महिलाले हाँकेको पालिका: पहिलो बैठकबाटै सुखद शुरुआत, यस्ता छन् आगामी योजना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महिलाले हाँकेको पालिका: पहिलो बैठकबाटै सुखद शुरुआत, यस्ता छन् आगामी योजना



सरस्वती दर्लामी चीदी पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका प्रमुख हुन् । यसअघि पालिकाको उपाध्यक्ष रहेकी उनलाई यसपटक जनताले अध्यक्षमा जिताएका छन् । खरो स्वभाव भएकी चीदी जनताका मुद्दामा स्पष्ट छिन् । यसअघि पालिका चलाएको अनुभवले पनि उनमा परिपक्वता थपिएको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा निकै कम महिलाले मात्रै सहभागी हुने मौका पाए । चिदीलाई भने सुरुमा पार्टीले विश्वास ग-यो त्यसपछि उनलाई जनताले विश्वास गरे ।

पाँच दलीय गठबन्धनलाई पराजित गर्दै पालिका अध्यक्ष बनेकी चीदीले आफ्नो खास परिक्षा बल्ल सुरू भएको बताउँछिन् । उनले आफू एउटा पार्टीबाट उम्मेदवार बनेपनि अब सबै नगरबासीको अभिभावक बनेको बताइन् । उनले अब मतदाताको मनको कदर गर्ने बेला आएको समेत बताएकी छन् । अघिल्लो पटक कानुन निर्माण र महामारीका कारणले भनेजति काम गर्न नपाएको भन्दै उनले आफ्नो कार्यकाल उत्कृष्ठ बनाउन आफू हरसम्भव प्रयास गर्ने उनको दाबी छ ।

हामी उनको कार्यकक्षमा पुग्दा उनले वडाध्यक्षहरूसँग छलफल गरिरहेकी थिइन् । सबै वडाध्यक्षहरू सौहार्द वातावरणमा छलफल गरिरहेका थिए । उनीहरूसँग बुझ्दा पनि अध्यक्ष चीदीसँग काम गर्दा आफूहरूलाई निकै सहज हुने बताएका थिए ।

महिला अध्यक्ष, त्यसमाथि कडक स्वभावको हुनुहुन्छ काम गर्न अफ्ठ्यारो हुँदैन भनेर हामीले केही वडाध्यक्षलाई सोधेका थियौँ । स्वभावमा कडा भएपनि अध्यक्ष निकै व्यावहारिक भएकाले काम गर्न सहज हुने उनीहरूको दाबी थियो । त्यसमाथि अघिल्लो पल्ट उपाध्यक्ष भैसकेकाले नगरका समस्याबारे उनी जानकार भएको, काम कसरी गर्ने भन्ने अनुभव भएकाले काममा सहज हुने उनीहरूले बताएका थिए ।

त्यसपछि हामीले अध्यक्ष चीदीलाई अघिल्लो कार्यकाल र अहिलेको कार्यकालमा जनताले कस्तो अनुभव गर्लान भन्ने प्रश्न गरेका थियौँ । उक्त प्रश्नमा उनले अघिल्लो कार्यकालमा ऐन, कानुन, सिस्टम बनाउनकै लागि समय लागेको त्यसपछि कोरोना महामारीले विकाशका काम गर्न नदिएको भन्दै अहिले सुरुवातदेखि नै जनताका समस्या समाधानमा लाग्ने बताइन् ।  

आफ्नो पालिकामा निकै धेरै समस्या भएको स्वीकार गर्दै उनले भनिन्, तानसेन नगरपालिकासँग जोडिएको पालिका, पाल्पा जिल्लामै सुगम र सम्भावना बोकेको पालिका हुँदाहुँदै पनि सामाजिक, आर्थिकलगायतका निकै धेरै समस्याहरू छन् । ‘यति हुँदाहुँदै पनि यहाँ प्रचुर सम्भावना रहेकोले आगामी पाँच वर्षमा सबै समस्या समाधान गर्ने मेरो कोशिस हुनेछ ।‘ उनले भनिन् । ‘पहिलो कुरा त बितेको पाँच वर्षमा मैले यसक्षेत्रको समस्या के हुन् र कसरी समाधान हुन्छन् भन्ने बुझेकी छु, त्यसमाथि यसअघिको अनुभवलाई समेत प्रयोग गर्न पाउने हुनाले सबै क्षेत्रको विकाश गर्न सकिन्छ ।‘

