वामदेवको आरोप: प्रचण्डले सहमति तोडेपछि पार्टी फुट्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वामदेवको आरोप: प्रचण्डले सहमति तोडेपछि पार्टी फुट्यो



काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले आलोपालो प्रधानमन्त्री बन्ने जगमा पार्टी एकता भएको भए पनि प्रचण्डले सचिवालयका अन्य सदस्यहरूसँग छलफल नगरी त्यसलाई छाड्नु र ओलीले पनि एकताको आधार बुझ्न नसक्नु नै विभाजनको कारण देखाए ।

ओली र प्रचण्डबीच ४ मंसिर ०७६ मा ओली पाँच वर्ष प्रधानमन्त्री रहने र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका खेल्ने सहमति भएको थियो । गौतमले सम्झौता प्रचण्डले त्यागेपछि नै विभाजनको आधार खडा भएको बताए । ‘गत वर्ष ४ मंसिरमा प्रचण्डले म प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन, दुईपटक प्रधानमन्त्री भइसकेको छु, मलाई फेरि प्रधानमन्त्री हुनैपर्ने छैन । मैले कार्यकारी भएर काम गर्न पाएपछि एकताको वेला भएको आलोपालो सहमति मैले छाडेँ । मैले प्रधानमन्त्री सञ्चालन गर्न पाउने आधा समय पनि तपाईंलाई दिएँ भन्नुभयो ।

आजको विभाजनको सुरुवात त्यसैवेला भयो । पार्टी एकताको सबैभन्दा महत्वपूर्ण पक्ष आलोपालो नै थियो । त्यो नहुँदासम्म एकता हुँदै भएन । ओलीले आफूलाई अभिभावक ठान्नुहुन्थ्यो भने उहाँले पनि आलोपालो एकताको आधार हो, तपाईंले आज छाडेर मैले लिन हुन्न, पार्टी एकता पूरा नहुँदै तपाईंले छाड्‍नुभयो भने एकता अगाडि बढ्दैन, आलोपालोमै तपाईं बस्नुस्, म छाड्छु भन्नुपर्दथ्यो । तर, उहाँले पनि छाड्नुभएन,’ गौतमले भने ।

प्रचण्ड–नेपाल र ओली समूहले एक–अर्कालाई विभाजनका लागि जिम्मेवार ठहर्‍याइरहेका वेला गौतमले एकताकै वेलाको सहमति तोडिएपछि विभाजनको आधार तयार भएको बताएका हुन् । गौतमले फुटाउनकै निम्ति प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव अगाडि सारेको र पार्टी फुट्छ भनेर नै ओलीले प्रतिनिधिसभा भंग गरेको बताए । आफूले प्रचण्डलाई साथ दिँदै उनको समूहमा लागे पनि प्रचण्डले आफूलाई थाहै नदिई अढाई वर्षपछि प्रधानमन्त्री बन्ने सहमति छाडेको गौतमको जिकिर थियो । प्रचण्डको कमजोरीले पार्टी विभाजनको विजारोपण गरे पनि ओलीले पद त्यागमा महानता नदेखाएकाले दुवैजनाले विभाजनमा बराबर भूमिका खेलेको पनि आरोप लगाए ।

निर्वाचन आयोगको पछिल्लो निर्णयले पुनः एकताको आशा पलाएको जिकिरसहित पार्टी विभाजनपछि तटस्थ रहेका नेकपाका उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ६ सय ५१ सदस्यीय केन्द्रीय समन्वय समिति र एक सय ७५ सदस्यीय कार्यसम्पादन समिति रहेको संगठनात्मक संरचनासहित गौतमले बुधबार धोबिघाटस्थित सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा अभियानको घोषणा गरेका हुन् ।

