मेरो असहमति भएका १५ प्रकारका व्यक्ति र प्रवृति - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेरो असहमति भएका १५ प्रकारका व्यक्ति र प्रवृति



डा. गोविन्द शरण उपाध्याय

मेरो सधैँ असहमति छ –
(१) पश्चिमाहरूको नक्कल गर्दै वृद्ध भएका आफ्ना बुवा आमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसँग ।

(२) सधैँ नेपाल र नेपाली संस्कृतिको बदनाम गर्ने र नेपालमा सधैँ बेथिति, भ्रष्टाचार र समस्या मात्रै छ भनेर विश्व मञ्चमा रिपोर्ट पेस गर्दै भविष्यको लागि डलर सुरक्षित गर्नेहरूसँग ।

(३) आफूले जन्माएका सन्तानलाई आफैसँग राखेर शिक्षादीक्षा दिनुको साटो होस्टेलमा पठाएर वा काम गर्नेको जिम्मा दिएर (कामकाजी भएकोले व्यस्त भएको कारण देखाएर) धर्म, संस्कृतिसहित आमाबुवाबाट प्राप्त हुने प्राकृतिक प्रेमबाट वञ्चित राख्ने मातापिताहरूसँग

(४) ३५०० वर्षदेखि एक आपसमा मिलेर सहअस्तित्वमा रहेको नेपाली सामाजिक संस्थाका सम्मानित सदस्यहरू बिच नाक, भाषा, भूगोल, जातजाति, लिङ्गका आधारमा एक आपसमा घृणा गर्न सिकाउने राजनैतिक दलहरू र तथा कथित सामाजिक अभियन्ताहरूसँग ।

(५) रक्सी खाने, विवाहेतर यौन सम्बन्ध बनाउने, मातापितालाई वृद्धाश्रममा पठाउने कुराको वकालत गर्ने, करियर बनाउने नाममा पारिवारिक जीवनलाई महत्त्वहीन ठान्नेजस्ता विचारधाराहरू बोकेर आफूलाई आधुनिक भएको ठान्ने मूर्खतापूर्ण सिद्धान्त बोक्ने मूर्खहरूसँग ।

(६) विश्वका प्राचीन सभ्यताहरूलाई खरानी बनाउने विदेशी एकेश्वरवादी सम्प्रदायहरूको इतिहास र लक्ष जान्दाजान्दै पनि तिनलाई नेपालको मूलधारका सम्प्रदायहरूसरह नै अधिकार उपयोग गर्न दिनुपर्छ भन्ने र त्यसको लागि मानवतावादको आवरण ओढ्नेहरूसँग ।

(७)नेपालको गौरवमय इतिहास बुझाउने ठाउँमा धर्मनिरपेक्षताको आवरण ओढेर कट्टरपन्थी इसाई र मुस्लिम विचारधाराहरूको सम्मान गर्ने वा तिनको पक्षपोषण गर्ने नियतले पाठ्यपुस्तकमा नेपालका मौलिक कथा, इतिहास, परम्पराको जानकारी दिन नसक्ने पानीमरुवासँग ।

(८) सांस्कृतिक तथा धार्मिक आवरणमा आफ्नै छिमेकीलाई “छुत, पानी नचल्ने सानो जात” भनेर आफूलाई सभ्य, सम्मानित र ऊच्चतहको मान्ने कठमुल्लाहरूसंग ।

(९) मन्दिर-मन्दिर धाएर देवीको पूजाआजा गर्ने तर आफ्नै पत्नी, आमा, फुपू, छोरीसँग असमान व्यवहार गर्ने, अपमानित गर्ने र विभिन्न लाञ्छना लगाएर दोस्रो दर्जाको व्यवहार गर्नेसँग ।

(१०) अधिकारका नाममा घोर स्वच्छन्दतावादको वकालत गर्दै विवाह-संस्थाको प्राकृतिक सिद्धान्त विरुद्ध उभिने र यौनजन्य स्वच्छन्द यौनजन्य क्रियाकलापलाई नै “स्वतन्त्रताको पूर्णता” मान्ने महिला तथा पुरुषहरूसँग ।