‘जनताले यसअघि र अहिलेको कार्यकालमा त निकै भिन्नता पाउनेछन्, सबैभन्दा पहिले त बगनासकाली गाउँपालिकामा भ्रष्टाचार शुन्य पार्ने मेरो काम हुनेछ, मेरै कार्यकालमा यो पालिका भ्रष्टाचार मुक्त हुनेछ, त्यसपछि सुशासनसहितको सेवा प्रवाहको वातावरण बनाउने छु ।‘

अध्यक्ष चीदीले आफ्नो गाउँपालिकामा खानेपानीको निकै समस्या भएकाले यसको समाधान गर्नुपर्ने बताईन । उनले यहाँ पानीको मुलहरू उपलब्ध नहुँदा जनताले दुख पाएको भन्दै लिफ्टिंङ गरेर हरेक वडामा खानेपानी पुर्याउनुपर्ने भएकाले भर्खरै सुरू भएको कालिगण्डकी लिफ्टिंङ खानेपानी सम्पन्न भएपछि ‘एक घर एक धारा’ शुद्ध खानेपानी वितरण गर्ने अर्को मुख्य योजना भएको बताइन् । उनले  त्यसपछि लिफ्टिंङ खानेपानीमा अत्यधिक विद्युत खपत हुने भएकाले विद्युत महसुलमा जनतालाई ६० प्रतिशत अनुदान दिने निर्णय भएको बताइन् । आफू नेतृत्वमा आएपछि बसेको पहिलो बैठकले नै यो निर्णय अनुमोदन गरेको समेत चीदीले बताइन् ।

कार्यपालिकाको पहिलो बैठकबाट सबै खालका अपाङ्ग व्यक्तिहरूलाई भत्ता दिने निर्णय भएको बताउँदै उनले अब बगनासकाली गाउँपालिकाका सबै खाले अपाङ्ग नागरिकले मासिक भत्ता पाउने बताइन् । यसअघि चार वर्गका अपाङ्गमध्य क र ख वर्गको अपाङ्गहरूलाई नेपालसरकारले भत्ता दिने गरेको थियो भने ग र घ वर्ग भने भत्ताबाट बन्चित थिए ।

त्यसपछि सामाजिक सुरक्षा भत्ता वितरण अत्यन्तै झन्झटिलो भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता पुर्याउन भन्दै सोहि बैठकले कार्यदल गठन गरेको जानकारी दीइन् । कार्यदलले प्रतिवेदन बुझाएपछि सहज रूपमा बस्ती बस्तीबाटै वितरण गर्ने योजना उनले सुनाइन् । त्यसमाथि अशक्त नागरिकको लागि घरमै भत्ता पुर्याउने समेत उनले सुनाइन् ।

युवा एकल महिलालाई अवसर वृद्धलाई सम्मान

एकल महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने अभियान चालाउँदै युवा एकल महिलाको लागि आय आर्जनको लागि अवसर प्रदान गर्ने, व्यवासायिक बनाउन विभिन्न खालका तालिम प्रदान गरेर आफ्नै खुट्टामा उभिने बनाउने । युवा स्वरोजगारका कार्यक्रम हरूमा पनि उनीहरूलाई प्रार्थमिकता दिने र जेष्ठ नागरिक एकल महिला पुरुषलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले सुनाईन ।

युवा स्वरोजगारका कार्यक्रम हरूमार्फत बैदेशिक रोजगारीमा भएका युवाहरूलाई विशेष कार्यक्रम ल्याएर विदेश पलायन हुने क्रमलाई न्यूनीकरण गर्ने आफ्नो योजना रहेको उनले बताइन् । बगनासकाली गाउँपालिकामा कृषि र पशुपालनको ठूलो सम्भावना रहेकाले यसलाई आधुनिकीकरण गर्दै प्रविधि प्रयोग गरेर बढी भन्दा बढी परिवारलाई आत्मनिर्भर बनाउने र बढी भन्दा बढी नागरिकलाई व्यावसायिक बनाउन पहल गर्ने उनको भनाई थियो ।

