राष्ट्रपति भण्डारीले अवकाशपछि के-के पाउँछिन् सुविधा ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राष्ट्रपति भण्डारीले अवकाशपछि के-के पाउँछिन् सुविधा ?



काठमाडौं- भोलि हुने राष्ट्रपतिको निर्वाचनपछि हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सात वर्षे कार्यकालबाट अवकाश लिनेछिन् । त्यसपछि उनले शितलनिवास छाड्नुपर्नेछ । अवकाशपछि राष्ट्रपति भण्डारीले के के सुविधा पाउँछिन् भन्ने आम चासो छ ।

नेपालमा अवकाशप्राप्त विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीहरूको सेवा सुविधासम्बन्धी छुट्टै कानुन बनेको छैन । हालसम्म अवकाश पाएका विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीहरूले लिंदै आएको सुविधा मन्त्रिपरिषदबाट इर्नाया हुँदै आएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरूले मन्त्रिपरिषद्को निर्णयका आधारमा सुविधा लिइरहेका छन्। अहिलेसम्म पूर्वविशिष्ट पदाधिकारीहरूले के के सुविधा पाउने भन्ने कानुन नभएकाले यस विषयमा विवाद र आलोचना हुँदै आएको छ । यति मात्र होइन यो विषय सर्वोच्चमा समेत बहसको विषय बनेको थियो ।

यसअघिका पूर्व विशिष्टहरूले मन्त्रिपरिषद्को निर्णयबाट सुरक्षाकर्मी, घरभाडा, गाडी, इन्धन, सचिवालयका कर्मचारीहरू पाइरहेका छन्। राष्ट्रपति भण्डारीले छुट्टै आवासको सुविधा नलिने बताइसकेकी छन् ।

आवास सुविधा नदिए पनि अरू सुविधा भने उनले पाउनेछिन्। उनले सुरक्षाकर्मीको एक टुकडी, गाडी, इन्धन, सचिवालयका कर्मचारीहरू भने पाउने जनाइएको छ।

२०६८ मंसिरमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पूर्व पदाधिकारीहरूलाई सुविधा दिने निर्णय गरेको थियो। त्यसविरुद्ध मुद्दा परेको थियो। २२ मङ्सिर २०६८ मा सर्वोच्च अदालतले ‘कानून बनाएर मात्रै सुविधा दिनु’ भन्दै निर्णय गरेको थियो।

त्यसपछि सरकारले ६ चैत २०७३ मा पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयक संसदमा पेश गरेको थियो। त्यो विधेयक अघि बढ्न नसक्दा सुविधाका बारेमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै आएको छ।

उक्त विधेयक संसदबाट पास नहुँदासम्म मन्त्रिपरिषदकै निर्णय अनुसार भण्डारी र पूर्वविशिष्टहरूले सुविधा पाउने छन् ।