देउवा सरकार र राष्ट्रपति भण्डारीबीच टसल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

देउवा सरकार र राष्ट्रपति भण्डारीबीच टसल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने भन्दै अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन् ।

केही दिनदेखि एसपिपीबारे चर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले चासो देखिाएकी हुन् । केही पत्रकारसँगको भेटमा उनले भनिन्, ‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिनँ ।’ राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए ।

स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभाकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले राष्ट्र हित विपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन् ।

पत्रकारसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन् । ‘सरकारका कुनै अधिकारीले असंलग्न परराष्ट्र नीतिका विपक्षमा बोल्नुभएको छैन तर अमेरिकी अधिकारीलाई तिब्बती शरणार्थी क्याम्प जान दिनुले व्यवहारमा अप्ठेरो उत्पन्न गराएको छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले सरकार कुनै पनि विदेशी शक्ति राष्ट्रका विषयमा एकपक्षीय जस्तो भएर जान नहुने र यस्तो भएमा नेपालको परराष्ट्र नीतिमा असर पर्ने बताइन् । अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको काठमाडौंस्थित तिब्बती शरणार्थी शिविर भ्रमणको विषयले दलहरूभित्र मतभिन्नता उत्पन्न भएका बेला राष्ट्रपति भण्डारीले पनि यसबारेमा चासो राख्दै असन्तुष्टि प्रकट गरेकी हुन् ।

यसै साता अमेरिकी सेनाका कमान्डर चार्ल ए फ्लिनको नेपाल भ्रमणलगत्तै एसपिपी सम्झौताका विषयमा पनि चर्चा भइरहेको छ । जसले गर्दा यसमा राष्ट्रपति भण्डारीले समेत चासो दिने अवस्था आएको हो। प्रेस चौतारीनिकट केही पत्रकारसँगको भेटमा राष्ट्रपतिले राष्ट्र र राष्ट्रियताका सवालमा कुराकानी गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँग मंगलबार पत्रकारको भेट भएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुष्टि गरे। ‘हामीले लामो समयदेखि राष्ट्रपतिसँग भेटका लागि समय मागेका थियौं, मंगलबार समय मिलेको हो । हाम्रो भेट सामान्य कुराकानीमै टुंगिएको हो, अन्य कुनै कुरा भएन’, बस्नेतले भने । राष्ट्रपति भण्डारीले अहिलेको सरकारले ल्याएको बजेटका विषयमा पनि सामान्य धारणा राखेकी थिइन् ।

खासगरी किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको जस्ता विषयमा राष्ट्रपति भण्डारीको चासो थियो। उनले आफूले सकेजति र संविधानले दिएको अधिकार कार्यान्वयन गरिरहेको बताइन् ।
उनले अर्को एक फरक प्रसंगमा अनशन बसिरहेकी निहारिका राजपुतको माग सरकारले सम्बोधन गर्न नसकेको भन्नेबारेमा पनि चासो राखेकी थिइन् ।

समाचारमाध्यमबाट आफूले यो विषय थाहा पाएको र निहारिकालाई सहयोग गर्न सरकारले किन बेवास्ता गरिरहेको छ भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताइन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले जनताले चर्को महँगी खेपिरहेका विषयमा पनि चासो राखेकी थिइन् । ‘जनताका आधारभूत समस्या समाधान हुन सकेका छैनन्।

जसले गर्दा जनता निराश हुने अवस्था आएको छ’, उनले भेटका क्रममा भनेकी थिइन् । उनले वाम गठबन्धनबारेमा भने खासै चासो दिइनन् । भेटमा केही पत्रकारले वाम गठबन्धन अहिले मुलुकको आवश्यकता भएको र त्यसका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्ने बताए पनि उनले त्यसबारे आफूलाई चासो नभएको बताइन् । नागरिकमा समाचार छ ।