(११) आफ्नै पुर्खाले देखाएका महत्त्वपूर्ण सामाजिकीकरणका विषयवस्तुलाई अस्वीकार गर्दै विदेशी राजनीतिको नक्कल गरेर ऋषिमुनिहरूले लाखौँलाख वर्ष लगाएर विकसित गरेका व्यवस्थाहरूप्रति घृणा फैलाउने राजनैतिक संस्कार बोकेका राजनीतिज्ञहरूसँग ।

(१२) ती कूटनैतिक व्यक्ति, नेता, पण्डित, संस्था, समाजसेवी वा कर्मकाण्डी जसले सधैँ “हाम्रो संस्कृति विश्वको सबैभन्दा प्राचीन तथा पूर्ण र विज्ञान सम्मत” छ भनेर कोकोहोलो गर्ने तर वेद, गीता र साहित्यमा ऋषिमुनिहरूले प्रतिपादन गरेका विषयहरू सङ्कलन गरेर बुझ्ने भाषामा जनतासम्म न पुर्याउनेसंग ।

(१३) ती व्यक्ति जसले देश, धर्म, संस्कृति तथा असल परम्पराहरूको पुनरुत्थान गर्ने विचारहरू प्रवाहित गर्दै जनताको भावना जितेका छन् तर मूलतः केवल आफ्नो अहङ्कारलाई अगाडी सार्ने र आफ्नो पूजा गराउन उद्यतहरूसँग ।

(१४) जुन शिक्षा नीतिले गरिब र हुनेखानेका छोराछोरीहरूका लागि फरक-फरक शिक्षाको तर्जुमा गरेर (अङ्ग्रेजी पढे सभ्य, वैज्ञानिक, आधुनिक भन्ने मनोविज्ञानको सृजना गरेर जनसाधारणलाई भ्रमित पारेको छ र गरिबहरू सरकारी विद्यालयमा पढ्छन्, हुनेखाने अङ्ग्रेजी स्कुलमा पढ्छन् ) आफ्नो मौलिक शिक्षाप्रति बेवास्ता गर्दै “टाई-शिक्षा”मा होमेको छन् तथा सरकारी तवरबाट नै आफ्नो मौलिक भाषाहरूको उत्थानमा ध्यान दिनु पर्ने ठाउँमा विदेशी भाषा (अङ्ग्रेजीलाई मात्र) महत्त्व दिनेसँग (अङ्ग्रेजी महत्त्वपूर्ण भाषा हो जान्नु पर्छ तर आधुनिकताको नाममा थोपरिनु हुँदैन)

(१५) आर्य शब्दलाई विदेशी आक्रमणकारी जातिका रूपमा थोपर्ने, बहुमतले सरकार बनाउने तर बहुमतको चरम उपेक्षा गर्ने, विदेशी सिद्धान्तकारहरूको फोटो पुज्ने तर पशुपतिनाथमा नगएकोमा गर्व गर्ने र आफै विदेशी धर्म, संस्कृति, राजनीतिको दास बनेर देश हाक्नेहरूसंग ।

यदि मेरा असहमतिहरू कसैको व्यक्तिगत जीवनसँग मिल्न गएमा मैले त्यसलाई स्वाभाविक मान्ने छु । यसका लागि मलाई कुनै प्रकारको खेद हुने छैन ।

बरु, निजले मैले देखाएका असहमतिका बुँदामा आत्म मन्थन गरेर नेपाल र नेपालीको उन्नयनतिर लाग्न प्रेरणा प्राप्त गरोस् चाहन्छु । साथै, मेरा उपरोक्त असहमतिसँग असहमत हुनेहरूको नागरिकता नेपाली भए पनि मनचाहिँ नेपाली होइन भनेर बुझ्न सजिलो हुनेछ ।