बैठकबाटै गायव भएका नेकपा नेताहरू जब शीतलनिवासमा भेटिए... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बैठकबाटै गायव भएका नेकपा नेताहरू जब शीतलनिवासमा भेटिए…



काठमाडौँ– नेकपामा देखिएको विवाद सतहमा देखिन थालेको छ । नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, प्रदीप ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेल सुरुमा बैठकमा उपस्थित भएनन् ।

‘नेताहरू कहाँ गए भनेर केहीबेर बैठकमा खल्लीबल्ली नै भयो’ एक स्थायी समिति सदस्यले भने ।

सदस्यहरूले राखेका प्रश्नमा जवाफ दिने तयारी गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सशंकित बने। स्रोतका अनुसार प्रचण्डले बैठकमै यति धेरै साथीहरू एकैपटक कहाँ गएको भनेर प्रश्न समेत गरेका थिए ।

एकाएक नेताहरू शितलनिवासमा भेटीए । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक चलिरहेकै बेला निवासमा बोलाएकी रहिछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाइरहेको आरोप खेपिरहेका बेला फेरि सत्तारुढ नेकपा नेताहरुलाई स्थायी कमिटी बैठक चलिरहेकै बेला शीतल निवास बोलाएर करिब २ घण्टा छलफल गरेको भेतिएपछि नेकपा भित्रै खल्लीबल्ली भएको स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीले नेताहरूलाई बिहानै बोलाएको र केहि घण्टा छलफल गरेको स्रोतले खुलाएको छ ।

अचम्मको कुरा त के छ भने स्थायी समितिको बैठक चलिरहेकै बेला शितलनिवास गएको बारे कुनैपनि नेताले पार्टी नेतृत्वलाई जानकारी नै गराएनन्।

बैठकमै पार्टी नेतृत्वले विधि, पद्धतिको पालना नगरेको गुनासो आइरहेका बेला अध्यक्षलाई जानकारी नदिई एकैपटक त्यत्रो संख्यामा सदस्यहरु शनिबारको बैठकमा अनुपस्थित भएपछि बैठक निकै रोमान्चक बनेको थियो ।

बैठक सुरु भएको करिब एक घण्टापछि राष्ट्रपतिलाई भेटेर उनीहरु एकै साथ बैठक कक्षमा प्रवेश गरेका थिए।

त्यो लगत्तै बैठकको अध्यक्षता गरिरहेका पुष्पकमल दाहालले यतिका जना साथीहरु एकै पटक कहाँ जानु भएको थियो, किन ढिलो गर्नुभयो भनी प्रश्न गरेका थिए।

उनले थप सोधेका थिए , ‘मैले थाहा पाए अनुसार राष्ट्रपतिजीले बोलाउनु भएको थियो रे। मैले राष्ट्रपतिको अपमान गर्न खोजेको होइन तर पार्टीको महत्वपूर्ण बैठक चलिरहेका बेला राष्ट्रपतिजीले यसखालका भेटघाट राख्नु उचित हो कि हैन?’

प्रचण्ड त्यतिमा सीमित भएनन्। र, स्पष्टीकरणको शैलीमा के भएको हो प्रस्ट पार्न भनेपछि राष्ट्रपतिलाई भेट्न गएका मध्येका एक प्रदीप ज्ञवालीले ‘राष्ट्रपतिजीसँगको भेटघाट पहिल्यै नै तय भएको थियो, ११ बजे गर्ने भनिएकोमा यता बैठक चलिरहेको हुनाले ९ बजेका लागि सारिएको थियो। ११ बजे आउने गरी गएको हो तर ढिलो भयो। क्षमा चाहन्छौँ’ भनेका थिए।

ज्ञवालीले माफी मागेपछि नेता भीम रावलले राष्ट्रपतिले यस ढंगका भेटघाट गर्नु उचित हो कि हैन भन्नेबारे छलफल गरौँ भन्दै कड्एिका थिए।

त्यसपछि रावल लगायत अन्य सदस्यहरुले पनि राष्ट्रपति संविधान भन्दा माथि हो र ? उहाँकोबारेमा छलफल हुन नसक्ने भन्दै प्रश्न वर्षाएका थिए।

स्थितिलाई सामान्य बनाउन दाहालले त्यस विषयलाई यहीँ रोकौँ र अन्य विषयमा छलफल गरौँ भन्दै बैठकलाई अगाडि बढाएका थिए।