गौतमको अभियानमा दैनिक कामकाजका लागि कार्यसम्पादन समिति सदस्यहरूमध्येबाट सचिवालय गठन गरिने जनाइएको छ । गौतमको अभियानलाई साबिक चार सय ३४ सदस्यीय केन्द्रीय कमिटीबाट सहसंयोजक बसेर हरि पराजुलीले मात्रै साथ दिएका छन् । युवा संघका पूर्वनेता बाबुराम थापा अभियानको सचिव बनेका छन् । गौतमको अभियानमा विघटित प्रतिनिधिसभाकी सांसद तथा उनकी पत्नी तुलसा थापा, सांसद माया ज्ञवाली, बागमती प्रदेशका सांसद विनोद खड्का, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, पूर्वसांसद डिबी कार्की, तत्कालीन एमालेको सहकारी विभाग सदस्य केबी उप्रेती, त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जनलगायत सामेल भएका छन् ।

प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूह दुवैतिरका थुप्रै केन्द्रीय सदस्यले साथ दिने वचन दिए पनि उनीहरू अन्ततः विभाजनतिरै लागेको जानकारी दिँदै गौतमले सकेसम्म तीनदेखि ६ महिना र बढीमा दुई–तीन वर्षभित्र पार्टी एकता गराएरै छाड्ने घोषणा गरे । ‘उत्तरतिर फर्किएका केपी ओली र दक्षिणतिर फर्किएका प्रचण्डलाई विपरीत दिशाबाट आमने–सामने बनाउने काम हामी (वामदेव गौतमसहित)ले सम्पन्न गरेपछि मात्र यो अभियानले विश्राम लिन्छ,’ गौतमले भने, ‘त्यसअघि नै कुनै कित्तामा सामेल हुन्छ भन्ने कुरा शतप्रतिशत झुटो हो, हामी जसरी पनि एकीकरण अभियान सफल बनाएरै छाड्छौँ ।’

१३ वर्षको मिहिनेतमा एकीकरण भएको पार्टी तीन वर्षकै बीचमा विभाजित भएको भन्दै गौतमले आफूले पहिले गणतन्त्र र पार्टी एकताको सपना पूरा गरे पनि अब भने पुनः एकता र समाजवादको विजारोपण गर्ने सपना गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताए । गौतमले निर्वाचन आयोगको पछिल्लो निर्णयले पुनः एकताको औचित्य पुष्टि हुने भन्दै एकताको आशा पलाएको अवधारणापत्रमा उल्लेख गरेका छन् । ‘नेपालको निर्वाचन आयोगले ११ माघ ०७७ का दिन पार्टी दर्ताका निम्ति प्रस्तुत गरिएका कागजातहरूको अध्ययन गर्दै हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहलाई अलग–अलग पार्टीका रूपमा दर्ता गर्न नसकिने निर्णय गरेको छ । यो निर्णयबाट पार्टी एकतालाई जोगाउन सकिने आशा पलाएको छ,’ अवधारणापत्रमा भनिएको छ ।

आयोगले नेकपाको साबिक चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई वैधानिकता दिएको थियो । तर, दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाएर निर्णय गरिएको अभिलेखबाट पुष्टि हुँदा मात्र त्यसले वैधानिकता प्राप्त गर्ने स्मरण गराएर आयोगले बहुमत र दुईतिहाइको प्रक्रियाबाट अध्यक्ष हटाउने, चयन गर्ने, विधान संशोधन गर्न सकिनेलगायत विषयमा जानकारी गराएर कानुनी हिसाबले अहिलेसम्मको प्रक्रियाबाट नेकपा विभाजन हुन नसक्ने निर्णय सुनाएको छ । आयोगको यो निर्णयले राजनीतिक रूपमा विभाजित नेकपा विभाजन कठिन देखिएपछि गौतम अभियानका लागि उत्साहित बनेका छन् ।

