ऐतिहासिक निर्णय मात्र हुनेछैन लोकतान्त्रिक ढङ्गले तरमाराहरुको पराजय शुरु हुनेछ।