सडक सञ्जाल

पूर्वाधार विकाशमा पनि मुख्य सडक पिच गर्ने र भित्रि बाटो र शाखा सडकहरूलाई स्तरोन्नति गर्ने त्यसपछि नौ वटै वडा कार्यालय जोड्ने बाटोहरू चौबीसे घण्टा चल्नेगरी स्तरोन्नति गर्ने उनले बताईन । ‘हिउँदको समयमा अत्यधिक धूलो उड्ने र वर्षातको समयमा हिड्न सारै समस्या हुने भएकाले सडक स्तरोन्नतिको कम तत्काल सुरू गरिने छ ।’ उनले भनिन् ।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य र गुणस्तरीय शिक्षा निशुल्क

अध्यक्ष चीदीले स्वास्थ्य र शिक्षा सर्वसुलभ र गुणस्तरीय भएमा मात्र समाजको विकाश सम्भव भएको भन्दै आफ्ना योजना यसरी सुनाइन्, ‘स्वास्थसेवा सर्वसुलभ नभएकाले जनताले निकै कष्ट भोग्नुपर्ने अवस्था छ, खासगरी मेरो कार्यकालमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रयास गर्नेछु, पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भैसकेको छ, यसलाई निरन्तरता दिँदै नौ वडामै वर्थिंङ सेन्टर स्थापना मेरै कार्यकालमा हुनेछ ।‘

‘त्यतिमात्र होइन स्वास्थ्य सेवा पालिका स्तरबाटै दिनुपर्छ भन्ने मान्यताको साथ् १५ शैयाको अस्पताल निर्माण गर्ने योजनामा छौँ त्यसपछि गुणस्तरीय स्वास्थ्य सेवा हामीले निशुल्क रूपमा दिनेछौं ।’ त्यस्तै ग्रामिण बेगमा काम गर्ने महिला स्वयंसेविकाका लागि थप भत्ताको व्यबस्था गर्ने निर्णय गरिसकिएको छ । त्यस्तै गरिव तथा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमाको ब्ताबस्था पनि हामीले गर्नेछौं ।‘

‘शिक्षा पनि हामीले निशुल्क रूपमा प्रदान गर्ने योजना बनाएका छौँ, गुणस्तरीय शिक्षा बगनासकाली गाउँपालिकाका हरेक बालबालिकाले निशुल्क रूपमा पाउनेछन् ।‘

यसका अलावा पर्यटकीय क्षेत्रको विकाश, महिलाहरूको आय आर्जन,महिला शसक्तिकरण, दलित तथा सीमान्तकृत समुदायको लागि सामाजिक विकासलगायतका काम गरेर पाँच वर्षपछि हरेक क्षेत्रको विकाश देखिने छ ।

यसपछि हामीले उनलाई सोध्यौँ, “तपाईँ महिला जनप्रतिनिधि भएकाले यहाँका हरेक अवसरमा महिलालाई अवसर पाउने योजना के छ ? यो प्रश्नको जवाफमा उनले आफूले पहिले देखि नै महिलाका विषयमा अवाज उठाउँदै आएकी छु, यसभन्दा अघि मा यसै पालिकाको उपाध्यक्ष भएका बेला पनि महिलाको डाटा संकलन गरेर आय आर्जनमा कसरी जोड्न सकिन्छ भनेर विभिन्न शसक्तिकरणका कार्यक्रम गरेकी छु । पालिकामा सिमित स्रोत र साधन हुने भएकाले सबैलाई समेट्न सम्भव भएको थिएन, आगामी दिनमा सबै महिला दिदीबहिनीहरूलाई आगामी दिनमा समेट्नेगरी सबल बनाउन लाग्नेछौं । महिलालाई प्रार्थमिकतामै राखेर सबैलाई अवसर प्रदान गर्ने हाम्रो प्रयास हुनेछ ।‘

‘महिला सशक्तिकरण गरेर सबै क्षेत्रमा कम्तिमा ५० प्रतिशत सहभागिता गराउने पहल हाम्रो हुनेछ’

उपाध्यक्ष हरिप्रसाद पाठक के भन्छन् ?