गौतमले घोषणा गरेको एकता राष्ट्रिय अभियानको अवधारणापत्रमा सबै प्रदेश समन्वय समिति, जिल्लामा पालिकाहरूको प्रतिनिधित्व रहने गरी ७५ सदस्यीय जिल्ला समन्वय समिति, सबै पालिकाहरूमा वडाहरूको प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय र वडाहरूमा १५ सदस्यीय समन्वय समिति रहने संगठनात्मक संरचना रहने जानकारी गराइएको छ । त्यस्तै, सबै तहका समितिमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष रहने, केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचारप्रसारका कार्य गर्न तीनजना सहसचिवहरूको व्यवस्था गरिने पनि जनाइएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भए एकताका लागि सहज
अभियान घोषणा गर्दै उपाध्यक्ष गौतमले सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन हुने या प्रतिनिधिसभा पुनस्र्थापना हुने भए पनि एकता अभियान जारी राख्ने बताए । यद्यपि, उनले प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्थामा भने पर्याप्त समय हुने भएकाले एकताको लक्ष्य पूरा गर्न सहज हुने आफ्नो आन्तरिक विश्लेषण रहेको कार्यक्रममा जानकारी गराए । यद्यपि, वैशाखमै चुनाव हुने स्थितिमा आफ्नो अभियानमा सामेल कसैले पनि कुनै समूहको पक्षमा खुलेर अर्को पक्षलाई गालीगलौज नगर्ने, तर स्वतन्त्र रूपमा व्यक्ति छनोट गरेर दुई समूहमध्ये कुनै एक समूहको राम्रो उम्मेदवारलाई भने मतदान गर्ने गौतमले जानकारी दिए ।

गौतमको अवधारणापत्रमा पुनः एकीकरणको योजना दुई चरणमा सम्पन्न गरिने उल्लेख छ । ‘पहिलो चरण हो, सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण हो, सर्वोच्च अदालतको निर्णय आएपछि । यी दुवै चरणमा एकीकरणका विभिन्न विकल्पमा छलफल गरिनेछ,’ अवधारणापत्रमा छ, ‘प्रतिनिधिसभा पुनस्र्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिनेछ । यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समिति विभिन्न तहमा निर्माण गरिनेछन् ।’

गौतमले प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि पार्टी एकीकरण हुन नसकेमा निर्वाचन काल र त्यसपछि पनि जारी राखिने जनाएका छन् । ‘प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि पार्टी एकीकरण हुन नसकेमा हाम्रो पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहनेछ । फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक् प्रयत्न गरिनेछ । तब पनि पार्टी एकीकरण हुन सकेन भने एकता राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गरिनेछ,’ अवधारणापत्रमा छ ।

गौतमले आरोप–प्रत्यारोप प्रस्ताव फिर्ता लिँदै आलोचना र आत्मालोचनाको माध्यमबाट पार्टी पुनः एकीकरण गर्न सकिने भन्दै अन्यथा कम्युनिस्ट आन्दोलनमा सरिक दोस्रो र तेस्रो पिँढीले समेत क्षति परिपूर्ति गर्न नसक्ने जिकिर गरेका छन् । ‘यदि हामीले विभाजनउन्मुख हाम्रो पार्टीलाई पुनः एकीकरण गर्न सकेनौँ भने यसबाट हुने क्षतिलाई कम्युनिस्ट आन्दोलनमा सरिक दोस्रो वा तेस्रो पिँढीले पनि परिपूर्ति गर्न सक्नेछैन । यस विभाजनको औचित्य पुष्टि आज र भविष्यमा पनि कहिल्यै हुन सक्नेछैन । यो विभाजन नेपाली कम्युनिस्ट आन्दोलनका लागि अत्यन्त दुःखद र नेपाल राष्ट्रका लागि हानिकारक छ,’ गौतमले भनेका छन्, ‘परिस्थितिको उपरोक्त विश्लेषण गर्दै विभाजित दुवै समूहमा नलागी एकताको अभियान सञ्चालन गर्ने कार्यभार पूरा गर्ने दायित्व सम्पूर्ण पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरूको पनि हो भनेर हामी तपाईंहरूसमक्ष अपिल गर्दै आएका छौँ ।’