अष्ट्रेलियाले सबै नागरिकलाई निशुल्क खोप दिने: अक्सफोर्डसँग गर्यो यस्तो सम्झौता - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

अष्ट्रेलियाले सबै नागरिकलाई निशुल्क खोप दिने: अक्सफोर्डसँग गर्यो यस्तो सम्झौता



बीबीसी । अष्ट्रेलियाले औषधि निर्माणकर्ता एस्ट्राजेनेकासँग कोभिड–१९ को सम्भावित खोप आपूर्ति गराउने सम्बन्धी सम्झौता गरेको छ जुन सम्पूर्ण जनसङ्ख्यामा निशुल्क वितरण गरिने सरकारले मंगलबार घोषणा गरेको हो ।

यसरी अक्सफोर्ड युनिभर्सिटी र कम्पनी एस्ट्राजेनेका मिलेर काम गरिरहेको उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल सफल भएमा अष्ट्रेलियाले सुरुवाती पहुँच पाउने प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन् ।

यसका साथै मोरिसनले सबैका लागि खोप अनिवार्य गरिने पनि बताएका छन् । अष्ट्रेलियामा कोभिडका कारण ४५० को मृत्यु भएको छ भने अधिकांश संक्रमित भिक्टोरियामा रहेका छन् जसकारण अघिल्लो महिना मात्र भिक्टोरियाले आपत्कालीन घोषणा गरि कडा लकडाउन जारी गर्नु परेको हो । त्यहाँ अझैपनि ७ हजार बढी संक्रमित बिरामी छन् । केही हप्ता यता नयाँ बिरामीहरु थपिने दर कम हुँदै गएको छ ।

यसबारे प्रधानमन्त्री मरिसनले भनेका छन्, “यो खोपको परक्षिण सफल भएमा हामीले यसको उत्पादन तिव्र बनाइ २५ मिलियन अष्ट्रेलियनहरुका लागि निःशुल्क बनाउनेछौँ । ” यसमा देशभरका पूरै जनतालाई खोप वितरण गर्ने खर्च कति हुनेछ भन्ने सम्बन्धी चाहिँ आधिकारिक जानकारी प्राप्त भएको छैन ।

यसबाहेक अष्ट्रेलियाले छुट्टै अर्को एक अमेरिकी कम्पनी, ‘बेक्टन डिकिन्सन’ सँग पनि १ करोड ८० लाख डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ जसले १० करोड बढी सुइ र सिरिन्जहरु आपूर्ति गर्ने बताएको छ । अष्ट्रेलिया र एस्ट्राजेनेकाबीच भएको सम्झौता चाहिँ विश्वकै पहिलो किसिमको भएको बताइएको छ । सो खोप अर्को वर्षको सुरुवात तिर नै उपलब्ध भइसक्ने अपेक्षा गरिएको छ ।

खोपलाई अनिवार्य बनाउने सम्बन्धमा भने मोरिसनले यस्तो भनेका हुन्, “स्वास्थ्य अवस्था र परिस्थित हेरेर केही अपवाद हुन सक्छन् तर त्यसबाहेक सबैले खोप लगाउनैपर्ने हुन्छ । किनकी यहाँ हामी सानोतिनो रोग होइन विश्व महामारीको कुरा गरिरहेका छौँ जसले लाखौँको ज्यान लिइसकेको छ भने विश्व अर्थतन्त्र तहसनहस पारिदिएको छ । ” उनका अनुसार सरकारको लक्ष्य ९५ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनु रहनेछ ।