लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ
काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ परेका छन् ।
राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।
लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय नजिकै प्रदर्शन समेत गरेका छन् ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि लामिछानेसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।
डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो ।
भिडियोमा पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न विवश बनाएको उल्लेख छ ।
पक्राउ परेका यी तीनै जनालाई म्याद थपका लागि आजै जिल्ला अदालत चितवन पेश गरिएको छ ।