वामदेव गौतम यसरी बन्दैछन् अबको प्रधानमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वामदेव गौतम यसरी बन्दैछन् अबको प्रधानमन्त्री



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आफू अबको प्रधानमन्त्री आफू नै बन्ने बताएका छन् । संबिधान संशोधन गरेरै भएपनि आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनले बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीसंगको छलफलमा आफू प्रधानमन्त्री बन्ने भए मात्र राष्ट्रिय सभामा जाने बताएको खुलासा गरेका छन् । राष्ट्रिय समाचार समितिले गरेको संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपाका स्थायी सदस्य समेत रहेका गौतम बर्दियाबाट पराजित भएपछि मन्त्रिपरिषद्मा जानबाट वञ्चित छन् । उनलाई पार्टीले विभिन्न ठाउँबाट चुनावमा उठाएर संसद् बनाउने प्रयत्न भने नगरेको होइन । उनलाई जति पटक पार्टी नेतृत्वले सांसद बनाउने अभियान चलायो कुनै न कुनै रूपले त्यो प्रयत्न असफल बन्यो ।

केही हप्ता अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा लैजाने र मन्त्रिपरिषद्मा लैजाने भनेर पार्टीका नेताहरूसँग परामर्श समेत गरेका थिए । यो प्रक्रियामा नेकपाकै अर्का अध्यक्ष प्रचण्ड पनि सहमत भएपछि औपचारिक रूपमै पार्टीमा कुरा उठेको थियो । तर विभिन्न तह र तप्काबाट यसको व्यापक विरोध भएपछि तत्कालका लागि यो विषय टरेको थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका वामदेव गौतमलाई उपनिर्वाचन अगाडी रविन्द्र अधिकारीको ठाउँबाट उठाउने र सांसद बनाउने ओली र प्रचण्डले प्लान पनि बनाए । त्यो प्लान पनि पार्टीका नेता र कार्यकर्ताको तीव्र विरोधले तुहिन पुग्यो । अन्त्यमा उनले स्वर्गीय रविन्द्रकै श्रीमती यसको लागि उपयुक्त रहेको बताउन बाध्य भए ।

केही समयदेखि वामदेव गौतमलाई राष्ट्रिय सभामा जसरी पनि लैजाने भन्ने प्रयत्न पार्टी नेतृत्वले गरेसँगै उनले भने प्रधानमन्त्री बन्न पाउने भए मात्र राष्ट्रिय सभामा जाने बताएका छन्।

राष्ट्रिय समाचार समितिले तपाईँ राष्ट्रिय सभामा जाने बारेको कुरा के हो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनेका छन्, एक दिन प्रधानमन्त्रीले ‘तपाईँलाई मैले तुरुन्तै संसद्मा लैजान्छु’ भनेर भन्नुभएको हो । मैले कहाँ लैजानुहुन्छ भनेर सोधेँ । उहाँले ‘राष्ट्रिय सभामा लैजान्छु’ भन्नुभयो । त्यसपछि मैले उहाँलाई भने- राष्ट्रियसभामा म त्यस बेला जान्छु, जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्। म प्रधानमन्त्री हुनुपर्छ ।

त्यस लगत्तै गरिएको वामदेव गौतमले प्रधानमन्त्री बन्न हतार गरेको भनेर बुझ्दा के हुन्छ? भन्ने प्रश्नमा उनले भनेका छन्, के फरक प¥यो त। वामदेव प्रधानमन्त्री बन्न हुन्न ? मैले खोजेकै हो। म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचनमा भनिएको हो। २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो, मलाई।

विसं २०७४ को निर्वाचनमा अध्यक्ष ओली र प्रचण्ड तथा सबैले भनेको कुरा के हो भने तपाईँका समकक्षी हामी प्रधानमन्त्री भइसक्यौँ। अब पहिलो पटक प्रधानमन्त्री हुने तपाईँ नै हो, तपाईँ नै लाग्नुस्। उहाँहरूले नै भनेको हो।