वामदेव गौतमलाई ओलीबाट फेरी धोका - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

वामदेव गौतमलाई ओलीबाट फेरी धोका



काठमाडौं – सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ ।

गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।

गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन ।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको मर्यादाक्रम एक तह तल झार्ने र त्यहाँ झलनाथ खनालको वरीयता बढुवा गर्ने सचिवालयले निर्णय गरेको थियो । यी दुवै निर्णयलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि साथ दिएपछि नेकपाको शीर्ष तहको समीकरण नै बदलिएको थियो । अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम नजिकिँदै गएका वेला पछिल्लो निर्णयसँगै नेपाल एक्लिएका थिए ।

अध्यक्ष केपी ओलीले धोका दिएकाले पार्टीमा जिम्मेवारी खुम्चिएकामा असन्तुष्ट गौतमले उनकै प्रस्तावमा महत्वपूर्ण जिम्मेवारी पाएको महसुस गरेका थिए । पछिल्लो प्रस्तावसँगै दुई अध्यक्षपछिको महत्वपूर्ण जिम्मेवारीका साथ प्रभावशाली भूमिकामा उदाएको महसुस गरेका गौतम लामो समयसम्म प्रस्ताव कार्यान्वयन नभएपछि भने उनले नेतृत्वले उपेक्षा गरेको आशंका गर्न थालेको उनीनिकट स्रोतले जनाएको छ ।

गौतमलाई विधानविपरीत उपाध्यक्षमा प्रस्ताव
गौतमको उपाध्यक्ष सिफारिस विधानसंगत छैन । विधानको दफा १८ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव मात्रै रहने व्यवस्था रहेकामा बैठकले गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको हो । गौतमलाई एक्कासि उपाध्यक्षमा प्रस्ताव गरिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले घुमाउरो तरिकाले असन्तुष्टि जनाएका थिए । नयाँ पत्रिकामा खबर छ ।