त्यसपछि बगनासकालीका उपाध्यक्ष हरिप्रसाद पाठकको कार्यकक्षमा पुगेर प्रश्न गर्यौं । उनलाई सोधिएको प्रश्न थियो, ‘संघीयतापछिको दोस्रो कार्यकाल तपाईंहरूले सम्हाल्दै गर्दा आउने पाँच वर्षमा बगनासाकाली कस्तो बन्ला ?

उनले दोस्रो कार्यकालमा आफूहरूले पालिकाको नेतृत्व गर्न पाउँदा भाग्यमानी भएको महसुस गर्दै बितेको कार्यकाल अनुभवको मात्रै भएको, ऐन कानुन नबनेकोदेखि महामारीसँग जुध्नुपरेकोर कर्मचारी व्यावस्थापनसम्म अत्यन्त कष्टकर कार्यकाल यसअघिका जनप्रतिनिधिले बिताएको सम्झीए ।

त्यसपछि उनले आफ्नो कार्यकालमा जनताले सुशासनको सुरुवात हुने र भ्रष्टाचारको अन्त्य हुने, विकाश निर्माणको कामले तिब्रता पाउने, शिक्षा र स्वास्थ्यमा गुणस्तर बढ्ने, रोजगारी बढ्ने लगायतका कुराको आशा गरेकाले सुरुवातदेखि नै यसमा केन्द्रित हुने सुनाए । आफूहरूलाई यसको अवसर पनि भएकाले पालिकाको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै जनताका वास्तविक समस्या पहिचान गरेर बगनासकालीका जनताले चाहेका प्रमुख समस्या समाधान गरिने बताए ।

उनले बगनासकालीका हरेक कार्यहरूलाई पारदर्शी बनाउने बताए । पाँच वर्षमा शैक्षिक गुणस्तर वृद्धि र स्वास्थ्य सेवालाई सहज गर्नुपर्ने आफूहरूको मुख्य दायित्व हुने उनले बताए । त्यसपछि निर्माणको कामलाई पनि तिब्रता दिने उनले बताए । थुप्रै पर्यटकीय स्थल रहेकाले यो क्षेत्रमा पनि काम गर्ने उनले बताए ।

माडी फाँट, भिरालो जमिन, समथर भूभागलगायत सबै भूभाग समेटिएकोले बगनासकाली अलि फरक गाउँपालिका पनि हो र यहाँ कृषि र पशुपालनको प्रचुर सम्भावना छ । त्यसमा पनि किसानलाई लगानी र प्रविधि दिएर उत्पादन बढाउने उनले बताए ।

हामीले यसअघि भएको नेतृत्वले बनाएको कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै यहाँका जनताले प्रत्यक्ष अनुभव गर्ने पालिका पाँच वर्षमा बनाउने छौँ ।‘ उनले भने । यस पालिकामा भएका फजुल खर्च, विभिन्न ठाउँमा भएका अनावस्यक खर्चलाई कटौती गरेर त्यो रकम पनि जनताको काममा खर्च गर्ने वातावरण हामीले बनाउनेछौँ ।

उनले भने, म यसभन्दा पहिले पनि जनताको सेवामा खटिएक कारण आफूहरूलाई काम गर्न सहज हुने समेत उनले सुनाए । २०५४ सालमै तत्कालिन गाबिस उपाध्यक्ष भएर काम गरिसकेको अनुभव आफूसंग भएको उनले सुनाए ।

त्यसपछाडी पनि आफू निरन्तर विकाशसँग जोडिंदै आएको हुनाले आफूहरूको कार्यकालमा विकाश निर्माण पनि दिर्घकालिन हुने उनले सुनाए । समाजमा आफ्ना धर्म, संस्कृति, भेषभुषा लगायतका कुराहरू लोप हुँदै गैरहेका बेला हामीले यसको संरक्षणको लागि पनि विशेष योजना बनाएर काम गर्नेछौं ।‘ उनले भने ।